बैदेसिक रोजगार व्यवसायीको आन्दोलन स्थगित

काठमाडौं, १४ फागुन । बैदेसिक रोजगार व्यवसायीको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । सरकारी अधिकारीसँगको वार्तामा केही दिन भित्रै व्यवसायीले उठाएका माग सम्वोधन गर्ने सहमति पछि आन्दोलन स्थगित भएको हो ।

बैदेसिक रोजगार व्यवसायीका अनुसार सरकारसँगको छलफलमा उच्च स्तरीय कार्यदल बनाई समस्याको समाधान खोजिने सहमतिपछि तत्कालका लागि आन्दोलन स्थगित भएको छ । नेपाल बैदेसिक रोजगार व्यवसायी संघका महासचिव कमल तामाङले सरकारी अधिकारीसँगको छलफलमा केही दिनभित्रै माग सम्वोधन गर्ने सहमति भएकाले आन्दोलन स्थगित गरिएको जनाए ।
‘सरकारका उच्च अधिकारीसँग व्यवसायीका माग बारे छलफल भएको छ’ तामाङले भने, ‘मुख्यसचिव, प्रधानमन्त्री कार्यालय तथा श्रम तथा रोजगाार मन्त्रालयका सचिवलगायतका अधिकारीसँग भएको त्यो छलफल पछि तत्कालका लागि आन्दोलन स्थगित गर्ने निर्णय भएको छ ।’ सो छलफलमा केही दिन भित्रै प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा उच्चस्तरीय कार्यदल बनाई व्यवसायीको मागका विषयमा निर्णय गर्ने सहमति भएको महासचिव तामाङले जनाए ।
अहिले कार्यदलमा रहने व्यक्ति मुलुकबाहिर गएकाले आएलगत्तै व्यवसायी र सरकारी अधिकारीबीच फेरि छलफल हुने र प्रक्रिया अघि बढाउने सहमति भएको जनाइएको छ । यता श्रम तथा रोजगार मन्त्रालयले समेत व्यवसायीका सकारात्मक मागलाई लिएर सरकारले छलफल गर्ने र आवश्यक निर्णय लिने जनाएको छ । व्यवसायीले राखेका मागलाई लिएर केही दिन अघि सरकारी अधिकारी र व्यवसायीबीच छलफल भएको थियो । छलफलमा मुख्यसचिवसहित प्रधानमन्त्री कार्यालय तथा श्रम तथा रोजगार मन्त्रालयका सचिव, बैदेसिक रोजगार विभागका महानिर्देशकलगायत उच्च सरकारी अधिकारी सहभागी थिए ।
सरकारले बैदेसिक रोजगार क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन नसकेको भन्दै करिब एक साताअघि रोजगारी व्यवसायीले चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए । सरकारले कामदार र व्यवसायीको माग सम्वोधन गर्नुको सट्टा व्यवसाय नै धराप बनाउन खोजेको भन्दै नेपाल बैदेसिक रोजगार व्यवसायी संघको अगुवाइमा रोजगार व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
पटकपटक सरकारलाई आफ्नो माग राख्दा पनि सुनुवाई नभएपछि आन्दोलनमा जान वाध्य भएको व्यवसायीले जनाउँदै आएका थिए । संघका अध्यक्ष बलबहादुर तामाङले सरकार व्यवसायीको माग सुनुवाई गर्नुभन्दा पनि व्यवसाय नै बन्द गर्ने तर्फ लागेकाले आफूहरूले आन्दोलन गर्न बाध्य भएको बताएका छन् । राष्ट्रपति, प्रधानमन्त्री, श्रम तथा रोजगार मन्त्री, बैदेसिक रोजगार विभागमा पटकपटक व्यावसायिक हक अधिकारको सुनिश्चित गर्न र व्यवसायलाई सुरक्षित बनाउन ज्ञापनपत्र बुझाएको तर सम्बन्धित पक्षले वास्ता नगरेकै कारण आन्दोलनमा जानु परेको उनीहरूको भनाइ छ । यसपटक पनि मागका विषयमा सम्वोधन नभए व्यवसाय नै ठप्प पारेर आन्दोलनमा जाने तामाङले बताएका छन् ।
कुल उत्पादनमा २३ प्रतिशत तथा ५६ प्रतिशत घरधुरीलाई लाभान्वित बनाउँदै आएको यो व्यवसायलाई राज्यले एकपछि अर्को गर्दै समस्या थोपर्ने तथा व्यवसायीलाई निकृष्ट अपराधीका रूपमा चित्रण गरेको तामाङको आरोप छ । करिब चार सय व्यवसायीको भेलाबाट आन्दोलनमा जाने घोषणा गरेको भन्दै तामाङले संघले नेतृत्व लिएको आन्दोलनले निकास नदिए चरणवद्ध रूपमा आन्दोलन गर्ने जनाएका हुन् ।
संघका अनुसार पहिलो चरणमा बैदेसिक रोजगार विभागमा कालो ब्यानर र पट्टीसहित धर्ना बस्ने, थाल ठटाउने, प्रधानमन्त्रीलाई कालो चस्मा उपहार दिने, बैदेसिक रोजगार विभागमा विरोध प्रदर्शन गर्ने, महानिर्देशकको कार्यकक्षमा तालाबन्दी गर्ने र यति हँुदासमेत माग सम्वोधन नभए विभागका सबै काम ठप्प पार्ने लगायतका विरोध कार्यक्रम तय भएको थियो । तर, माग सम्वोधन हुने संकेत देखेपछि आन्दोलन स्थगित भएको बुझिएको छ ।

प्रतिक्रिया