तीन दिदीबहिनीको बलात्कारपछि हत्या

मुम्बई : भारतको मुम्बईमा तीनजना दिदीबहिनीको बलात्कारपछि हत्या भएको छ । पश्चिम भारतको एक ग्रामीण इलाकामा सो दर्दनाक घटना भएको भारतीय सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।
मृतकहरूमाथि हत्या गरिनुअघि बलात्कार भएको प्रमाण फेला परेको प्रहरीले जनाएको छ । बलात्कारपछि गाडिएको अवस्थामा प्रहरीले तीनवटै शव फेला पारेको जनाइएको छ ।
मृत बालिकाहरू ६ देखि ११ वर्ष उमेरका रहेको प्रहरीले जनाएको छ । ती स्कुले छात्रा विद्यालयबाट घर फर्किंदै गरेको अवस्थामा गत फेब्रुअरी १४ देखि हराएका थिए । उनीहरूको खोजी कार्य जारी राखेको प्रहरीले गत साता मात्र गाडिएको अवस्थामा उनीहरूको शव फेला पारेको हो । महाराष्ट्र राज्यको बहान्दा जिल्लामा शव फेला परेको प्रहरीले जनाएको छ । सबै बालिकाको शव विद्यालयको पोसाक, झोला र खाजाको बट्टासहित भेटिएको थियो । पोस्टमार्टमपछि उनीहरूमाथि बलात्कार भएको पुष्टि भएको प्रहरीको भनाइ छ ।
घटनाबारे प्रहरीले अनुसन्धान जारी राखे पनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा चारजना संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको तर उनीहरू दोषी किटान भने नभइसकेको प्रहरीले जनाएको छ । गत डिसेम्बरमा भारतको नयाँदिल्लीमा एक २३ वर्षीया युवतीमाथिको बलात्कार र हत्याका कारण देशव्यापी रूपमा बलात्कारको चर्को विरोध भएको थियो । त्यसपछि भारत सरकारले बलात्कारीलाई त्यसको प्रकृति हेरेर मृत्युदण्डको कारबाही पनि हुनसक्ने कानुन बनाएको छ । तैपनि, भारतमा बलात्कारका घटनामा कमी आएको छैन । (एएफपी)

प्रतिक्रिया