सिंहदरबारको कुर्सी खिस्स हाँसिरहेछ

Raghu-Mainali-copyआफूले आफैँलाई विश्वास गर्न असम्भवझैँ बनेको नेपाली राजनीति वर्तमानमा थितिको कुरा गर्नु बेकार छ । हिजोआज देखेको, जानेको र भोगेको कुराको कुनै अर्थ र महत्त्व नै छैन । त्यसैले म यहाँ तपार्इंलाई सुनेको कुरा सुनाउन चाहन्छु ।
मैले सुनेको थिएँ– अति भएका बेला तीनवटा चीज हाँस्छन् रे– पहिलो, मेरो छोरा, मैले तँलाई कति दु:ख कष्टले जन्माएँ, हुर्काएँ, बढाएँ भनी बाबुले अति गर्‍यो भने आमा हाँस्छिन् रे । यसलाई प्रशवेदना के थाहा भनेर । दोस्रो, साँध सीमानामा छिमेकीसँग झगडा गर्‍यो, दाजुभाईसँग अंशवण्डमा किचलो गर्‍यो, बढी जग्गा जमीन आफ्नो हात पारेर मेरो लालपुर्जामा यति जग्गा छ भनी बखान गर्दा धर्ती हाँस्छिन् र † यो जग्गा अहिलेसम्म कतिले भोगचलन गरे, भोलि पनि कतिले भोगचलन गर्छन् । कठै † यो मूर्ख भनेर । तेस्रो, भ्रष्टाचार, कालाबजारी अनि लुट गरेर कमायो, सुनचाँदी किनेर थुपार्‍यो अनि बंैकमा ठूलो रकम जम्मा गरेर मेरो यति धनदौलत छ भनी घमण्ड गर्दा लक्ष्मी हाँस्छिन् रे † म हिजो कसका खातामा थिएँ, भोलि कसका खातामा पुग्छु । हेर यो पटमूर्ख भनेर । तर, अहिले चौथो चीज पनि हाँसिरहेछ, त्यो हो– सिहंदरबारको कुर्सी । बाबुराम भट्टराईले भने, म बरु गोली खान तयार छु तर यो कुर्सी छोड्दिन । कांग्रेस–एमालेका नेताहरू कुर्लिए– कुनै पनि हालतमा कठालोमा समातेर सडकमा पछार्छौं । दुवै पक्षले एक अर्कालाई निषेध गरिरहे । कुर्सीका लागि भएको छिनाझपडी, लुछाचँुडी र बलमिच्याइँ देखेर सिंहदरबारको कुर्सी अहिले हाँसिरहेछ– विगतमा यो कुर्सीमा कति बसे, भविश्यमा अझै कति बस्नेछन् । हेर यी बज्रस्वाँठहरू भनेर ।
एक अर्काेलाई निषेध गरिरहेका हाम्रा यिनै नेताहरूको संयुक्त कचहरी हालसालै शीतल निवासमा बस्यो र सर्वसम्मत निर्णय गर्‍यो– प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनुको कुनै विकल्प छैन । लामो भविश्य भएका युवा भावना र अडानको पार्टीभित्र समेत हत्या गर्दै छोटो भविश्य बाँकी भएका नेताहरूले जबर्जस्ती यस्तो सहमति गरे । यो सहमति गर्नुका पछाडि दार्शनिक, सैद्धान्तिक, राजनीतिक र संवैधानिक कुनै पनि आधार छैनन् । संयोग नै भन्नुपर्छ, नेताहरूले यस्तो निर्णय गर्दा हिन्दू नारीहरूको पवित्र अवसर मानिएको स्वस्थानी व्रत चलिहरेछ । हाम्रा नेताहरूले यो अवधिमा स्वस्थानी व्रतकथा गजबले पढेको हुनुपर्छ । त्यसैले प्रचण्ड, सुशील र झलनाथहरूलाई लाग्यो– एउटा अवोधबालक नवराजलाई हात्तीले माला लगाइदिएकै भरमा एकैपटक लावण्य देशको राजा बनाउँदा हुन्छ भने हामीले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन किन नहुने ? प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको माला लगाइदिन हात्तीको भूमिका निर्वाहका लागि राष्ट्रपति रामवरण यादव तयार छँदै छन् ।
यो स्वस्थानीवादमा आधारित आफ्नो निर्णयलाई पुष्टि गर्न ठूला भनिएका चार दलका नेताहरूले तर्क गरिरहेका छन्– राजनीतिक निकास दिनका लागि हामी यो निर्णय गर्न बाध्य भएका हौँ । तर, नेताका हैसियतमा तिमीले गरेका यस्ता तर्क विवेकहीन मात्र होइन, अनैतिकसमेत छन् । अर्को अचम्म, कम्युनिस्ट पार्टीहरूको दबदबामा यस्तो गैरराजनीतिक निर्णय भएको छ । उनीहरूका गुरु कार्ल माक्र्सले भनेका छन– ‘लक्ष्यले साधानको औचित्यलाई पुष्टि गर्न सक्नुपर्छ । यदि तिम्रो लक्ष्यले अस्वाभाविक र पुष्टि गर्न नसकिने साधानको माग गर्छ भने तिम्रो लक्ष्य नै गलत छ’ । हाम्रा नेताहरूले ठानेका छन् ज्ञान र बुद्धि उनीहरूसँग मात्र छ र हुनुपर्छ । आम नेपालीको काम उनीहरूका कुतर्क चुपचाप सुनेर पत्याइदिनु मात्र हो । तर, नेताहरू हो ख्याल राख, गलत बाटोबाट सही गन्तव्यमा पुग्न सकिँदैन । तसर्थ, राजनीतिक संकटको समाधान राजनीतिक तथा सैद्धान्तिक रूपमै गरिनुपर्छ, प्राविधिक, प्रशासनिक वा शिल्पी चेतनाको सहारा लिएर सम्भव हुँदैन । समग्रमा भन्दा अहिले नेपाली राजनीतिमा रणनीतिक विचलन देखापरेको छ ।
प्रेम गर्न आतुर युवकले आफ्नो ठेगानामा कुनै युवतीले पठाएको पत्र फेला पारे जस्तो गरी सत्ता हात परेको महसुस गर्ने हाम्रा नेताहरू अत्यन्त गहिरो राजनीतिक संकटका बेला स्वतन्त्र व्यक्ति वा न्यायिक क्षेत्रबाट समाधान खोज्न थालेका छन् । यसको अर्थ राजनीतिक नेतृत्व समस्याबाट भाग्नुसिवाय केही हुन सक्तैन । कुनै पनि राजनीतिक नेतृत्व राजनीतिक संकटबाट भागेर गन्तव्यमा पुगेको इतिहास छैन । राजनीतिक संकटको समाधान जनाधारविनाको गैरराजनीतिक विकल्पबाट सम्भव देख्नु राजनीतिक बाँझोपनाको ज्वलन्त उपज हो । यही राजनीतिक बाँझोपनाले संकटको सामना गर्ने होइन, संकटलाई छल्ने बुद्धि राजनीतिक नेतृत्वमा झाँगिएको छ । परिणाम स्वरूप, लामो समयदेखि सिंगो देश नेताहरूका साह्रा सिल्ली कुरा र निरर्थक भलाकुसारीमा सहभागी हुनु परिरहेछ । दु:खका साथ भन्नै पर्छ– नेताहरूका यस्ता हर्कतले देशलाई नोक्सानी मात्र पुर्‍याएको छैन, प्रशस्त खराबीसमेत निम्त्याइरहेछ ।
अहिले देश संवैधानिक शून्यतामा छ । यस्तो बेला राजनीतिक नेतृत्वले विश्वासको सिद्धान्तलाई अवलम्बन गर्नुपथ्र्यो । विश्वासिलो नेतृत्व रणनीति र चरित्रको बलियो समिश्रणबाट तयार हुन्छ । विश्वास आर्जन गर्नका लागि नेताले योग्यता, सम्बन्ध र चरित्रको उदाहरणीय गुण देखाउन सक्नुपर्छ । नेताका इमान्दार गल्तीलाई जनताले सहन सक्छन, तर उनीहरूको विश्वासमाथि घात गरियो भने फेरि विश्वास जित्न असम्भव हुन्छ । हाम्रा नेताहरूका सामुन्ने सही निर्णय गरेर, गल्तीलाई स्वीकार गरेर, आफ्ना निजी स्वार्थभन्दा मुलुकको हितलाई पहिलो प्राथमिकता दिएर विश्वास आर्जन गर्ने सम्भावना र अवसर दुवै अझै छन् । चरित्रले विश्वासलाई सम्भव तुल्याउँछ र विश्वासले संकट मोचनलाई सम्भव बनाउँछ । कुनै पनि संवैधानिक बाटो नभएको वर्तमान नेपाली राजनीतिक परिदृश्यमा संकट मोचनका लागि विश्वास आर्जन गर्नु नै राजनीतिक नेतृत्वको एक मात्र अचुक वाण हो । सफल नेता त्यो हो जसले अरूले भन्दा धेरै देख्छ, अरूले भन्दा टाढासम्म देख्छ र अरूले भन्दा चाँडै देख्छ । र, अत्यन्त कठिन परिस्थितिमा पनि कमभन्दा कम क्षतिमा गन्तव्यतर्फको यात्रा जारी राख्न सक्षम हुन्छ । त्यसैले अहिले प्रशासकको होइन देशलाई सक्षम राजनीतिक नेतृत्वको खाँचो छ । हाम्रा राजनीतिक दलहरूमा सिकाइ अपांगता छ । अरूलाई दोष लगाएर उम्कन खोज्नु घटनाबाट कहिल्यै पनि पाठ सिक्न तयार नहुने अवस्था हो । वर्तमान राजनीतिक नेता तथा दलहरूमा यही रोग असाध्य बनेको छ ।
तसर्थ, विगतबाट पाठ सिक्न नेताहरूलाई आग्रह गर्दै म यहाँ सन्निकट इतिहास सम्झाउन चाहन्छु । मैले पहिलोपटक ०६१ साल माघ १९ गतेपछि सिंहदरबारको कुर्सी खिस्स हाँसेको देखेको थिएँ । त्यतिबेला नारायणहिटीको कुर्सीले नपुगरे तत्कालीन राजा ज्ञानेन्द्रले सिंहदरबारको कुर्सी पनि ताकेका थिए । जसको परिणाम ०६३ सालमा राजतन्त्र समाप्त भयो । अहिले फेरि सिंहदरबारको कुर्सी खिस्स हाँस्दै छ– सर्वोच्च न्यायालयको सर्वोच्च कुर्सीले नपुगरे श्रीमान् खिलराज सिंहदरबारको कुर्सी ताकिरहेका छन् । यस घटनाले मुलुकमाथि ल्याउने अनिष्ट भयानक छ– सर्वोच्च न्यायालयको स्वच्छता र लोकतान्त्रिक राज्य व्यवस्थामा शक्ति सन्तुलनको आधारभूत सर्त शक्तिपृथकीकरण सिद्धान्तको अवसान । ०६१ साल र ०६९ सालका यी दुईवटा घटना एकै प्रकृतिका जस्ता लागे पनि परिणाम ठीकविपरीत छ । पहिलो घटना राजतन्त्रको समाप्ति नेपाली जनाताका लागि सुखान्त थियो तर न्यायालयको स्वच्छताको सम्भावित अवसान र असन्तुलित राज्यशक्ति नेपाली जनताका लागि अति पीडादायी र दु:खान्त भविष्य बन्नेछ ।

प्रतिक्रिया