बैठक बस्न सिरियाली विद्रोही तयार

बेरुत : सिरियाली विद्रोहीहरूले करिब दुई वर्षदेखि मुलुकमा जारी रक्तपात अन्त्य गर्ने उद्देश्यले आयोजना गर्न लागिएको बैठकमा सहभागिता जनाउने भएका छन् । सिरियाली सत्ताले जनतामाथि बर्बर दमन गरिरहँदा पनि अन्तर्राष्ट्रिय समुदायले मौनता साँधेको भन्दै उनीहरूले इटालीको राजधानी रोममा हुने सिरियाली संकटसम्बन्धी अन्तर्राष्ट्रिय बैठक बहिष्कार गर्ने चेतावनी दिएका थिए । तर, अमेरिका र बेलालयतले सिरियाली जनताका लागि ‘विशेष सहायता’ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरू बैठकमा सहभागी हुन सहमत भएका हुन् ।
अमेरिकी विदेशमन्त्री जोन केरी र उनका बेलायती समकक्षी विलियम हेगले सिरियाका विपक्षीलाई अझ बढी सहयोग उपलब्ध गराउने बताएर सिरियाली विद्रोहीहरूलाई मनाउने प्रयास गरेका थिए । विदेश मन्त्रालय सम्हालेपछिको विदेश भ्रमणका क्रममा लन्डन पुगेका केरीले सिरियाली विपक्षीको पक्षमा सार्वजनिक भनाइ राखेका थिए । बेलायती समकक्षी हेग र प्रधानमन्त्री डेभिड क्यामरुनसँग भेट गरेपछि सिरियाली विद्रोहीहरूको समूह ‘सिरियन अपोजिसन काउन्सिल’का प्रमुख मोज अल–खातिबसँग उनले भेटवार्ता गरेका थिए । भेटका क्रममा उनले बैठकमा सहभागी हुन खातिबलाई आग्रह गर्दै सिरियाली विपक्षीलाई थप सहयोग उपलब्ध गराउने विषयमा बेलायती अधिकारीसँग सहमति बनेको आश्वासन दिएका थिए । यद्यपि, बैठकको विस्तृत विवरण भने अझै सार्वजनिक भएको छैन ।
बैठकबारे जानकारी दिँदै विपक्षी नेता खातिबले फेसबुक वालमा लेखेका छन्, ‘सिरियन अपोजिसन काउन्सिलमा सामेल गठबन्धनका नेताहरूसँगको परामर्शपछि हामीले इटालीमा हुन लागेको ‘प्रेmन्डस् अफ सिरिया’लाई बहिष्कार गर्ने निर्णय फिर्ता लिएका छौँ ।’ अमेरिका र बेलायतका विदेशमन्त्रीले ‘सिरियाली जनतालाई उनीहरूले भोगिरहेका वेदनाबाट मुक्त गराउने’ प्रतिबद्धता व्यक्त गरेपछि बैठकमा सहभागी हुन खातिब सहमत भएको बताइएको छ । सिरियाली संकट समाधानका लागि अमेरिकी विदेशमन्त्रीले सिरियाका अन्य विपक्षी नेता र रुसी विदेशमन्त्री सेर्गी लाभ्रोभसँगसमेत परामर्श गर्ने कार्यक्रम तय भएको छ ।
हिलारी क्लिन्टनको कार्यकाल सकिएपछि विदेशमन्त्री बनेका केरिले लन्डनमा आयोजित एक कार्यक्रममा भने, ‘सिरियाली जनताले यो बैठकबाट सार्थक परिणाम चाहेका छन् । बैठक गफ चुट्ने कचहरी मात्रै बन्ने छैन भन्नेमा हामी उनीहरूलाई आश्वस्त पार्न चाहन्छौँ,’ उनले भने । बैठकमा सिरियाली विपक्षीको आवाज नसुनिने अवस्था सिर्जना हुन नदिन अमेरिका प्रतिबद्ध रहेको उनले जिकिर गरेका छन् ।
यसअघि सिरियाली विपक्षीहरूको समूहले सिरियामा सरकारद्वारा जनतामाथि अपराध भइरहेको जिकिर गर्दै गठबन्धनले राज्यद्वारा भएको अपराधको अन्तर्राष्ट्रिय समुदायले भत्र्सना नगरेको भन्दै बैठक बहिष्कार गर्ने घोषणा गरेको थियो । निहत्था नागरिकमाथि क्षेप्यास्त्र प्रहार गर्दा पनि मौन बसेको भन्दै अन्तर्राष्ट्रिय समुदायको यस्तो लज्जाजनक कार्यका कारण कारण बैठकमा भाग नलिने निर्णय लिएको विपक्षीहरूले विज्ञप्ती जारी गरी जनाएका थिए । रुसले सिरियाली सरकारलाई हतियार उपलब्ध गराएको आरोपसमेत लगाउँदै उनीहरूले सिरियामा जारी रक्तपातका लागि रुस नैतिक तथा राजनीतिक रूपले जिम्मेवार रहेको ठहर गरेका थिए ।

सरकार पनि वार्ताका लागि तयार
सिरियाली सरकारले मुलुकका सशस्त्र विद्रोहीसँग वार्ता गर्ने मनसाय प्रकट गरेको छ । सिरियाली विदेशमन्त्री वालिद अल–मुआलेमले रुस भ्रमणमा जानुपूर्व राजधानी दमास्कसमा आयोजित कार्यक्रममा विद्रोहीसँग वार्ता गर्ने मनसाय प्रकट गरेका हुन् । राजधानीमा शृंखलावद्ध बिस्फोट र भिषण गोलावारी भइरहेका बखत सरकार वार्ताप्रति इच्छुक भएको हो । यद्यपि, उनले वार्ताअघि विद्रोहीले हतियार बिसाउनु पर्ने/नपर्नेबारे केही उल्लेख गरेका छैनन् । सिरियामा सन् २०११ को मार्चदेखि आरम्भ भएको संघर्षका क्रममा हालसम्म ७० हजारभन्दा बढीको मृत्यु भइसकेको राष्ट्रसंघले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया