तीन बिघामा अफिम खेती नष्ट

रौतहट, १८ फागुन । रौतहटका विभिन्न गाविसमा लगाइएको अफिमको बिरुवा प्रहरीले नष्ट गरेको छ । रौतहट प्रहरीका अनुसार तीन बिघा क्षेत्रफलमा लगाइएको अफिमका बिरुवा बिहीबार नष्ट गरिएको हो ।

रौतहटका खेतीयोग्य जग्गामा भारतीय लगानीमा अवैध रूपले उमारिएको अफिमका बिरुवा प्रहरी उपरीक्षक गोविन्दराम परियारको कमान्डमा खटेको टोलीले नष्ट गरेको हो । जिल्लाको पिपरिया, सरमुजवा र कोपवा गाविसमा अवैध रूपमा अफिमका बिरुवा गत तीन महिनाअघि रोपिएको थियो । फागुन महिना अफिम तयारी हुने महिना पनि हो ।
‘पहिलेभन्दा अफिम खेती कम भएजस्तो देखिन्छ तर अझै सूचना संकलन गर्दै छौँ,’ प्रहरी उपरीक्षक परियारले भने, ‘झन्डै तीन बिघामा लगाइएको अफिम नष्ट गरेका छौँ । मूल्यांकन गर्दा कारोबारीलाई दुई करोड ७० लाखसम्म आर्थिक नोक्सानी भएको छ ।’
जिल्लाका ग्रामीण भेगमा किसानले लुकीछिपी अफिम खेती गर्दै आएका छन् । मंसिर अन्तिमतिर रोपिएको अफिमको बिरुवा फागुनसम्ममा दाना लागेर तयार हुन्छ । दानालाई बिरुवामा भएकै अवस्थामा ब्लेडले चिरेर तरलपदार्थ चोप निकालेपछि प्रशोधन गरी लागूऔषध अफिम तयार हुने गर्दछ ।
तस्करले कसैको आँखा पुग्न नसक्ने गरी बालीको बीचमा अफिम खेती गरेका थिए । कतिपय स्थानमा भारतीय लागूऔषध तस्करले स्थानीय बासिन्दासित खेत भाडामा लिएर अफिम खेती गर्ने गरेको पाइएको छ । ८० हजार रुपियाँ प्रतिकिलो बिक्री हुने अफिम प्रति कठ्ठामा सात सय ग्रामदेखि एक किलोसम्म उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया