८५औँ ओस्कार अवार्डमा “लाइफ अफ पाई” को वर्चस्व

Brandiलस एन्जलस (एजेन्सी) : चलचित्र जगतको उच्चतम मुकाम हलिउडले आइतबार राति विश्वको सबैभन्दा चर्चित चलचित्र पुरस्कार समारोह आयोजना गर्‍यो । ८५औँ ओस्कार समारोहका रूपमा रहेको यस अवसरमा जेनिफर लरेन्स र ड्यानियल डे लुइसले क्रमश: सर्वश्रेष्ठ अभिनेत्री र अभिनेताको अवार्ड प्राप्त गरे ।
‘बेस्ट एक्टर, मेल’ अवार्ड तेस्रोपटक जितेर ड्यानियल डे लुइसले इतिहास रचे भने ‘सिल्भर लाइनिङ प्लेबुक’ चलचित्रका लागि पुरस्कृत भएकी २२ वर्षीय जेनिफरका लागि भने यो पहिलो ओस्कर अवार्ड हो । ‘सिल्भर लाइनिङ्स प्लेबुक’ मा भारतीय कलाकार अनुपम खेरले पनि प्रभावशाली भूमिका निर्वाह गरेका छन् ।
सबैभन्दा धेरै चारपटक ओस्कार अवार्ड जित्ने श्रेय अभिनेत्री क्याथरिन हेपबर्नलाई छ । उनले सन् १९३४, १९६८, १९६९ र १९८२ मा उक्त अवार्ड जितेकी थिइन् । त्यसैगरी अभिनेता ज्याक निकोल्सनले सन् १९७६, १९९८ र १९८४ मा गरी तीनपटक ओस्कार जितेका थिए तर उनले ती पुरस्कार तीन अलग–अलग विधामा जितेका थिए ।
समारोहमा यसपटकको पहिलो पुरस्कार क्रिस्टोफर वाल्ट्जले पाएका थिए । उनलाई ‘जेङ्गो अन्चेन्ड’ का लागि सर्वश्रेष्ठ सह–अभिनेताको ओस्कार दिइयो । सर्वश्रेष्ठ सह–अभिनेत्रीको ओस्कार ‘ला मिजरेबल’का लागि एन ह्याथवेलाई प्राप्त भयो ।
अत्यन्त प्रतिष्ठित मानिने बेस्ट फिल्म क्याटागोरीतर्फ बाजी मारे चलचित्र ‘आर्गो’लेल जसन बेन एप्लेकद्वारा निर्देशित छ । तर, सर्वश्रेष्ठ निर्देशकको ओस्कार अवार्ड भने आङ्ग लीले चलचित्र ‘लाइफ अफ पाई’ का लागि पाए । सुरज शर्मा, इरफान खान, तब्बू आदि भारतीय कलाकारलाई प्रमुख भूमिकामा अभिनय गराई बनाइएको ‘लाइफ अफ पाई’ ले सिनेमेटोग्राफी र भिजुअल इफेक्टसमेत विभिन्न चार विधामा अवार्ड जित्यो । विदेशी भाषाको सर्वश्रेष्ठ फिल्मको अवार्ड भने अस्ट्रियाको चलचित्र ‘अमोर’ ले जित्यो ।
यसपटक अर्थात् ८५औँ ओस्कार अवार्डका लागि स्टिभन स्पिलबर्गद्वारा निर्मित ‘लिङ्कन’ चलचित्रलाई सर्वाधिक १२ विधामा र त्यसपछि दोस्रो नम्बरमा ‘लाइफ अफ पाई’ लाई ११ विधामा नामांकन प्राप्त भएको थियो ।
ओस्कार जित्ने पहिलो चलचित्र
चलचित्र विधामा दिइने ओस्कार विश्वकै सर्वश्रेष्ठ पुरस्कार हो । विश्वभरि आमचलचित्रप्रेमी सबैले यस पुरस्कारलाई नियालिरहेका हुन्छन् । अवार्डमा कसले सर्वश्रेष्ठ चलचित्र पुरस्कार पाउँछ भन्नेतिर सबैको ध्यान हुनेगर्छ ।
विश्वको उत्कृष्ट मानिएको अवार्ड पहिलोपटक हात पार्न सफल चलचित्र हो– विंग्स । यो मूक चलचित्र सन् १९२७ मा निर्माण भएको थियो । अहिलेसम्मको ओस्कार विजेता मूक चलचित्र पनि यही एकमात्र रहेको जानकारहरू भन्छन । यो चलचित्र ती साथीहरूको कथामा आधारित थियो, जो विश्वयुद्धको समयमा लडाकू विमानका चालकका रूपमा कार्यरत थिए । चलचित्रमा लारा बो, चाल्र्स बन्डी रोजरका साथमा रिचर्ड एरलनले अभिनय गरेका थिए । यस चलचित्रमा क्लारा बोको अर्धनग्न दृश्य पनि थियो ।
पहिलो ओस्कार समारोह सन् १९२९ मा हलिउडको रुजवेल्ट होटलमा आयोजना गरिएको थियो । सोही समारोहमा चलचित्र विंग्सलाई पहिलो सर्वश्रेष्ठ चलचित्र अवार्ड दिइयो ।
८५औँ ओस्कारका उत्कृष्ट
सर्वश्रेष्ठ चलचित्र : आर्गो
सर्वश्रेष्ठ अभिनेता : ड्यानिअल डे (लिङ्कन)
सर्वश्रेष्ठ अभिनेत्री : जेनिफर लरेन्स (सिल्भर लाइनिङ प्लेबुक)
सर्वश्रेष्ठ निर्देशक : आङ ली (लाइफ अफ पाई)
सर्वश्रेष्ठ एनिमेटेड फिचर फिल्म : ब्रेभ
सर्वश्रेष्ठ छायांकन : क्लाउडियो मिरान्डा (लाइफ अफ पाई)
सर्वश्रेष्ठ एनिमेटेड छोटो चलचित्र : पेपरम्यान
सर्वश्रेष्ठ छोटो चलचित्र (लाइभ एक्सन) : कफ्र्यु
सर्वश्रेष्ठ ओरिजिनल स्क्रिन प्ले : क्वेन्टिन तारान्तिनो
सर्वश्रेष्ठ एडप्टेड स्क्रिन प्ले : क्रिस टेरियो (आर्गो)
सर्वश्रेष्ठ ओरिजिनल गीत : एडेल एड्किन्स र पल एपवर्थ (स्काइफल)
सर्वश्रेष्ठ ओरिजिनल स्कोर : मिखाइल डान्ना (लाइफ अफ पाई)
सर्वश्रेष्ठ सह–अभिनेता : क्रिस्टोफर वाल्ट्ज (जेङ्गो अन्चेन्ड)
सर्वश्रेष्ठ भिजुअल इफेक्टस् : लाइफ अफ पाई
सर्वश्रेष्ठ डक्युमेन्ट्री फिचर : सर्चिङ फर सुगरम्यान
सर्वश्रेष्ठ डक्युमेन्ट्री सर्ट : इन्नोसेन्ट
सर्वश्रेष्ठ साउन्ड मिक्सिङ : लेस मिजरेबल
सर्वश्रेष्ठ साउन्ड सम्पादन : जीरो डार्क थस्र्टी र स्काइफल
सर्वश्रेष्ठ चलचित्र सम्पादन : विलियम गोल्डनबर्ग (आर्गो)
सर्वश्रेष्ठ सह–अभिनेत्री : एन ह्याथवे (लेस मिजरेबल)
सर्वश्रेष्ठ फरेन ल्याङग्वेज फिल्म : अमोर
सर्वश्रेष्ठ मेकअप एन्ड हेयर–स्टाइल : लिसा वेस्टकट र जुलिया डार्टनेल (लेस मिजरेबल)
सर्वश्रेष्ठ प्रोडक्सन डिजाइन : लिङ्कन
सर्वश्रेष्ठ कस्टम डिजाइन : ज्याक्लिन ड्युरान (आन्ना कारेनिना)

प्रतिक्रिया