डेढ महिनादेखि रुकुममा टेलिफोन अवरुद्ध

रुकुम : डेढ महिनादेखि अवरुद्ध टेलिफोन सेवा अझै सञ्चालन आएको छैन । गत २ माघमा जिल्लाका विभिन्न ठाउँमा रहेका स्काई फोनको टावरमा खराबी आएपछि सदरमुकाम बाहिरका सबै ठाउँको टेलिफोनसेवा अवरुद्ध भएको हो ।
सो दिन आएको हावाहुरीले जन्तीबसे लेक, विर्गुमखानीलगायतका ठाउँमा रहेका स्काई फोनको टावरमा खराबी आएको थियो । नेपाल टेलिकमले खराबी आएका टावर मर्मत भइसकेको बताए पनि पश्चिम विजयश्वरीदेखि पूर्व रन्मामैकोटसम्मको स्काई फोनले काम गरिरहेको छैन । नेटवर्क देखाए पनि फोनले काम नगर्ने गरेको सेवाग्राहीले बताएका छन् । फोनमा खराबी आएको लामो समय भइसक्दा पनि फोन सञ्चालन गर्नेतर्फ सम्बन्धित निकायले ध्यान नदिएको भन्दै सर्वसाधारण आक्रोशित भएका छन् ।
फोनसेवा अवरुद्ध भएपछि सबैभन्दा बढी मारमा आफन्त विदेश गएकाहरू परेका छन् । लामो समयसम्म आफन्तसँग सम्पर्क हुन नसकेपछि आफूहरू चिन्तामा परेको पीपल गाविस–३ गोपिगौंडाकी शर्मिला खत्रीले बताए । डेढ महिनादेखि मलेसियामा रहेका श्रीमान्को सन्चोबिसन्चो बुझ्न नपाएको उनको भनाइ छ । विदेशमा रहेका आफन्तसँग फोन सम्पर्क हुन नसक्दा घर चलाउन गाह्रो भइरहेको सर्बसाधारणको गुनासो छ । उता विदेशबाट घरमा सम्पर्क हुन छाडेपछि रोजगारीको सिलसिलामा विदेश पुगेकाहरू पनि तनावमा छन् । लामो समयदेखि घरमा सम्पर्क नभएपछि घरपरिवारको सन्चोबिसन्चो थाहा पाउन नसकेको मलेसियामा रहेका पोखरा गाविस–२ का लीलाराम खड्काले बताए । फोनसेवा अवरुद्ध भएपछि सबैभन्दा बढी मार विदेशमा रहेका नेपालीलाई परिरहेको खड्काको भनाइ छ ।
नेपाल टेलिकमले जिल्लामा सिडिएमएसहित करिब सात हजारको संख्यामा स्काईका रिम कार्ड वितरण गरेको जनाएको छ । यसका साथै जिल्लामा अन्य अञ्चलबाट निकालिएका रिमकार्डहरू पनि सञ्चालनमा रहेका छन् । जिल्लामा रहेका स्काई फोनको टावरको क्षमताभन्दा बढी रिमकार्ड वितरण गरिए पनि सेवा भने गुणस्तरीय नभएको गुनासो सेवाग्राहीको छ । सेवा विस्तारभन्दा सेवालाई गुणस्तरीय बनाउनतिर टेलिकम लाग्नुपर्ने सर्वसाधारणले माग गरेका छन् । (सौस)

प्रतिक्रिया