पूर्वराजारानी बल्ल छोरासित

Gyanendra-Shahaकाठमाडौं, १७ फागुन । ‘यस्तो बेलामा हामीले भगवान्को भरोसा र चिकित्सकको विश्वास लिनुपर्छ,’ पूर्वराजा ज्ञानेन्द्रले त्रिभुवन विमानस्थलमा भावुक बन्दै पत्रकारसित भने । गम्भीर अवस्थामा उपचाररत छोरा पारसलाई हेर्न बैंकक प्रस्थान गर्नुपूर्व उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

गम्भीर प्रकारको हृदयाघातका कारण पारस एक सातादेखि अचेत अवस्थामा बैंकको समितिवेज अस्पतालमा उपचाररत छन् । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल बुधबार अपराह्न १:५५ को उडानमा बैंकक उडेका थिए । उनीहरूका साथमा पारसका तीन छोराछोरी हृदयेन्द्र, पूर्णिका र कृतिका पनि बैंकक गएका छन् ।
पूर्वराजाले सबैको शुभकामना बोकेर आफू बैंकक जान लागेको बताए । ‘अहिलेसम्म बुझेअनुसार छोराको अवस्था चिन्ताजनक र स्थिर नै छ,’ उनले भने, ‘यस्तो बेलामा हामीले भगवान्को भरोसा र चिकित्सकको विश्वास लिनुपर्छ ।’ शाहले छोराको स्वास्थ्यप्रति सबैले लिएको चासो र चिन्ताप्रति आºनो र परिवारको तर्फबाट धन्यवाद दिए । बैंकक जादा टाई–सुट र ढाका टोपी लगाएका पूर्वराजाले रुद्राक्ष माला समेत भिरेका थिए । बिमानस्थलमा ठूलै संख्यामा समर्थकहरु पूर्व राजारानीलाई विदाई र पारसको स्वास्थ्यलाभको सुभकामना व्यक्त गर्न आएका थिए ।
विमानस्थलमा रहेका सञ्चारकर्मीलाई पूर्वराजाले आफू बैंककमा गएर छोराको अवस्था बुझ्नुका साथै चिकित्सकहरूसँग पनि कुराकानी गर्ने जानकारी दिए । ‘म गएर छोराको स्थिति बुझ्छु, चिकित्सकसँग पनि कुरा गर्छु,’ उनले भने, ‘छोराको स्वास्थ्यलाभको कामना गर्दै सबैतिर पूजापाठ भइरहेको छ । सबैले धैर्य गर्नुपर्छ ।’
सिमरामा रहेका पूर्वराजारानी सात दिनसम्म पनि छोराको स्वास्थ्यमा सुधार आउन नसकेपछि बैंककतर्फ गएका हुन् । पारसको अवस्था बुझ्न गत बुधबार नै बहिनी प्रेरणासहित पाँच जना बैंकक गएका थिए । पूर्वयुवराज्ञी हिमानी भने छोरी बिरामी भएका कारण शुक्रबार मात्र बैंकक गएकी थिइन् । बैंकक जानुअघि पूर्वराजा ज्ञानेन्द्रले केही दिन सिमरास्थित प्रभु शाह निवासबाटै जानकारी लिइरहेका थिए ।
यसैबीच, पूर्वयुवराज पारसको स्वास्थ्यलाभको कामना गर्दै आएका राजावादीहरूले बुधबार निर्मलनिवास र विमानस्थलमा प्रदर्शन गरेका छन् । बैंकक जाँदै गरेका पूर्वराजारानीलाई उनीहरूले फूलमालाले बिदाइ गर्दै पारसको स्वास्थ्यलाभको कामना गरेका हुन् ।
ज्ञानेन्द्रले भेटे पारस
बैंकक पुगेलगत्तै अचेत अवस्थामा उपचार गराइरहेका छोरा पारसलाई पूर्वराजा ज्ञानेन्द्र र कोमलसहित पारसका छोराछोरीले भेटेका छन् । अस्पतालको मेन ब्रान्चको सिसियुमा भेन्टिलेटरमा रहेका पारसलाई उनीहरूले भेटेका हुन् । छोरालाई भेटेपछि ज्ञानेन्द्रले उपचारमा संलग्न चिकित्सकहरूसँग कुराकानी गरेका थिए । भावुक अवस्थामा रहेका ज्ञानेन्द्रले उपचारमा कुनै कसर बाँकी नराख्न भनेका छन् । बैंककमा बस्दै आएका कुमार पुनका अनुसार पूर्वराजारानी र नातिनातिनाले निकै लामो समयसम्म पारसलाई हेरेका थिए ।
हृदयाघातका कारण ८ गते राति अस्पताल भर्ना भएका पारसको उपचारका लागि चार जना चिकित्सकको टोली सक्रिय रहेको छ । अस्पतालले उनको अवस्था गम्भीर बन्दै गएपछि आइतबार बैंकक अस्पतालका दुईजना चिकित्सकलाई पनि उपचारका लागि बोलाएको छ ।
पारसका हातगोडा चल्मलाए
सात दिनदेखि अचेत अवस्थामा रहेका पारसको हातगोडाका मांसपेशी बुधबार चलेको अस्पतालले जनाएको छ । गम्भीर प्रकारको हृदयाघातका कारण चिन्ताजनक अवस्थामा रहेका पारसको केही अंगमा सहज चाल देखिएको बैंककस्थित समितिवेज अस्पतालद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
‘उनको शरीरको केही अंगमा सहज चाल देखिन थालेको छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिअनुसार पारसको रक्तचाप र मुटुको चाल पनि औषधिविना नै नियन्त्रणमा आएको छ । शरीरका अंग चल्न थाले पनि उनको अवस्था अझै गम्भीर र स्थिर नै रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया