२३ हिमाल आरोहणका लागि खुला गरिँदै

himalकाठमाडौं, १५ फागुन । सरकारले थप २३ वटा हिमाल आरोहण अनुमतिका लागि नेपाल पर्वतारोहण संघलाई जिम्मेवारी दिने तयारी गरेको छ । संघले थप हिमाल आरोहण अनुमतिका लागि माग गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसको प्रक्रिया थालेको हो ।

थप हिमाल आरोहणका लागि खुला गर्ने विषयमा छलफल भइरहेको पर्यटनमन्त्री पोष्टबहादुर बोगटीले बताए । ‘नयाँ हिमाल खुला गर्ने विषयमा मन्त्रालय सकारात्मक छ,’ संघद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने । खुला गरिएका हिमालको प्रवद्र्धनमा जोड दिँदै क्रमश: नयाँ पनि खुला गर्दै लैजानुपर्ने पक्षमा आफू रहेको उनले बताए । सरकारले आरोहणका लागि खुला गरेको तर प्रवद्र्धन हुन नसकेका थप २३ वटा हिमाल संघलाई प्रवद्र्धन र व्यवस्थापनको जिम्मेवारी दिन सरकारसमक्ष माग गरेको थियो ।
मन्त्री बोगटीले आगामी मेमा हुन लागेको सगरमाथा आरोहण हिरक महोत्सवको अवसरमा थप हिमाल खुला भएको घोषणा हुने जानकारी दिए । सरकारले पहिलोपटक पर्यटन ऐनमा व्यवस्था गरी ०३४ सालमा ६ हजार पाँच सय मिटरभन्दा कम उचाइ भएका १८ वटा हिमालको व्यवस्थापन जिम्मेवारी दिएको थियो । पछि ०५९ सालमा १५ वटा हिमाल थपिएको थियो । कार्यक्रममा पर्वतारोहण संघका अध्यक्ष जिम्बाजाम्बु शेर्पाले संघको कार्यक्षेत्र विस्तार हुँदै गएकाले आम्दानीको स्रोत पनि थपिनुपर्ने भन्दै थप हिमाल माग गरिएको बताए । सरकारले आरोहण अनुमति दिएका ३३ वटा हिमालबाट संघले वार्षिक करिब साढे चार करोड रुपियाँ आम्दानी गर्छ । आव ६९/७० मा संघले आरोहण अनुमति शुल्कबाट चार करोड ४० लाख रुपियाँ संकलन गर्ने लक्ष्य राखेको छ । गत आवमा यो रकम चार करोड ४८ लाख ५० हजार रुपियाँ थियो । संघले विभिन्न स्तरका पर्वतारोहण तालिम, पूर्वाधार विकास, आरोहण मार्गमा पर्ने बाटोघाटो तथा पुल आदिको मर्मत तथा निर्माणका साथै हिमाल सफाइ कार्यक्रम र आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको स्वर्ण वर्ष मनाउनेलगायत काम गर्दै आएको छ ।
कार्यक्रममा एउटै सिजन एवं एकै सातामा दुईपटक सगरमाथाको सफल आरोहण गरेर गिनिजबुक अफ वल्र्ड रेकर्ड कायम गरेकी छुरिम शेर्पालाई सम्मान गरियो । उनले सन् २०१२ को मे १२ र १९ मा शिखर आरोहण गरी एउटै सिजनमा दुईपटक सगरमाथा आरोहण गर्ने महिला आरोहीको रेकर्ड कायम गरेकी छन् । सम्मानपछि शेर्पाले नेपालको पर्यटन र पर्वतारोहण प्रवद्र्धनमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा मन्त्री बोगटीले संघद्वारा सञ्चालित एड्भान्स माउन्टेनेरिङ कोर्स ०१३, हाई माउन्टेन रेस्क्यु ट्रेनिङ २०१३ र रुट सेटर जज कोर्स ०१३ का सहभागीलाई प्रमाणपत्र वितरण गरे । कोर्समा २२ जना सहभागी थिए । हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई उद्धार गर्न दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो कोर्स सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया