तिलकरामद्वारा राष्ट्रिय कीर्तिमान

Sabitri-and-Pramilaकाठमाडौं, १४ फागुन । तिलकराम थारूले २ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । नेपाल पुलिस क्लबका तिलकले आइतबार भएको दोस्रो गोल्डेन स्प्रन्ट मिटमा निर्धारित दूरी २१.७१ सेकेन्डमा पूरा गर्दै रामकृष्ण चौधरीले १८ वर्षअघि बनाएको कीर्तिमान भंग गरे । रामले १९९५ मा मद्रास (अहिले चेन्नई) मा भएको दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद) मा २१.९२ को कीर्तिमान बनाएका थिए । कीर्तिमान रचेबापत तिलकले ५ हजार रुपियाँ पुरस्कार पाए ।

नेपाल आर्मी क्लबका मीनबहादुर चौधरी दोस्रो तथा एपिएफका हरिलाल चौधरी तेस्रो भए । महिलामा एपिएफकी दिलमाया कार्कीले शीर्ष स्थान हात पारिन् । दिलमायाले २७.१ सेकेन्ड समय खर्चिइन् । उनीसँग कडा मुकाबिला हुने अनुमान गरिएकी सावित्री नेपालीले फल्स स्टार्ट गरिन् । विजेश्वरीकी बबिता थापा दोस्रो तथा सुमित्रा थापा तेस्रो भए । पुरुषको १ सय मिटर दौडमा पनि तिलकले १०.५ सेकेन्ड समयमा कुदेर पहिलो स्थान पाए । जाजरकोटका याम साजन सुनवार दोस्रो तथा आर्मीका मीनबहादुर चौधरी तेस्रो भए ।
त्यसै स्पर्धाको महिलामा प्रहरीकी सावित्री पहिलो भइन् । सावित्रीले १२.७५ सेकेन्डमा दूरी तय गरिन् । आइतबारको सबैभन्दा प्रतिस्पर्धात्मक भिडन्तमा एपिएफकी प्रमिला रिजाल (१२.८० सेकेन्ड) ले दोस्रो तथा विजेश्वरीकी अनिता थापा तेस्रो भए ।
नेपाल एमेच्योर एथलेटिक्स संघ तथा काठमाडौं रोड रनर्स क्लब अल्मुनाइद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ४ सय मिटर दौड ५१.५ सेकेन्डमा पूरा गर्दै आर्मीका दासीराम चौधरी पहिलो भए । आर्मीका हेमन्त ढुंगाना दोस्रो तथा एपिएफका हरकसिंह धामी तेस्रो भए ।
महिलामा एपिएफकी दिलमाया कार्की पहिलो भइन् । निर्धारित दूरी पूरा गर्न दिलमायाले ६०.३ सेकेन्ड समय लगाइन् । पोखराकी मनीषा अधिकारी (१ मिनेट ०१.८ सेकेन्ड) दोस्रो भइन् । मनीषाले व्यक्तिगत उत्कृष्ट समय भए पनि अपेक्षाकृत नभएको बताइन् । विजेश्वरीकी अनिता थापा तेस्रो भइन् ।
पुरुषको ४ सय मिटर हर्डल्समा आर्मीका तेजबहादुर सुनार (१ मिनेट ०२.४ सेकेन्ड) पहिलो भए । आर्मीकै सागर कार्की दोस्रो भए । सोही स्पर्धाको महिलामा एपिएफकी सविता चौधरी (१ मिनेट १०.२ सेकेन्ड) दोस्रो भइन् । एपिएफकै सुनीता तामाङ दोस्रो भइन् ।
पुरुषको १ सय १० मिटर बाधा दौडमा प्रहरीका धीरेन्द्र चौधरी पहिलो भए । उनले १५.९ सेकेन्ड समयमा दूरी पूरा गरे । १७.१ सेकेन्ड समयसाथ आर्मीका शोभाकान्त जम्मरकट्टेल दोस्रो भए ।
महिलाको १ सय मिटर बाधा दौडमा एपिएफकी सविता चौधरीले स्वर्ण तथा एपिएफकै सुनीता तामाङले रजत जिते । सविताले १८.९ सेकेन्ड तथा सुनीताले २३.३ सेकेन्ड समय खर्चे ।
एकदिने प्रतियोगितामा प्रहरीका तिलक तथा एपिएफकी दिलमाया ‘उत्कृष्ट स्प्रिन्टर’ चुनिए । त्यसबापत दुवैले समान ५–५ हजार नगद पुरस्कार पाए ।
दुई स्पर्धाका लागि तिलकले समान ३–३ गरी ६ हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै सावित्री, दिलमाया र धीरेन्द्रले समान ३–३ हजार पाए । आयोजकले तोकेको समयअगाडि नै दौड पूरा गरी पहिलो स्थान हात पारेकाले पाँचैलाई समान ३–३ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिएको हो । आयोजकले निर्धारण गरेको समय अगाडि दौड पूरा गरी दोस्रो स्थान हासिल गरेका याम र प्रमिलालाई १–१ हजार नगद पुरस्कार दिइयो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामालगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा १९ पुरुष तथा १८ महिला खेलाडीले समान ५–५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया