हल्ला मच्चाएपछि साउन्ड सिस्टमै उठायो प्रहरीले

राजविराज, ११ फागुन । सप्तरी प्रहरीले राजविराजस्थित राजदेवी चोकबाट दीपक टेन्ट एन्ड डिजे साउन्ड सिस्टमका सम्पूर्ण सामग्रीसहित चार जनालाई नियन्त्रणमा लिएको छ । ध्वनि प्रदूषण गरी स्थानीयवासीको स्वास्थ्य र शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै प्रहरीले साउन्ड सिस्टमका सामग्री तथा व्यक्तिसहितलाई बुधबार राति नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा नेंगडाका चन्दनकुमार यादव, खोक्सर–८ का अमितकुमार यादव, दिघवा–८ का चन्दन यादव र सिरहाको हर्दिया–२ का शिवनारायण साह छन् । उनीहरूसँगै स १ त ५११ नं. को मिनी ट्रक र अन्य सामग्रीसमेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
ध्वनि प्रदूषण कारण स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै स्थानीयवासीको गुनासो बढेपछि प्रहरीले ध्वनि प्रदूषण नगर्न सञ्चालकलाई आग्रह गरेको थियो । आग्रहलाई बेवास्ता गरेपछि स्थानीय भोला साहद्वारा सञ्चालित साउन्ड सिस्टमका सामग्री नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता कुशबहादुर थापाले बताए । डिजे साउन्डको आडमा शान्ति सुरक्षामा खलल पुर्‍याउने खालका क्रियाकलापसमेत हुन सक्ने सम्भावनालाई मध्यनजर गरी नियन्त्रण अभियानसमेत सुरु गरेको थापाको भनाइ छ ।
प्रहरीले डिजे नियन्त्रण अभियान थालेकोमा सर्वसाधारण हर्षित भएका छन् । ‘कुनै विवाह वा चाड पर्व आउनासाथ डराउनुपर्ने अवस्था छ,’ स्थानीय प्रवेशकुमार यादवले भने, ‘बालबच्चा र वृद्धवृद्धालाई त यसले हैरानै पारेको छ, यसलाई बन्द गराउन सके प्रहरीको सक्रियता देखिन्छ ।’
दुई वर्षअघि जिल्ला अदालत राजविराजले समेत ध्वनि प्रदूषण नियन्त्रणका लागि आदेश दिइसकेको जानकारी दिँदै सप्तरी प्रहरीका एसपी सञ्जयसिंह बस्नेतले सर्वसाधारणको स्वास्थ्य र शान्तिसुरक्षाका लागि प्रहरीले यस्तो कदम उठाएको बताए ।

प्रतिक्रिया