दलीय पद्धतिमाथिको घात

दलीय व्यवस्थामा मुलुकको राजनीतिक दलहरूकै अधीनमा रहन्छ । दलहरूकै सहमति, सहकार्य र मेलमिलापबाट दलीय व्यवस्था फस्टाउनुका साथै दिगो वातावरण बन्छ । प्रजातन्त्र वा लोकतन्त्रको सफलता वा असफलताको जस अथवा अपजस पनि दलहरूकै भागमा पर्छ । नेपालमा दलीय व्यवस्था स्थापनाका लागि जनताले निकै ठुल्ठूला संघर्ष र जनआन्दोलन सम्पन्न गरे । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र वा अन्य जुनसुकै तन्त्र होस्, नेपाली जनताले दलीय व्यवस्था नै रुचाएका थिए । तर, दलका नेताहरूको असफलता र दलीय व्यवस्था प्रतिकूलको आचरणले गर्दा बेलाबखत यो व्यवस्था अपहरणमा पर्ने गरेको छ । लोकतन्त्रको मूल्य, मान्यता र पद्धतिप्रति नेताहरू नै असहिष्णु बनेपछि दलीय व्यवस्था चोटग्रस्त बन्दै असफल हुने क्रममा अग्रसर हुन्छ । अहिले गणतन्त्र आइसकेपछि पनि दलीय व्यवस्थालाई असफल बनाउने भगिरथ प्रयत्न भइरहेको छ । यही प्रयत्नस्वरूप दल बाहिरबाट चुनावी सरकार बनाउने अवधारणा ल्याइयो र प्रारूप दिने काम गरियो । यसले आउने दिनमा दलीय व्यवस्थालाई चुनौती दिन सक्छ । जनतामा रहेको दलहरूप्रतिको विश्वासमा आँच आउने र दलीय व्यवस्थाप्रति नै वितृष्णा जगाउने काम हुँदै छ । यो सबै हुनुमा दलका नेताहरू दोषी छन् । यदि, उनीहरूले आफूलाई बेलैमा सच्याएर दलीय व्यवस्थालाई सुदृढ पार्ने काम गर्दैनन् भने लोकतन्त्र धरापमा पर्न सक्छ । यसतर्फ अत्यन्तै गम्भीर बन्न जरुरी छ ।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनिसकेपछि विदेशबाट नेपालको राजनीति बढी नै प्रभावित भयो । मित्र राष्ट्र भारतको विश्वास पात्रका रूपमा सुपरिचित डा. भट्टराई उतैको इसारामा मानसिक रूपले सत्ता कब्जा गर्न व्यग्र रहे । दलीयपद्धति र सार्वभौम मुलुकको गरिमा ध्वस्त पार्न भट्टराईले निकृष्ट कार्य पनि गरे । सत्ताको साँचो, बिप्पा सम्झौता, जुवा जस्ता पदीय गरिमा विपरीतका काम र कुरा गर्दै हिँड्ने भट्टराईको जिद्दी र बालहठका कारण दलहरूको औचित्य समाप्त हुने अवस्था देखिँदै गएको छ । आफू प्रधानमन्त्रीबाट हट्नु परेपछि बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने हठले गर्दा डा. भट्टराई दलीय व्यवस्था समाप्त पार्ने सोचबाट ग्रस्त थिए भन्न सकिन्छ । यसै पेरिफेरिमा रहेर हेर्दा संविधानसभाको विघटन गर्न मद्दत पुर्‍याउने प्रधानन्यायाधीश र विघटन गर्ने प्रधानमन्त्री अहिले चर्चामा छन् । दुवैका विषयमा गम्भीर शंका उत्पन्न हुँदै छ । दलहरू असफल भएको सन्देश दिन विभिन्न कोणबाट खेल भइरहेको थियो भन्ने पोल पनि खुल्दै गएको छ । पछिल्लो समयमा दलीय व्यवस्था विरोधी भट्टराई सोच हावी हुनु, र प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव एउटा दलको महाधिवेशनबाट पारित हुनु, दलीय व्यवस्था र दलहरू असफल हुनु नै हो । विदेशीको इसारामा दलीय व्यवस्था समाप्त पार्ने र मुलुकमा संकट बढाउने कार्य तीव्रगतिमा भइरहेको छ । यस प्रकृतिका गतिविधि नरोक्ने हो भने दलीय व्यवस्थाको अवशान हुन सक्छ ।
अहिले शक्तिपृथकीकरणको विश्वव्यापी मान्यताविपरीत प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको कार्यकारी पदमा आसीन गराउनु भनेको लोकतान्त्रिक मूल्य, मान्यताविपरीत मुलुकलाई गैरदलीय सत्ताको अभ्यासमा लैजानु हो । यसले नयाँखाले संक्रमणको विकास गर्नेछ । आज प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने भएपछि भोलि उनी असफल हुँदा प्रधानसेनापतिको पालो आउन सक्छ । दलीय व्यवस्था असफल बनाउनेतर्फ यसरी एमाओवादी लागेपछि प्रतिपक्षीहरूले त्यसलाई रोक्न सक्नुपथ्र्यो । तर, उनीहरू पनि प्रधानन्यायाधीशलाई नै प्रधानमन्त्री बनाउने पक्षमा उभिएपछि मुलुकमा दल र दलीय व्यवस्था शंकाको घेरामा परेको छ । यसरी हेर्दा लोकतान्त्रिक दलीय पद्धतिलाई असफल बनाउने षड्यन्त्रपूर्ण खेल पहिलादेखि नै भएको र अहिले त्यसलाई उत्कर्षमा पुर्‍याइएको भन्न सकिन्छ । डा. भट्टराईले आफ्नो दलीयपद्धति विरोधी सोचलाई जाँदाजाँदै मूर्तरूप दिए । जसले गर्दा नेपालको राजनीतिक इतिहासमा कालो पाना थप्न उनी सक्षम भए भन्न सकिन्छ । यो मुलुक, जनता र दलीय व्यवस्थाका लागि घातक हुनेछ । यसलाई सामान्य रूपमा लिनुहुँदैन । सबै सचेत जनताले गम्भीर भएर सोच्नुपर्छ ।

प्रतिक्रिया