अवैध हतियारसहित समातिए प्रहरी हवल्दार

राजविराज, १६ फागुन । आपराधिक समूहसँग साठगाठ तथा गैरकानुनी हतियार राखेको आरोपमा सप्तरीमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् । सिरहाको महेशपुर पतारका ३२ वर्षीय नवीन मण्डललाई सोमबार सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

इलाम दरबन्दी भई वडा प्रहरी कार्यालय राजविराजमा घुम्बाका रूपमा कार्यरत मण्डललाई एकथान हतियारसहित पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको सप्तरी प्रहरी स्रोतले जनाएको छ । दुई साताअघि बरामद गैरकानुनी हतियार ५० हजार नगद लिएर मण्डलले छाडिदिएको भन्दै उनीविरुद्ध मौखिक उजुरी आएपछि पक्राउ गरिएको स्रोतले जनाएको छ । अनुसन्धानका क्रममा उनको डेराबाट समेत एक थान गैरकानुनी हतियार फेला परेको छ ।
यस विषयमा सप्तरी प्रहरीका एसपी सञ्जयसिंह बस्नेतले घटना सही भएको जानकारी दिँदै थप अनुसन्धान भइरहेकाले बुधबार पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी गराउने बताए ।

प्रतिक्रिया