नेपाल एएफसी च्यालेन्जकपका लागि तयार

Nep-Futbl-Teamकाठमाडौं, १५ फागुन । काठमाडौंमा यसै साता आयोजना हुने एएफसी च्यालेन्ज कपको समूह ‘डी’को तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै तयारी पूरा भएको जानकारी गराएको हो । २ देखि ६ मार्चसम्म काठमाडौंमा हुने प्रतियोगिताका लागि १ करोड २५ लाख रुपियाँ अनुमानित खर्च रहेको एन्फा अध्यक्ष गणेश थापाले पत्रकार सम्मेलनमा बताए ।

समूहमा नेपाल, बंगलादेश, प्यालेस्टाइन र नर्थर्न मारियाना रहेका छन् । पहिलो स्थान पाउने टोलीले अर्को वर्ष माल्दिभ्सको मालेमा हुने प्रतियोगिताको अन्तिम चरणमा सहभागिता जनाउन पाउनेछ । नेपालले शनिबार नर्थर्न मारियानासँग पहिलो खेल खेल्नेछ ।
उद्घाटन खेल भने शनिबार नै बंगलादेश र प्यालेस्टाइनबीच हुनेछ । सोमबार नेपाल र बंगलादेश तथा नर्थर्न मारियाना र प्यालेस्टाइनबीच खेल हुनेछ । त्यसको दुई दिनपछि नेपाल र प्यालेस्टाइन तथा नर्थर्न मारियाना र बंगलादेशबीच खेल हुनेछ ।
नेपालसँग पहिलो खेल खेल्ने नर्थर्न मारियाना एसियाली फुटबल महासंघ (एएफसी)को पूर्णसदस्य भने भइसकेको छैन । सन् २००९ मा ओसियाना समूह छाड्दै एसियाली समूहमा आएको यो टोली हाल प्रोभिजनल सदस्यका रूपमा रहेको छ । एसियाली क्षेत्रमा प्रवेश गरेपछि यो टोलीले फुटबलको दुनियाँमा एकदमै कमजोर मानिएको ग्वामसँग सन् १९९८ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यो खेलमा ग्वाम २–१ ले विजयी भएको थियो ।
अन्तर्राष्ट्रिय फुटबल हुने भएकाले दर्शकको सम्भावित चापलाई दृष्टिगत गरी एन्फाले प्रतियोगिताको टिकट–मूल्य तीन सय र सात सय रुपैयाँ निर्धारण गरेको छ । टिक किनेका दर्शकले पहिलो म्याचसँगै फ्लडलाइटमा सञ्चालन गरिने साँझको दोस्रो म्याचको पनि आनन्द लिन सक्ने छन् ।
विदेशी प्रशिक्षक ज्याक स्टेफानोस्कीको रेखदेखमा हाल २८ नेपाली खेलाडी बन्द प्रशिक्षणमा छन् । नेपालको अन्तिम नामावली बुधबार सार्वजनिक गरिने भएको छ ।

प्रतिक्रिया