दोलखा,९ फागुन । गौरीशंकर संरक्षण क्षेत्रले शुल्क लिन थालेपछि सगरमाथा जाने पैदल यात्री पर्यटकको संख्या दिन प्रतिदिन घट्दै गएको छ । सगमाथा जाने पर्यटकहर कमी आएपछि बाटो पर्ने दोलखा, रामेछाप र सोलुखुम्बुका होटल यतिखेर सुनसान बन्न पुगेका छन् ।
सगरमाथा जाने पर्यटक पर्यटन बोर्डमा शुल्क तिरेर आएपछि आफ्नो क्षेत्रमा प्रवेश गरेको भन्दै गौरीशंकर संरक्षण क्षेत्रले तेस्रो मुलुकका पर्यटकसँग २ हजारका दरले शुल्क लिने गरेपछि पैदल यात्री पर्यटकको संख्या घट्न थालेको हो । ‘पहिला पर्यटक आउने जाने क्रम राम्रै थियो’ देउरालीका होटल व्यवसायी निमतेन्जिङ शेर्पाले भने, ‘सगरमाथा जाने पर्यटकसँग संरक्षण क्षेत्रले शुल्क लिन थालेपछि पर्यटक घटेका हुन् ।’
सगरमाथा जाने पदमार्गअन्तर्गत शिवालयदेखि देउरालीसम्म दुई घन्टाको यात्रा गर्नु पर्छ । दुई घन्टाको बाटोमा दुई हजार लिन थालेपछि पर्यटकमा नकारात्मक सन्देश गएको होटल व्यवसायी बताउँछन् । शिवालय र देउराली रामेछापको चुचुरे गाविसमा पर्छ । चुचुरे गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्छ ।
सगरमाथा क्षेत्रमा जाने पैदल जाने पर्यटक जि रीबाट यात्रा सुरु गर्छन् । जिरीबाट सुरु हुने पदैल मार्ग माली, शिवालय देउराली हुँदै बाम्ती भण्डारबाट सोलु पुग्न सकिन्छ । ती पर्यटक लक्षित गरी खुलेका होटलसमेत पर्यटक नहुँदा सुनसान भएका छन् । बाम्ती भण्डार र देउरालीसम्म सोझै काठमाडौंबाट बस सेवासमेत सञ्चालनमा छ । बाम्ती भण्डारसम्म ठोसे लाप्चाने तथा शिवालय देउराली हँुदै जाने दुईवटा सडक तयार भएका छन् ।
गौरीशंकर संरक्षण क्षेत्रले चेकपोस्ट राखेर शुल्क लिन थालेपछि आफ्नो व्यवसाय घटेको भन्दै स्थानीय होटल व्यवसायीले पटकपटक आन्दोलन गरेर चेक पोस्ट नै बन्द गराउँदै आएका छन् । पछिल्लोपटक स्थानीयले बोर्ड फालेर चेक पोस्ट बन्द गराएपछि सगरमाथा जाने पर्यटकसँग शुल्क नलिने गरी संरक्षण क्षेत्रको कार्यालय खुलेको थियो । पर्यटन व्यवसायसँग सम्बन्धित संघ/संस्थाले समन्वय नगरी संरक्षण क्षेत्रले शुुल्क लिन नपाउने स्थानीयको सर्त रहेको छ ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले संरक्षण क्षेत्रले यसअघि पर्यटकसँग शुल्क लिए पनि स्थानीयले आन्दोलन गरेपछि बन्द गरिएको बताए । शुल्क उठाएर होइन पर्यटक आउने अफ सिजन भएकाले पर्यटक घटेको आयोजना प्रमुख शाहको भनाइ छ । पर्यटन विकास प्रवद्र्धनका लागि संरक्षण क्षेत्रले अभियानै चलाई होटल व्यवसायीका लागिसमते थप अभिमुखीकरण होटल व्यवस्थापनको तालिम गराउने गरेका शाह बताउँछन् ।
शुल्क हटाउनु पर्ने वा संरक्षण क्षेत्र नपर्ने गरी नजिकैबाट अर्को पैदलमार्ग खोल्नु पर्ने पर्यटन व्यवसायीको माग छ । जिरी उद्योग वाणिज्य संघले यसअघि संरक्षण क्षेत्रको ध्यानाकार्षणसमेत गराएको थियो । ट्राभल एजेन्सी एसोसिएसनले समेत संरक्षण क्षेत्रलाई सगरमाथा जाने पर्यटकसँग दोहोरो शुल्क नलिन माग गर्दे आएको छ ।
प्रतिक्रिया