बेलायतले भारतलाई हिरा नफर्काउने

Hiraनयाँदिल्ली : तीन दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बेलायतको स्वामित्वमा रहेको भनिएको भारतीय हिरा नफर्काउने बताएका छन् । संसारकै सबैभन्दा ठूलो हिरामा गनिने एक सय पाँच क्यारेटको कोहिनुर हिरा बेलायतले फर्काउनुपर्ने प्रसंग उठेपछि क्यामरुनले अस्वीकार गरेको बिबिसीले जनाएको छ ।
भारतमा बेलायती उपनिवेश रहेका बेला १९औँ शताब्दीमा कोहिनुर हिरा भारतबाट बेलायत पुर्‍याइएको थियो । बेलायती महारानीको राजमुकुट सजाउन प्रयोग गरिएको सो हिरा अहिले लन्डन टावरमा राखिएको छ । यसअघि पनि भारतका गण्यमान्य व्यक्तिले पटकपटक हिरा फर्काउन बेलायतसँग आग्रह गरेका थिए । महात्मा गान्धीका नातिलगायत कैयौँले यस्तो आग्रह गरे पनि बेलायतले अस्वीकार गर्दै आएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री क्यामरुनसँग यस विषयमा जिज्ञासा राख्दा उनले भने, ‘मलाई लाग्दैन कि यो(हिरा फिर्ता माग्नु) सही कुरा हो । ग्रीसको एलगिन संगमरमरबारे पनि यस्तै विवाद छ । यस्ता वस्तु फिर्ता गर्नुपर्छ भन्ने मान्यतामा मलाई पटक्कै विश्वास छैन । र, यस्तो कुरा उठाउनु सुझबुझपूर्ण हो जस्तो पनि मलाई लाग्दैन ।’ स्मरण रहोस्, ग्रिसमा ढुंगाबाट बनाइएका मुर्ति पनि यसरी नै बेलायत लगिएको थियो । ग्रिसले पटकपटक मुर्ति फिर्ता गर्न माग गर्दै आएको भए पनि बेलायतले अस्वीकार गर्दै आएको छ ।
प्रधानमन्त्री क्यामरुनले बेलायती संग्राहलय र सांस्कृतिक संस्थाले वर्षौदेखि यस्ता वस्तु जोगाएर राखेको बताए । ‘संसारभरका मानिसको सुबिधाका लागि त्यस्ता ऐतिहासिक वस्तु संग्राहलय र सांस्कृतिक संस्थामा जोगाएर राखिएको छ,’ उनले भने । पुराना कुरामा अल्झिएर अघि बढ्न नसकिने जिकिर गर्दै उनले भने, ‘पुराना कुरामा अल्झिनुभन्दा अहिले र आगामी दिनमा भारत र बेलायतबीच कस्तो सम्बन्ध बन्नुपर्छ भन्नेतर्फ हामीले चिन्तन गर्नुपर्छ ।’
बेलायती उपनिवेशका बेला भारतका तत्कालीन गभर्नर जनरलले सन् १८५० मा भारतको कोहिनुर हिरा उपहार स्वरूप बेलायती महारानीसमक्ष बुझाएका थिए । पछि सो हिरा महारानी एलिजाबेथ प्रथमको राजमुकुटमा सजाउन प्रयोग गरिएको थियो । महारानी एलिजाबेथ द्वितीयले भारत स्वतन्त्र भएको ५० वर्ष पूरा भएको अवसरमा सन् १९९७ मा भारत भ्रमण गर्दा कैयौँ भारतीयले कोहिनुर हिरा फिर्ता गर्न महारानीसँग माग गरेका थिए । तर, बेलायत सरकारले त्यतिबेला पनि हिरा फिर्ता गर्न अस्वीकार गरेको थियो । (एजेन्सी)

प्रतिक्रिया