श्रीमान रेग्मीको मौनता भङ्ग

Khilraj Regmi Cj

काठमाडौं, १४ फागुन । प्रधानन्यायाधीश खिलराज रेग्मीले मन्त्रिपरिषदको नेतृत्व लिन आफू तयार रहेको जनाएका छन् ।
रेग्मीका तर्फबाट सर्वोच्च अदालतका सह–प्रवक्ता हेमन्त रावलले आज जारी गरेको विज्ञप्ति अनुसार उनले राज्यको दायित्व सम्हालन आफू तयार रहेको जनाएका हुन् । उनले आफ्नो विज्ञप्तिमा न्यायाधीश पदमै रहेर सरकारको नेतृत्व लिने हुन वा राजीनामा दिएर जाने हुन भन्ने स्पष्ट केही खुलाएका छैनन् । रेग्मीले उमेरहदका कारण छिट्टै अवकास पनि पाउँदै छन् ।
लामो समय पछि प्रधानन्यायाधीश रेग्मीले आफ्नो मुख खोलेका छन् । रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउन दलहरुले प्रयास गरिरहेका थिए । आजै विहान मात्रै प्रधानन्यायाधीश रेग्मी, प्रधानमन्त्री बाबुराम भट्टराई र चार राजनीतिक शक्तिबीच सरकारको नेतृत्वलाई लिएर परामर्श भएको थियो ।
‘जारी न्यायापालिकाको सर्वाेच्च पदमा रही देशको न्याय प्रणालीको नेतृत्व गरिररहेको अवस्थामा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने सम्बन्धमा कुनै निजी चाहना वा आकांक्षा रहेको नभइ यस विशेष बृहत्तर राष्ट्रिय हित र सरोकारको विषय रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय हित अनुकुल देशमा उत्पन्न राजनैतिक एवं संवैधानिक जटिलता निकासको लागि सकारात्मक दृष्टकोण रहि आएको छ ।’
त्यसै गरी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘राजनीतिक तहमा गरिने सहमति संवैधानिक एवं कानूनी जटिलताको निकास तथा न्यायापालिका र न्यायिक निर्णयको उच्च सम्मान गर्दै सो अनुसार आगामी प्रक्रिया निर्धारण हुने कुरा सबैमा जानकारी गराउँछु ।’
‘मानवअधिकार प्रतिको सम्मान, स्वतन्त्र न्यायपालिका प्रतिको प्रतिवद्धता एवं रेग्मीले विगत ४ दशकदेखि निष्पक्ष रुपमा न्याय सम्पादनमा पुराउँदै आएको योगदान एवं न्यायपालिका प्रतिको निष्ठाका कारण नै प्रधानन्यायाधीशको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्नको लागि छलफल भएको हो भन्ने सर्वोच्च अदालतको बुझाइ छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया