जेलभित्र पनि खुमबहादुर बिन्दास

Khum-Bahadur-Khadkaकाठमाडौं, १३ फागुन । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएर डेढ वर्षको जेल सजाय सुनाइएका कांग्रेस नेता खुमबहादुर खड्का सदरखोर डिल्लीबजारभित्र आरामले सजाय भुक्तानी गरिरहेका छन् । जेलभित्र उनलाई कुनै छट्पटी छैन, न छ कुनै चिजको अभाव ।

खड्काको हुलिया अहिले पनि कैदीजस्तो नभएर नेताकै जस्तो छ । नियमित दाह्री काटेर सफाचट हुन्छन् । मैलाधैला लुगा लगाउँदैनन् । आफूले कुनै काम गर्दैनन् । निजी कामका लागि एक जना बन्दीको सहयोग लिइरहेका छन् । खड्कालाई खाना पकाउने र लुगा धोइदिने काम उनैले गर्छन् । त्यसबाट खड्काले केही रकम दिने गरेका छन् ।
उनलाई राखिएको कोठाभित्र केबुलसहितको टेलिभिजन र
पत्रपत्रिकाको सुविधा छ । टेलिभिजनमा नेपाली, हिन्दी र अंग्रेजी समाचार हेर्ने गरेको उनले बताए । यस्तै साँझ बिहान पत्रपत्रिका पढेर बिताउँछन् । जेलभित्र आएर पनि आफ्नो दैनिकी खासै नफेरिएको उनको भनाइ छ । जेलभित्रका अन्य कैदी र कर्मचारीले उनलाई ‘मन्त्रिज्यू’ भनेर नमस्कार गर्छन् । मौका पाउनासाथ उनी राजनीतिक गफ दिन थाल्छन् ।
सोही जेल उस्तै प्रकृतिको सजाय भोगिरहेका अर्का नेता जयप्रकाश गुप्तासित खड्काको दोस्ती जमेको छ । कुनै समय उनीहरू एउटै पार्टीभित्र राजनीति गर्थे । ‘नियतीले हामी दुवैलाई एउटै मुद्दा लागेको छ,’ खड्काले भने, ‘एउटै जेलभित्र हुँदा सजिलो पनि भएको छ ।’ आफूहरूबीच राजनीतिक विषयमा छलफल भइरहने उनले सुनाए । ‘वर्तमान राजनीतिको बारेमा निरन्तर कुरा गर्छौ,’ उनी भन्छन् ।
दिनहुँजसो खड्कालाई भेट्न आउनेहरूको भिड लागिरहेको हुन्छ । त्यसमा अधिकांश कांग्रेस कार्यकर्ता हुन्छन् । कांग्रेसका सबैजसो नेताले उनलाई जेलमा आएर भेटिसकेका छन् । तर, सभापति सुशील कोइरालाले भने अहिलेसम्म भेटेका छैनन् ।
‘जेलमा मलाई भेट्न पार्टीका सबैजसो नेता कार्यकर्ता आए । तर, अहिलेसम्म पार्टी अध्यक्ष सुशील कोइराला आउनुभएन,’ उनले भने, ‘किन आउनुभएन उहाँलाई नै थाहा होला । यसमा मेरो कुनै गुनासो छैन ।’
यतिबेला जेलमा बस्दा बाहिर बस्नेभन्दा आफू पो ठीक हुँ कि भन्ने लाग्ने गरेको खड्काले सुनाए । ‘देश नै डुवाउने खेलमा नेताहरू लाग्दै छन्,’ उनले भने, ‘म त्यो धब्बाबाट बचे जस्तो लाग्छ ।’
आफ्नो सम्पत्तिको स्रोत खुलाउन नसकेपछि खड्कालाई सर्वोच्चले गत ३० साउनमा भ्रष्टाचारी ठहर गरेको थियो । उनलाइ डेढ वर्ष कैदका साथै ९४ लाख १४ हजार एक सय २२ रुपिया र सो बराबरको जरिवाना असुल गर्नेसमेत फैसला सर्वोच्चले गरेको थियो । खड्का विगतमा पटक–पटक मन्त्री हुँदा अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुछिएका थिए । खड्काले पदको दुरुपयोग गरी दुई करोड ३६ लाख ८७ हजार रुपियाँ बराबरको सम्पत्ति आर्जन गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०५९ साल कात्तिक ४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, मुद्दामा विशेष अदालतले खड्कालाई सफाई दिएपछि अख्तियारले ०६३ साल चैत १५ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

पिर, सुर्ता केही छैन
खुमबहादुर खड्का

करिब सात महिनाअघि सर्वोच्चमा मेरो भ्रष्टाचारको मुद्दामा सुनवाइ हँुदै थियो । फैसला सुन्न अदालत गएँ । चाहेको भए भागेर हिँड्न सक्थेँ । तर, त्यसो गरिनँ, किनकि मलाई एक इन्च पनि लागेको थिएन, विपक्षमा फैसला होला भन्ने । फाइलमा जे थियो त्यहीअनुसार फैसला भएको भए मैले मुद्दा जित्ने थिएँ । तर, त्यसो भएन । अनेक शब्दहरू तानतुन गरेर मलाई भ्रष्टाचारी सावित गरियो । मलाई यहाँ पुर्‍याउनेमा अरू पार्टीका त
धेरै थिए नै आफ्नै पार्टीका मान्छेको पनि हात छ ।
फैसलापछि अदालतबाट सिधै डिल्लीबजार ल्याइने थाहा हुनेबित्तिकै घरबाट आवश्यक सामान मगाएँ । बेलुकी चार बजेको थियो फैसला हुँदा । अदालतबाट सोझै यहीँ ल्याए । मान्छेलाई लाग्यो होला, राजनीति गरेको र पटक–पटक मन्त्री भएको मान्छे भ्रष्टाचारको आरोपमा जेल पर्दा रातभरि चिन्ता र सुर्ताले निदाएन होला भन्ने । तर, मलाई त्यस्तो केही भएन । सधैँझैँ त्यो रात पनि नौ बजे नै निदाएँ ।
परिवारलाई सम्झनु स्वाभाविकै हो । त्यो त भावनात्मक कुरा भयो । तर, मलाई अब जेल परँे, सबै कुरा खत्तम सकियो, परिवारले के गर्लान् भन्ने चिन्ता भने थिएन । कहिले पनि पारिवारिक काममा मैले सहयोग नगरेकाले त्यस्तो लागेको होला । दुई छाक खानका लागि भ्रष्टाचार गर्नुपर्ने परिवार होइन मेरो । बाबुबाजेको सम्पत्तिले खान–लाउन पुग्छ ।
जेल परेको दोस्रो दिन श्रीमती भेट्न आइन् । उनलाई देख्दा म कत्ति पनि भावुक भइनँ । सामान्य लाग्यो । उनले पनि सामान्य रूपमै लिइन् । उनीसँग मेरो प्रेमविवाह भएको हो । बाहुनको छोरी बिहे गरेको थिएँ । बिहे गरेको तीन दिनमै जेल परेँ । त्यसैले म जेल पर्नु उनका लागि नौलो कुरै थिएन । अहिले प्रत्येक शनिबार श्रीमती भेट्न आउँछिन् । शनिबार भिडभाड अलि कम हुन्छ ।
जेलभित्र पनि मेरो दैनिकी उस्तै छ, जो जेलबाहिर थियो । बिहान चार बजे उठ्छु । नित्यकर्मपछि हरेक दिन नुहाउँछु । दैनिक आधा घन्टा पूजामा बिताउँछु । एकछिन जेलको वरिपरि घुम्छु । आधा घन्टा प्राणायाम गरेर बिताउँछु । दाह्री सधैँ काट्छु । कोठामा एउटा टेलिभिजन छ । नेपाली, हिन्दी र अंग्रेजी समाचार हेर्छु । साँझ बिहान पत्रपत्रिका पढ्ने गर्छु ।
जीवनमा धेरैपटक जेल परेँ, अनेकौँ मुद्दा खेपेँ । बाँकी यही भ्रष्टाचारको थियो, यो पनि खेप्दै छु । चोरी, डकैती, हातहतियार खरखजाना, आगजनी, राजकाजलगायतको मुद्दामा पटकपटक जेल परेकै हुँ । त्यसैले मलाई जेल नौलो र अनौठो लागेको छैन । कुनै बेला जन्मकैदको सजायसमेत पाएको थिएँ ।
स्कुल पढ्दादेखि नै राजनीति गरेका कारण जेल परेँ । पार्टीका लागि धेरै योगदान गरेँ । तर, पार्टीले मेरा लागि केही गरेन । आफ्नो एउटा कार्यकर्तालाई अप्ठेरो पर्दा पार्टीले सहयोग गर्नुपथ्र्यो, गरेन । त्यसमा मलाई साह्रै दु:ख लागेको छ । पार्टीले चाहेको भए केही सहयोग गर्नसक्ने ठाउँ थियो ।
दिनमा कति भेट्न आउँछन्, गिन्ती नै हुँदैन । यस्तै दुईतीन सय जति हुन्छन् होला । भेट्न आउनेसँग पनि वर्तमान राजनीतिकै बारेमा कुरा हुन्छ । जीवनमा राजनीतिबाहेक केही गरिनँ । त्यसैले कुरा पनि राजनीतिका बाहेक केही हुँदैन ।
जेलले दिएको खानाको सुविधा लिएको छु । सुगर, प्रेसरजस्ता रोग छन् । त्यसैले बिहान उसिनेको चामलको भात र तरकारी खान्छु । साँझ रोटी खान्छु । जेलभित्र रहेको पसलमा यहाँको चामल साट्ने गरेको छु । हप्तामा एक दिन दाल खान्छु । तरकारी, मासु र फलफूल किन्नु पर्दैन । भेट्न आउनेले ल्याउँछन्, त्यसैले पुग्छ ।
यहाँ भित्र सबैले चिन्छन् मलाई । व्यवहार राम्रै छ । मन्त्रीज्यू, नेताज्यू जस्ता शब्दले सम्बोधन गर्छन् । प्रशासनको व्यवहार पनि राम्रो छ । सधैँ लगाउने खाने कुरामा उही जीवनशैली छ, कुनै परिवर्तन छैन ।
लामो समय गृहमन्त्री भएँ । चारजना आइजिपीसँग काम गरेँ । उनीहरूले भनून्, कसैसँग मैले केही मागेको भए । मलाई भ्रष्टाचारी बनाउन लाग्नेहरूको हालत देखिँदै छ सरकारमा बसेर केके गर्दै छन् भनेर । हिसिला यमीले भन्थिन्, ‘भ्रष्टाचारीलाई कारबाही गर्‍यौँ तर उनको हालत जनताले बुझ्दै छन् ।
मलाई जेल परेकोमा कुनै आत्मग्लानि छैन । राजनीतिक जीवनमा केही धब्बा लागेकोमा भने अलिकति दु:ख लागेको छ । यहाँबाट निस्केपछि ती सबै दागहरू निमट्यान्न पार्नेछु । हिजोका दिनमा म कोहीसँग धक मान्थेँ होला, अब कसैसँग धक मान्नुपर्ने वा गुलामी गर्नु जरुरी छैन । निस्फिक्री राजनीति गर्छु ।
धेरैलाई लागेको थियो । मंसिर १४ मा निर्वाचन हुन्छ, खुमबहादुरलाई यही बेला सकाउनुपर्छ भन्ने । तर, निर्वाचन भएन । धेरैलाई थाहा थियो, बाहिरै छाडेर मलाई रोक्न सकिँदैन भन्ने, त्यसैले यहाँ ल्याए । उनीहरूको सपना साकार हुन पाएन । मलाई जेठमा पनि निर्वाचन होला भन्नेमा विश्वास छैन ।

प्रतिक्रिया