भारतमा मजदुरको हडताल

Indiaनयाँदिल्ली : भारतका दसाँलाख मजदुरले बुधबारदेखि दुईदिने मजदुर आन्दोलन आरम्भ गरेका छन् । आन्दोलनका क्रममा उनीहरूले बुधबार आफ्ना दैनिक काम बन्द गरे, जसले गर्दा भारतका उद्योग तथा कलकारखाना ठप्प भए ।
सरकारले मजदुरविरोधी नीति अख्तियार गरेको भन्दै भारतका सबैजसो ट्रेड युनियनले दुईदिने आन्दोलन घोषणा गरेका हुन् । भारत सरकारले बढ्दो महँगी रोक्न नसकेको, पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको तथा बजार सुधारका नाममा विगत केही वर्षदेखि ट्रेड युनियनविरोधी नीति अख्तियार गरेको भन्दै मजदुर आन्दोलन सुरु भएको हो ।
भारतका सबै ११ श्रम संगठनले उद्योग धन्दाका साथै आर्थिक क्रियाकलाप बन्दको आह्वान गरेका हुन् । यसबाट भारतको आर्थिक क्रियाकलापमा ठूलो धक्का पुगेको छ । भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले भारतका सम्पूर्ण श्रम संगठनलाई आन्दोलनका कार्यक्रम फिर्ता गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री बन्द र हड्तालले बिग्रिरहेको देशको अर्थतन्त्रलाई झन् बिगार्ने भन्दै हड्ताल फिर्ता लिन आग्रह गरे । गत सातादेखि नै मजदुरहरूले आन्दोलन सञ्चालन गर्दै आएका छन् । सरकारले वार्ताका लागि आह्वान गरेबमोजिम वार्ता सुरु भएको थियो । तर, श्रमिकहरूले राखेका माग सरकारले पूरा गर्न नसकेको भन्दै उनीहरूले दुई दिने आम हड्ताल गरेका हुन् । प्रधानमन्त्री सिंहले सबै ट्रेड युनियनसँग वार्ता गरेर समस्या समाधान गर्ने सरकार तयार रहेको बताएका छन् । तर, ट्रेड युनियनहरूले भने यसअघि आफूहरूले पर्याप्त मात्रामा वार्ताको समय दिएको तर सरकारले वास्ता नगरेकाले आन्दोलन गर्नुपर्ने बाध्यता आएको बताएका छन् । (एएफपी)

प्रतिक्रिया