समलिंगीमाथिको प्रतिबन्ध हटाउन जोड

obamaवासिंगटन : अमेरिकी राष्ट्रपति बाराक ओबामाले विवाहको परिभाषा परिवर्तन गर्न अदालतसमक्ष आग्रह गरेका छन् । समलिंगी विवाहलाई मान्यता दिने अर्को पाइला स्वरूप उनले विवाहलाई महिला तथा पुरुषबीचको सम्बन्धका रूपमा सन् १९९६ मा दिइएको परिभाषा खारेज गर्न मुलुकको सर्वोच्च अदालतसमक्ष आग्रह गरेका हुन् ।

अमेरिकी अदालतसमक्ष ओबामा प्रशासनले प्रस्तुत गरेको कानुनी व्याख्यामा यस्तो आग्रह गरिएको छ । आगामी महिना सर्वोच्च अदालतका नौ न्यायाधीशले ओबामा प्रशासनको आग्रहमुताबिक यस विषयमा पुनरावलोकन गर्नेछन् । अमेरिकी संघीय विवाह प्रतिरक्षा कानुनमा समलिंगी विवाहमाथि प्रतिबन्ध लगाइएको छ । समलिंगी विवाहको अधिकारलाई समर्थन गर्दै अमेरिकी राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा प्रस्तुत भएको यो पहिलो दस्ताबेज हो । उक्त दस्ताबेजले अमेरिकी संविधानमा प्रत्येक नागरिकलाई समान प्रतिरक्षाको अधिकार भएको उल्लेख गर्दै यस विपरीत विवाह प्रतिरक्षा कानुनले नागरिकको यो अधिकार उल्लंघन गरेको आरोप लगाइएको छ ।
विवाह प्रतिरक्षा कानुनले अन्य राज्यका कानुनअनुसार विवाह गरेका समलिंगी दम्पतीको अधिकार उल्लंघन गरेको र आम दम्पतिसरह समलिंगीलाई सुविधा नदिइएकोतर्फ कागजातमा ध्यानाकर्षण गराइएको छ । दस्ताबेजमा अमेरिकी न्यायाधिवक्ता डोनाल्ड भिरिलीले हस्ताक्षर गरेको बताइएको छ । यसअघि समलिंगी विवाहसम्बन्धी विषयमा एडिथ वन्डिसर नाम गरेका व्यक्तिले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सन् २००७ मा क्यानडाका एक पुरुषसँग विन्डसरको विवाह भएको र उनको जीवनसाथीको ४० वर्षको उमेरमा मृत्यु भएको थियो । संघीय कानुनले उनीहरूबीच विवाह भएको स्वीकार नगर्ने भएकाले उनले आफ्नो जीवनसाथीको सम्पत्ति पाउँदा तीन लाख ६० हजार अमेरिकी डलर कर तिर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।
ओबामा प्रशासनको समलिंगीप्रतिको पछिल्लो अडानविरुद्ध अमेरिकी तल्लो सदनका रिपब्लिकन सांसदले विरोध जनाएका छन् । गत महिना संसद्को माथिल्लो सभा सिनेटका १० सदस्यले समलिंगी सम्बन्धलाई अस्वीकार गर्ने कानुन कायम गर्न तथा अन्य मुलुकमा भएको विवाहलाई मान्यता नदिन सर्वोच्च अदालतसमक्ष आग्रह गरेका थिए । उनीहरू सबैले विवाह प्रतिरक्षा कानुनका पक्षमा मतदान गरेका थिए । सन् १९९० को मध्यमा सो कानुन तयार हुँदा त्यसलाई संवैधानिक भन्ने न्याय मन्त्रालयले अहिले त्यसलाई असंवैधानिक भनेकोमा असन्तुष्टि व्यक्त गर्दै उनीहरूले मन्त्रालयका तर्फबाट सही काम नभएको दाबी गरेका छन् ।
ओबामा प्रशासनले समलिंगी विवाहसम्बन्धी कानुन परिवर्तन गर्न चाहनु अनौठो होइन । यसअघि पनि पटकपटक राष्ट्रपति ओबामा आफू समलिंगी विवाहका पक्षमा रहेको स्वीकार गर्दै आएका छन् । राष्ट्रपति पदको दोस्रो कार्यकालको उद्घाटन भाषणमा पनि ओबामाले समलिंगीअधिकार तथा नागरिकअधिकारलाई समानान्तर रूपमा स्वीकार गरेका थिए । उनले समलिंगी महिला तथा पुरुषलाई कानुनले समान रूपमा व्यवहार
नगरेसम्म समानता सही अर्थमा स्थापना नहुने बताएका थिए । सो अवसरमा समलिंगी कवि रिचर्ड ब्लांकोलाई कविता वाचन गर्न लगाएर ओबामाले समलिंगीप्रति सद्भाव प्रदर्शन गरेका थिए । (एएफपी)

प्रतिक्रिया