रक्तश्राव रोकियो अवस्था अझै गम्भीर

Paras-Shahaकाठमाडौं, १४ फागुन । हृदयाघातका कारण अचेत भई थाइल्यान्डको बैंककमा केही दिनयता उपचाररत पूर्वयुवराज पारस शाहको पेटमा भएको रक्तश्राव रोकिएको छ । तर, उनको स्वास्थ्य अवस्थामा भने सुधार आउन सकेको छैन । पारसको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था ‘जटिल तर स्थिर’ छ ।

बैंककस्थित समितिवेज अस्पतालले आइतबार विज्ञप्तिमार्फत पूर्वयुवराज शाहको स्वास्थ्य अवस्थामा कुनै सुधार आउन नसकेको जनाएको हो । शनिबार पेटमा आन्तरिक रक्तश्राव भएपछि उनको अवस्था झन् जटिल बनेको थियो । आइतबार साँझसम्म सो समस्या सामान्य बन्दै गए पनि थप सुधार हुन नसकेको अस्पतालले जनाएको छ । औषधिको सहयोगमा उनको ब्लड प्रेसरलाई नियन्त्रणमा ल्याउने क्रम जारी रहेको र केही मात्रामा सफल भएको विज्ञप्तिमा उल्लेख छ ।
हृदयाघातपछि पारसको दिमागमा पर्न गएको तनावका कारण पेटमा अल्सर भएकाले आन्तरिक रक्तश्राव भएको चिकित्सकहरूले बताएका छन् । उनको आन्तरिक रक्तश्राव भएपछि अस्पतालले विज्ञप्ति नै निकालेर स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको जनाएको थियो । आन्तरिक रक्तश्रावपछि पारसको इन्डोस्कोपी गरी थप उपचार जारी गरिएको थियो ।
उनको उपचारमा चार जना विशेषज्ञ चिकित्सकीय टोली जुटिरहेका छन् । टोलीमा मुटुरोग विशेषज्ञ डा. सायन चेपुडोमविट र डा. परिन्य कुनावट तथा ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. सुरासक एक्पोन्पाइसिट र इन्टेन्सिभिस्ट डा. कन्चित पियाभेचभिरातना छन् । अस्पतालको सिसियुमा भेन्टिलेटरको सहायतामा श्वासप्रश्वास गरिरहेका पारसको अवस्था नाजुक बन्नुमा गम्भीर प्रकारको हृदयाघात नै प्रमुख कारण रहेको अस्पतालले जनाएको छ । अचेत अवस्थामा उपचाररत आºना पतिलाई भेट्न पूर्वयुवराज्ञी हिमानी शुक्रबार बैंकक पुगेकी थिइन् । हिमानी अस्पताल पुगेपछि अस्पतालले औपचारिक रूपमा पारसको स्वास्थ्य अवस्थाबारे विज्ञप्ति नै निकाली जानकारी गराउँदै आएको छ ।
हिमानी अस्पताल पुगेलगत्तै सोझै सिसियुकक्षमा प्रवेश गरी आºना पतिको अवस्थाबारे जानकारी लिएकी थिइन् । उपचारमा संलग्न तीन चिकित्सकले पारसको अवस्थाबारे हिमानीलाई जानकारी गराएका थिए । अचेत रहेका पारसको अस्पतालले बुधबार र बिहीबार सिटिस्क्यान गरेको थियो । दुवै दिनको सिटिस्क्यानमा केही नदेखिएपछि एमआरआई गर्ने प्रयास गरिए पनि त्यो सम्भव हुन सकेको छैन ।
मुटुको चाल स्थिर हुन नसकेकाले पारसको एमआरआईमा समस्या परिरहेको चिकित्सकहरूले विज्ञप्तिमार्फत जनाएका छन् । बुधबार र बिहीबारको तुलनामा शुक्रबार पारसको अवस्था थप बिग्रिएको भए पनि अहिले स्थिर छ । शुक्रबार अस्पतालले उनको एमआरआई गर्न हाइपोथर्मिया उपचार विधिबाट शरीरको तापक्रमलाई सामान्य अवस्थामा ल्याउने तयारी गरेको थियो । तर, अझै उनको एमआरआई हुन नसकेको अस्पतालले जनाएको छ ।
गत मंगलबार राति करिब ९ बजे हृदयाघात भएपछि पारसलाई उनीसँगै बस्दै आएकी थाई महिला कन्निका चाइसान र गैरआवासीय नेपाली संघ थाइल्यान्डका सचिव सुनील खड्काकी पत्नीले बैंककस्थित समितिवेज सखुम्भित अस्पताल पुर्‍याएका थिए ।

प्रतिक्रिया