पास भएर पनि उही कक्षा

Sumitra-Chepangकक्षामा उत्कृष्ट भएर उत्तीर्ण हुँदा विद्यार्थीको हर्षको सीमारेखा निकै माथि उचालिन्छ । माथिल्लो कक्षामा सानका साथ पढ्न उत्साहित हुन्छ । तर, कक्षामा राम्रो अंक ल्याए पनि दोहोर्‍याएर एउटै कक्षा पढ्नुपर्‍यो भने ती विद्यार्थीको मनोभावना कति तल खस्छ होला ? एउटा कक्षामा उत्कृष्ट भएर उत्तीर्ण भइसकेपछि फेरि त्यही कक्षा दोहोर्‍याउने कल्पना धेरैले गरेका हुँदैनन् ।
चितवनको कोराक गाउँकी सुमित्रामाया चेपाङले भने यही बाध्यता बोहोर्नुपर्‍यो । सुमित्रामाया चेपाङ कक्षा ५ मा तेस्रो भए पनि माथिल्लो कक्षामा जान पाइनन् । कारण थियो, उनको अपांगता । चितवनको पहाडी गाविस–१ सुर्खन्डी घर भएकी सुमित्राका दुवै खुट्टा अल्पविकसित छन् । उनी राम्रोसँग हिंड्न सक्दिनन् । घर नजिकै रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा पाँच कक्षासम्म मात्रै पढाइ हुन्छ । ५ कक्षाभन्दा माथि पढ्नको लागि आधा घन्टा लगाएर जानुपथ्र्यो । तर, उनीसँग आधा घन्टाको पहाडी बाटो पैदल जानसक्ने समाथ्र्य थिएन । शारीरक अशक्तताका कारण फेरि पाँच कक्षा नै दोहोर्‍याएर पढेको १६ वर्षको सुमित्राले बताइन् ।
‘पाँचदेखि माथि पढ्न थाकलटार भन्ने ठाउँमा जानु पर्दथ्यो । खोला तर्नु पर्दथ्यो । खुट्टा सद्दे हुनेलाई त दुई घन्टा लाग्थ्यो । म जस्तो अशक्त त्यहाँ गएर पढ्न सम्भव थिएन’ सुमित्राले भनिन् ।
शारीरिक रूपमा अशक्त भए पनि पढाइमा उनको रुचि र क्षमता अरूको भन्दा कम थिएन । सुमित्रा कक्षा दुई र तीनमा पहिलो भएकी थिइन् । कक्षा चारमा तेस्रो भइन् । गत वर्ष भएको कक्षा पाँचको परीक्षामा पनि उनले सोही स्थान ल्याइन् । राम्रो अंक ल्याएर उत्तीर्ण भए पनि सुमित्रा निराश थिइन् । कारण, अब उनको पढाइअगाडि बढ्न सम्भव थिएन ।
काउलेकी अर्की किशोरी नम्रता चेपाङको पनि समस्या सुमित्राको जस्तै भयो । कक्षा पाँच पास भए पनि फेरि उही पाँच कक्षामै दोहार्‍याएर भर्ना भइन् । घरनजिक पाँच कक्षाभन्दा माथि पढाइ हुने स्कुल नहुँदा माथिल्लो कक्षा पढ्ने अभिलाशालाई उनले पनि दबाएर राख्नुपर्‍यो । कोराक गाउँदेखि पश्चिममा पर्ने चितवनकै पहाडी गाउँ काउले–१ जयथलीकी नम्रता १४ वर्षकी छिन् । घरदेखि दुई घन्टा पैदल हिँडेर पुगिने राष्ट्रिय प्राथमिक विद्यालय भाराङबाट उनले गत वर्ष कक्षा पाँच उत्तीर्ण गरेकी थिइन् । त्यसपछि कक्षा छ पढ्ने स्कुल नजिक थिएन । बिहान घरको काम भ्याएर स्कुल जानुपथ्र्यो । जसकारण पाँच घन्टा पैदल हिंडेर कक्षा ६ को पढाइ हुने स्कुल जान सम्भव थिएन । पढाइ छाड्न पनि मन थिएन । त्यसैले फेरि दोहोर्‍याएर कक्षा पाँच मै पढ्न थालेको बताइन् ।
नम्रता र सुमित्रा गएको कात्तिक १६ गतेबाट भने कक्षा ६ मा पढ्न थालेका छन् । सुमित्रा नम्रतासँगै स्कुल जान्छिन् । घरदेखि धेरै परको रत्ननगर नगरपालिका–१३ जयमंगलामा रहेको पञ्चकन्या उच्चमावि यी दुई पढ्ने विद्यालय हो अहिले । सो विद्यालयमा सुमित्रा र नम्रता मात्रै होइन, चितवनको विकट पहाडी गाविस कोराक, काउले र सिद्धिका २२ जना चेपाङ बालबालिका पढ्छन् ।
गत वैशाखमा रत्ननगरका समाजसेवी केपी किरण शर्माले सिद्धि गाविसका २२ जना चेपाङ बालबालिकालाई ल्याएर पिठुवाको विन्देश्वरी निमाविमा भर्ना गरेका हुन् । बस्ने व्यवस्था पनि त्यहीँ मिलाइदिए । पढ्ने रहर हुँदाहुँदै पनि बीचमै स्कुल छाडेर बसेका २२ जना बच्चा भेला गरेर ल्याएको हुँ’ शर्माले भने ।
चितवन विकसित जिल्लामा गनिए पनि पहाडी क्षेत्रमा बस्ने चेपाङ शिक्षामा निकै पछाडि छन् । २२ बालबालिकामध्ये १३ बालिका छन् । सबैलाई रत्ननगर जयमंगलाको एउटा घरमा राखेका छन् । ‘ल्याएर त राखेँ, बस्ने व्यवस्था भएको छ, सुत्ने सामानहरूको जोगाड पनि लगाएको छु । तर, खाने कुरा र स्टेसनरीको स्थायी प्रबन्ध हुन सकेको छैन’ शर्माले भने । उनीहरूको खानामा महिनाको २५ हजार रुपियाँ खर्च हुने शर्माको भनाइ छ । अहिले भने त्यहाँ बसेका बालबालिकालाई बिहान खाएपछि बेलुका के खाने भन्ने समस्या छ ।

प्रतिक्रिया