महाधिवेशन नभए आन्दोलनमा जाने चेतावनी

काठमाडौ, १५ फागुन । नेपाल विद्यार्थी संघका नेताहरुले तत्काल महाधिवेशनको मिति र स्थान नतोकिए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
महाधिवेशनका बारेमा बुधबार काठमाडौंमा भएको छलफल कार्यक्रममा नेविसंघका नेताहरुले चाँडै महाधिवेशनको मिति र स्थान तोकिनुपर्ने माग गरेका हुन् । उनीहरुले महाधिवेशन नगराई अध्यक्ष रञ्जीत कर्ण आफ्नो कार्यकाल लम्ब्याउन लागिपरेको आरोप लगाए । नेविसंघका निवर्तमान उपाध्यक्ष नैनसिंह महरले महाधिवेशन गराउन पार्टी नेतृत्व समेत गंभिर नरहेको भन्दै महाधिवेशनका लागि दबाव दिन देशव्यापी संघर्षमा उत्रिने चेतावनी दिए । पुर्व सहमहामन्त्री कमला न्यौपानेले निर्वाचनबाट डराएर संघ भित्रकै एक समुह टीकेप्रथाबाट नेतृत्वमा आउन खोजिरहेकाले महाधिवेशन अनिश्चित बनेको आरोप लगाईन । यस्तै सुदीप न्यौपाने, शुरेन्द्र लौडारी, शिव बोहरालगायतका केन्द्रीय सदस्यहरुले लोकतान्त्रिक पार्टीको भातृसंगठनमा सात बर्ष देखि महाधिवेशन हुन नसक्नु विडम्बना भएको भन्दै नेतृत्वको आलोचना गरे ।
यसअघि माघ ६,७ र गते महाधिवेशन हुने भनिएपनि निर्धारित समयमा महाधिवेशन हुन नसकेपनि अहिलेसम्म नयाँ मिति भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया