जापनको सुरक्षाका लागि अमेरिकी रार्डर स्थापना हुने

टोकियो : जापानको तटीय क्षेत्रमा अमेरिकी रार्डर प्रणाली स्थापना गर्ने सहमति दुई देशबीच बनेको छ । उत्तर कोरियाली क्षेप्यास्त्रबाट आउनसक्ने सुरक्षा जोखिमलाई सम्बोधन गर्दै यस्तो प्रणाली स्थापना हुने दुई देशबीच सहमति भएको आइतबार जनाइएको छ । प्रणालीमार्फत जापानलाई उत्तर कोरियाली क्षेप्यास्त्रको नियतबारे चाँडै थाहा पाउन सहयोग मिल्नेछ ।
जपानमा ‘एक्स–ब्यान्ड’ रार्डर स्थापना गरिने र यसले ब्यालेस्टिक क्षेप्यास्त्रसम्बन्धी जानकारी दिनेछ । यसबाट हासिल हुने सूचनाका आधारमा जापानमाथि प्रहार गरिएको क्षेप्यास्त्रलाई निस्तेज गर्न अमेरिकाले जवाफी क्षेप्यास्त्र प्रहार गर्न सक्नेछ । जापानमा अमेरिकाले यसअघि पनि एउटा यस्तै क्षेप्यास्त्र प्रणाली स्थापना गरिसकेको छ ।
जपानको क्योटोबाट उत्तरपश्चिममा रहेको क्यातान्गोस्थित हवाई आत्मरक्षा बल मातहत रहनेगरी नयाँ क्षेप्यास्त्र प्रणाली स्थापना गरिनेछ । जापानी सागर अथवा पूर्वीसागरका तटीय क्षेत्रमा प्रणाली स्थापना गरिने जापानको क्योदो समाचार एजेन्सीले जनाएको छ ।
‘गुआम अथवा हवाईमा लक्षित गरी छोडिनसक्ने उत्तर कोरियाली क्षेप्यास्त्र जापानको सोही क्षेत्र हुँदै जाने भएकाले प्रणाली स्थापनाका लागि यी ठाउँको चयन गरिएको हो,’ क्योदोले भनेको छ । गत शुक्रबार अमेरिकी राष्ट्रपति बाराक ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आबेले रार्डर प्रणाली स्थापनाका लागि दुई मुलुकबीच सहकार्य गर्ने सहमति बनेको पुष्टि गरेका थिए ।
उत्तर कोरियाले सैन्य गतिविधि बढाउँदै लगेपछि अमेरिकासँग जापानले सुरक्षा सहकार्यलाई थप फराकिलो पारेको हो । अन्तर्राष्ट्रिय समुदायको दबाबलाई बेवास्ता गर्दै केही दिनअघि उत्तर कोरियाले तेस्रोपटक परमाणु परीक्षण गरेको थियो । परमाणु परीक्षणको अमेरिका, दक्षिण कोरिया, जापान, राष्ट्रसंघलगायत युरोपेली राष्ट्रले चर्को आलोचना गरेका थिए ।
गत महिना सोही क्षेत्रमा अमेरिकाले दक्षिण कोरियासँग मिलेर संयुक्त नौसैनिक अभ्यास गरेको थियो । जापानी सागरमा भएको नौसैनिक अभ्यास तीन दिनसम्म चलेको थियो जसमा परमाणुसम्पन्न अमेरिकी पनडुब्बी प्रयोग गरिएको थियो । यसबाहेक ‘टमह्वाक क्रुज’ क्षेप्यास्त्र, युएसएस सान फ्रान्सिस्को तथा नौ हजार आठ सय टनको एजिज डिस्ट्रोयर युएसएस सिलोहलगायतका हतियारसमेत प्रयोग गरिएको थियो । अभ्यासमा समुद्री युद्ध सञ्चालन, पनडुब्बी खोजी, हवाई तथा पानी जहाजमाथिको आक्रमण तथा क्षेप्यास्त्रविरुद्ध आक्रमणको विधि र तौरतरिका अपनाइएको थियो ।
उत्तर कोरियाले डिसेम्बर महिनामा लामो दूरीको रकेट परीक्षण गरेपछि दक्षिण कोरिया र जापानजस्ता उत्तर कोरियासँग वैरभाव राख्ने मुलुकसँग अमेरिकाले सुरक्षा सहकार्य बढाउँदै लगेको छ । उत्तर कोरियाले अमेरिकाको प्रतिरोध गर्न सैन्य गतिविधि सञ्चालन गर्नुपरेको जनाउँदै आएको छ । अमेरिका र उसका ‘क्षेत्रीय कठपुतली’ जापान तथा दक्षिण कोरियासँगको हिसाबकिताब बोलीले नभई बलले चुक्ता गर्ने चेतावनी उत्तर कोरियाबाट आएपछि अमेरिकाले सो क्षेत्रमा सैन्य सक्रियता बढाएको हो । (एजेन्सी)

प्रतिक्रिया