आलुमा आइपिएमको परीक्षण उत्पादन

बनेपा: कृषकले काभ्रेका केही गाविसमा आलुमा आइपिएमको परीक्षण उत्पादन सुरु गरेका छन् । बजारमा आइपिएम तरकारीको खोजी बढिरहेको अवस्थामा उनीहरूले कृषि विकास कार्यालय काभ्रेको सहयोगमा सो उत्पादन सुरु गरेका हुन् । खासगरी पााचखाल, होक्से र देवभूमिबालुवामा आलुको आइपिएम परीक्षण उत्पादन सुरु गरिएको हो । कृषि विकास कार्यालय काभ्रेका अनुसार पाचखाल र होक्सेमा एक एक रोपनी जमिनमा र देवभूमिबालुवामा झन्डै ढाई रोपनी जमिनमा प्रति रोपनी ८० किलोग्रामको आलुको बिउका दरले आलुको आइपिएम उत्पादन सुरु भएको छ ।

आइपिएम भनेको बालिमा रासायनिक विषादीको न्यूनीकरण र घरेलु विषादीको प्रयोग बढाउनु हो होक्से–३ का कृषक मुक्तिनाथ दङ्गालले भने । उनले आफ्नो क्षेत्रमा केही दिनअघि तुषारो परेका कारण उत्पादन परिणाममुखी हुन नसक्ने भए पनि निरास नहुन कृषकलाई आग्रह गर्दै यो प्रविधिमार्फत स्वस्थ उत्पादन हुने बताए । देवभूमिबालुवाकी कृषक मैना दनुवारले परम्परागत तरिकाले गरेको खेतीमा रासायनिक मलका कारणले बोट हरियो मात्र देखिएको तर आइपिएम प्रविधिबाट बोटको उचाइ बढेको छ र बढी नै उत्पादन हुन्छ भन्ने विश्वास भएको धारणा राखे । उनले आइपिएम प्रविधिमा पनि तुषारोको प्रकोप बढेकोमा चिन्ता व्यक्त गरे ।
अर्का कृषक विश्वराज पाठकले करिव १५ वर्षदेखि तरकारी खेतीमा रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटोको उर्वरा शक्ति नष्ट गरेको उल्लेख गर्दै बिग्रेको माटोलाई सुधार गर्दै आइपिएम विधिबाट उत्पादन उत्तम हुनेमा जोड दिए । कृषि विकास कार्यालय काभ्रेका कृषि अधिकृत मधुसुदन पौडेलले आइपिएमको सिद्धान्त रसायनको विस्थापन भएको बताए । उनका अनुसार कृषकले काभ्रेको शंखु, महादेवस्थान र शारदाबतासे गाविसमा सुन्तला र विभिन्न जातका तरकारीको आइपिएम उत्पादन गरेर बजार पुर्‍याइसकेका छन् । काभ्रेमा अधिकांश कृषकले जनकदेव जातको आलुको उत्पादन गरेका छन् । सो जात बाहेक कार्डिनल, खुमल सेतोलगायत जातको आलु पनि उत्पादन हुने गरेको छ । (सौस)

प्रतिक्रिया