जुद्धशमशेर अरूका छोरीबुहारी ताक्थे

Chandra-kumari-Joshiराणाकालीन समयका बडागुरुज्यू विश्वराज पाण्डेकी छोरी चन्द्रकुमारी जोशी उमेरले ९७ वर्ष भइन् । यो दीर्घायुभित्र रहेर उनले मुलुकमा चलेका विभिन्न चरणका प्रजातान्त्रिक आन्दोलन त देखिन् नै, त्यसअघि चार राणा प्रधानमन्त्रीको शासन पनि भोगिन् । राणाहरूको त्यो सानसौकत अझै पनि ताजै छ उनको स्मृतिमा । बडागुरुज्यूकी छोरी भएका कारण निष्फिक्री राणाहरूका दरबारमा पुग्न पाउँथिन् उनी । दरबारभित्रका कतिपय दृश्य रोचक र अनौठा लागे पनि राणाहरूका थुप्रै व्यवहार आफूलाई उति बेलैदेखि मन नपर्ने गरेको उनी सुनाउँछिन् । त्यसो त उनी यो अवधिमा नेपालमा भएका सामाजिक, राजनीतिक तथा सांस्कृतिक परिवर्तनकी साक्षी पनि हुन् । समाजसेवी अंगुरबाबा जोशीकी सासूसमेत रहेकी वयोवृद्धा जोशी सम्झँदै छिन्, ती दिन :
राणाशासनका किस्साहरू सुन्दा मन गह्रौँ भएर आउँछ अहिलेका मान्छेको पनि । उति बेलाको त झन् कुरै नगरौँ, के–केसम्म भोगेनन् भोग्नेहरूले । पूरै मुलुकको नियम–कानुन राणाहरूको विचार र विवेकमा निर्भर हुन्थ्यो । उनीहरूको हुकुमै नियम थियो । त्यो पनि उनीहरूको
‘मुड’अनुसार बदलिइरहने । उनीहरूले गरेका हरेक ज्यादती टुलुटुलु हेर्नु र आदेशको समर्थन गर्नुबाहेक अर्को विकल्प थिएन ।
म बडागुरुज्यूकी छोरी । तर, राणाको कानुन हामीलाई पनि लाग्थ्यो । दर्जाअनुसारको सम्मान र सुविधा त थियो तर आफूखुसी मन्दिरसमेत जान नपाइने । उनीहरूको मर्जीअनुसार बग्गीमै चढेर जानुपर्ने । अहिलेजस्तो आफूखुसी हिँडडुल गर्न पाइँदैनथ्यो । यसकारण उच्च दर्जा तोकिए पनि पलपल उनीहरूको अंकुशमा बाँधिनाले निस्सासिलो अनुभूति हुन्थ्यो । राणाहरूको दरबारमा सहजै आउन–जान पाउँथेँ तर मलाई यसमा पटक्कै गर्व थिएन । बरु आफ्ना बालसुलभ चाहनाअनुसार निष्फिक्री जताततै डुलिरहन चाहन्थेँ । पूर्णिमा, एकादशीजस्ता दिन नियमित पशुपति पुग्थ्यौँ । बाग्मतीमा नुहाउँथ्यौँ । उतिबेला पानी पूरै कञ्चन थियो, नदीको पिँधमा रहेको पैसा प्रस्टै देखिन्थ्यो । पशुपतिका भट्टहरू साह्रै जाति थिए । मन्दिरभित्र पहिले चाँदी नै चाँदी थियो । चाँदीले भट्टको खुट्टा बिगार्‍यो भनेर पछि मार्बल ओछ्याए ।

मलाई जीवनमा गर्न, हेर्न र घुम्न बाँकी केही छ जस्तै लाग्दैन । हिजोको कान्तिपुरी र आजको कान्तिपुरीमा आकाशजमिनको फरक देखिसकेकी छु । यौवनावस्थामा मैले घुमेदेखेका ठाउँहरू आज पूरै फेरिइसकेका छन् । दिउँसै स्याल कराउने, हिँड्नै डरलाग्ने जंगल भएका ठाउँमा आज आलिसान महल खडा भएका छन् । गोरेटाहरू विशाल सडकमा बदलिएका छन् । एकादुई मान्छे मुस्किलले भेटिने बाटामा आज कमिलासरी गाडी र तीभन्दा बढी

मान्छे देखिन्छन् ।
डिल्लीबजारमा हाम्रो घर थियो । त्यहाँबाट हिँड्दै कालिकास्थान, कमलादी गणेशस्थान, असन हुँदै महांकाल दर्शन गरेर फर्कन्थेँ । जताबाट हिँडे पनि हुन्थ्यो, कतै बार थिएन । बागबजारमा यति धेरै अग्ला र ठूला घर कहाँ थिए र † केही कसाइका सानासाना घर थिए । डिल्लीबजारमा ठूलो घर भनेको पद्म शमशेरका छोराको थियो, हालको पद्मकन्या स्कुलनजिक ।

सडकमा राणाहरू सवारी हुँदा पनि जनता त्रस्त हुनुपथ्र्यो । उनीहरूको गाडी आएको देखे जनता लाम लागेर शिर निहुर्‍याएर बस्नुपर्ने । यस्तो देख्दा कहिलेकाहीँ त राणाहरू भगवान् पो रहेछन् कि जस्तो पनि लाग्थ्यो । उनीहरूलाई बेवास्ता गरेर दर्शन नगरी बसे दशा लाग्यो भन्ने जाने हुने । सम्मानभन्दा पनि डर र बाध्यताले शिर झुकाउनुपर्ने अवस्था ।
गाडी–घोडा चढ्ने त टाढाको कुरा, जनतालाई आफूखुसी लुगा र जुत्ता लगाउने अधिकारसमेत थिएन राणाशासनमा । उनीहरूले तोकिदिएभन्दा फरक जुत्ता लगाउनु झ्यालखाना जानु हो भन्ने बुझे हुन्थ्यो । जनताका लागि कपडाको सेतो जुत्ता मात्रै तोकिएको थियो । जनतालाई आफूखुसी चल्ने, घर बनाउने स्वतन्त्रता थिएन ।
राणाजीहरूले लगाउने भएकाले ‘सेरबानी’ अरूलाई लगाउन अनुमति थिएन । मेरो एउटा भानिजभाइ थियो, बुबाआमा नभएकाले मामाघरमै बस्थ्यो । उसलाई ‘सेरबानी’ लगाउन रहर लागेछ । एक दिन सेरबानीमा ठाँटिएर पशुपति दर्शन गर्न गएको थियो, प्रहरीले समातेर झ्यालखानामा हालिहालेछ ।

हरेक शुक्रबार सिंहदरबारमा राणाहरूले भेला डाक्थे । ठीक चार जबे उनीहरूको सलामी हुन्थ्यो । त्यहाँ सर्वसाधारण पनि जान पाउँथे । सर्वसाधारणले आफूलाई परेका समस्याबारे उजुरी गर्न पाउँथे । चन्द्र शमशेर र जुद्ध शमशेर भेलामा जनताका कुरा सुन्थे । कसको घरमा के समस्या छ भनेर बुझे जस्तो गर्थे । राणाका पत्नीहरू लामो नली मुखमा लगाएर ट्वार्रट्वार्र पार्दै तमाखु तान्थे । तमाखु तान्नु उनीहरूका लागि सानको विषय थियो । चाँदीको हुक्कामा सुनको नली हुन्थ्यो ।
सिंहदरबारमा सबै भेला भएपछि राणा मान्छेको बुइ चढेर र रानीहरू पालकीमा बसी माथिबाट तल झर्थे । गुरुज्यूलाई दर्शन गर्थे हातमा ढोगेर, अरूलाई नमस्ते भन्थे । चन्द्र शमशेर रातो टोपी लगाउँथे, सेतै कपाल फुलेको थियो । मान्छे कालाकाला थिए । उनी आउने भएपछि सम्मानमा सबै जना आ–आफ्नो सिटबाट उठ्थे । आइसकेपछि आफ्ना लागि बनाइएको विशेष आसनमा बस्थे अनि दुईहात फैलाएर अरूलाई पनि ‘बस्नुस्–बस्नुस्’ भन्थे ।
चन्द्र शमशेरका रानीहरूका गहनाको त कुरै नगरौं, हीरैहीराका हुन्थे । रानीहरू पनि पालैपाले जेठी–माहिली हुँदै क्रमश: आउँथे । सुसारेहरू ‘भुजा तयार भयो हजुर, ज्युनार गर्न सवारी होस्’ भन्दै पछि लाग्थे । हामीले पनि निकैपटक दरबारको खाना खायौँ, अनेकथरी परिकार हुन्थे ।

जुद्ध शमशेरकी कान्छी रानी दाउरेकी छोरी हो । अहिलेजस्तो ग्यास चुल्होको सुविधा थिएन । दाउरेले दरबारमा दाउरा ल्याउँथ्यो । उसकी छोरी साह्रै राम्री थिई । जुद्धशमशेरलाई मन परिछे, ल्याएर राखिहाले । उसबाट जुद्ध शमशेरका तीन छोरा र दुई छोरी भए । छोराहरू रविशमशेर, शशि शमशेर र शान्त शमशेर । छोरीहरू मिस्रीमैयाँ र कमल शाह । उनीहरूको ठाँटबाँट नै गज्जबको हुन्थ्यो, हीरा नै हीराले धपक्क बलेका । दाउरेकी छोरीले पनि दरबारमा आएपछि राजकीय मर्यादा सिकिसकेकी थिइन् ।
राणाहरूलाई मन पर्न मात्रै पथ्र्यो, जसका छोरीबुहारी पनि उनीहरूकै हुनुुपर्ने । शुक्रबारको भेलापछि जुद्ध शमशेर हात्ती चढेर सहर घुम्न निस्कन्थे । हात्तीमा हजुरिया र कर्णेल पनि सँगै हुन्थे । राणाहरूले आफूलाई पनि राजा नै घोषणा गरेका थिए ।
राजा सहर घुम्न आएको सुनेपछि सबै जना घरबाहिर हेर्न निस्कन्थे । जुद्ध शमशेर सबैका घरघर नियाल्थे, कसको घरमा राम्रा छोरीबुहारी छन् भनेर । कुनै केटी मन पर्‍यो कि कर्णेललाई इसारा गर्दै लिएर आउन आदेश दिन्थे । कर्णेलहरू उनको इसारामा जनताका छोरीबुहारी दरबारमा बुझाउँथे । मैले पाको न्युरोडका एक सुन व्यापारीकी छोरीसँग मित लगाएकी थिएँ । एक दिन मितिनीले झ्यालबाट हेरिछन् । जुद्ध शमशेरले उनलाई देखेछन् । उनी असाध्यै राम्री थिइन् तर बिहे भइसकेको थियो । केही दिनलाई माइती आएर बसेकी थिइन् ।
जुद्धशमशेरको आदेशमा उनलाई पनि दरबार पुर्‍याइयो, २८ दिन राखियो । बाबुको पारा जुद्ध शमशेरका छोरा बहादुर शमशेरलाई ठीक लागेनछ । बाबुलाई गाली गरे– ‘जसको पायो उसैका छोरीबुहारी बोकेर ल्याएको छ, यसरी हुँदैन †’ छोराले बसिखान नदिएपछि जुद्धशमशेर ती केटीलाई फिर्ता पठाउन तयार भए । तर, उनका पतिले उनलाई स्विकार्न मानेनछन् । बहादुर शमशेरले कुरो मिलाए– ‘मेरा बाबुले केही दिन राखे भन्दैमा तिमीले आफ्नी श्रीमती नस्विकार्न
मिल्छ ? यसो गर्‍र्यौ भने जेलमा थुनिदिन्छु ।’ धम्क्याएपछि उनी मानेछन् । क्षतिपूर्तिस्वरूप उनीहरूलाई न्युरोडमा एउटा घर र पैसा दिएका थिए बहादुर शमशेरले ।
दरबारमा काम गर्नेहरू साउती मार्थे– ‘राणाहरूले महिलामाथि गरेको व्यवहार गन्हाएर हात्तीले पनि सुँड ठाडो पार्‍यो रे †’ जुद्ध शमशेरका २१ वटासम्म श्रीमती थिए । बिहे गरेकी भने बहादुरशमशेरकी आमा मात्र हुन् । साह्रै नकचरा थिए राणाहरू ।

उतिबेलाको सामाजिक सुरक्षा भने अत्यन्तै कडा थियो । पन्ध्रपन्ध्र मिनेटमा सेना घुमिरहेका हुन्थे । त्यसलाई रमन गरेको भनिन्थे । चोरीडकैतीका घटना सुन्नुपर्दैनथ्यो । बेलुकी नौ बजेतिर बिगुल बज्थ्यो । त्यसपछि मान्छे बाटोमा हिँडे पक्राउ गरिन्थ्यो, हिजोआज कहिलेकाहीँ लाग्ने कफ्र्यु जस्तै । त्यसपछि पनि हिँड्न आवश्यक काम परे पास बोक्नुपथ्र्यो । राणाकालीन शासन राम्रो नभए पनि अनुशासन भने कडा थियो । मान्छे विवेकी थिए । अहिलेजस्तो स्वतन्त्रताका नाममा जसलाई जे मन लाग्छ त्यही गर्ने छुट थिएन ।
०००
राणा प्रधानमन्त्रीहरू चन्द्र शमशेर, पद्म शमशेर, जुद्ध शमशेर र मोहन शमशेरलाई नजिकबाट देखेँ । शुक्रबार गुरुआमाहरू दरबारको चाकडीमा जानुपथ्र्यो । मुमासँगै म पनि जान्थँे । ढोकाभित्र छिर्नासाथ अत्तरको बासना आउँथ्यो चारैतिर ।
राणाहरूकी मन परेकी श्रीमतीको छोरा भए उसले जर्नेल हुन पाउँथ्यो, अरूका सन्तानचाहिँ बाबुसाहेब मात्र हुन्थे । आफ्नै सन्तान र श्रीमतीबीच पनि चरम विभेद गर्थे राणाहरू । जुद्ध शमशेरको मृत्युपछि ‘अब को प्रधानमन्त्री होला’ भन्ने उत्सुकता थियो सबैलाई । छोरा थुप्रै थिए, रुद्रशमशेर प्रधानमन्त्री हुने अनुमान थियो । तर, राणाहरूका सन्तानबीच गरिएको क्लास वर्गीकरणका कारण उनलाई हुन दिइएन । उनी ‘सी’ क्लासका थिए, त्यतिबेला कमान्ड इन चिफ थिए । बिहे गरेका श्रीमतीबाट जन्मेका सन्तान ‘ए’ क्लास अनि ल्याइतेबाट जन्मेका ‘सी’ क्लासका हुने रे † ‘ए’ क्लासका राणालाई जे गर्न पनि छुट थियो । ‘बी’ र ‘सी’ क्लासका राणाहरूमाथि उनीहरूको हैकम हुन्थ्यो । बाबु एउटै भए नि आमा अलग भएका कारण हेपिनुपथ्र्यो ।
नयाँ प्रधानमन्त्री कसलाई बनाउने भन्नेबारे दरबारमा दिनहुँ मिटिङ चलिरहेको थियो । त्यही बैठकमा ‘सी’ क्लासका सबैलाई गिरफ्तार गरेछन् । रातारात चार भन्ज्याङ कटाइदिए । कसैलाई पाल्पा त कसैलाई कहाँ पुर्‍याइदिए । बिरामी श्रीमती सँगै लैजान्छु भन्न पनि पाएनन् । साह्रै नरमाइलो अवस्था भयो । रुद्र शमशेरकी आमापट्टिबाट उनीलगायत प्रतापशमशेर, केशरशमशेरसहित चार छोरा थिए । त्याइतेपट्टिका दुई छोरा धर्मशमशेर र अर्का एक । धर्म शमशेरका सन्तानै भएनन् । हामीले बुबाबाट थाहा पाएका दरबारका कुरा । वास्तवमा राणाहरूमा विद्रोह उनीहरू भित्रैबाट सुरु भएको हो, बाहिरबाट होइन । अरूको तुलनामा मोहनशमशेर र बहादुरशमशेर राम्रा थिए ।

प्रतिक्रिया