सुकुम्बासीद्वारा अनिश्चितकालीन धर्ना

कैलाली, १४ फागुन । सुकुम्बासी समस्या समाधानसहितका विभिन्न माग राख्दै कञ्चनपुरका सुकुम्बासीले आइतबारदेखि विभिन्न सरकारी कार्यालयअगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । वास्तविक सुकुम्बासीको पहिचान गरेर परिचयपत्र वितरण, गैरसुकुम्बासीका नामावली संकलन स्थगनलगायत मबाग राख्दै उनीहरू सिडिओ कार्यालय, मालपोत र नापी कार्यालयमा अनिश्चितकालीन धर्नामा बसेका हुन् ।

राष्ट्रिय भूमि अधिकार मञ्च कञ्चनपुरको अगुवाइमा धर्नामा बसेकाले सुकुम्बासी समस्या समाधानका लागि ०६६ साल यता तीन आयोग बने पनि समस्या समाधानका लागि कुनै पहल नभएको गुनासो गरे । यसअघि मञ्चले २ फागुनमा विभिन्न माग राख्दै एकसाताको अल्टिमेटमसहित आन्दोलनको घोषणा गरेका थिए । सुकुम्बासी समस्या समाधान आयोगमा गैरसुकुम्बासीको निवेदन परेको मञ्चका सचिव रामबहादुर चुनाराले बताए । उनले वास्तविक सुकुम्बासीलाई मात्र परिचयपत्र वितरण गरिनुपर्ने बताए । सुकुम्बासी समस्या समाधान आयोग कञ्चनपुरका सदस्यसचिव बिसनसिंह थापाले जिल्लामा परेका आठ हजार तीन सय निवेदनमाथि प्रारम्भिक छानबिन भइसकेको र थप छानबिन भइरहेको बताए ।

प्रतिक्रिया