सम्भावनाको खेतीमा झांगिएको सपना

Madhab-sayapatriदेशमा विकासका प्रशस्त प्राकृतिक सम्भावना छन् । जलस्रोत, जडीबुटी, खनिजपदार्थ, हरियो वन, पर्यटन आदिको संभावना । तर, सम्भावनाको मात्र कुनै अर्थ हुँदैन । सम्भावनाले युवालाई रोजगारी दिँदैन । सम्भावना खानुहुँदैन । संभावना लाउनुहुँदैन । तैपनि, खेती सम्भावनाको मात्र गरिँदै आएको छ । त्यस्तो खेतीले देश उँभो लागेन । अब पनि देश उँभो लाग्ने छाँटकाँट देखिएको छैन । देशको यो क्षेत्र/पक्षचाहिँ सन्तोसजनक छ भनेर जनताले चित्त बुझाउने ठाउँ छैन । फरकफरक व्यवस्थामा नेतृत्वमा पुगेका नेताहरूले देशको विकासका संभावनामा खेती गरिरहे ।
हामी कहाँनिर चुक्यौँ ? किन चुक्यौँ ? कसका कारणले चुक्यौँ ? अर्थात् देश कहाँ, किन, कसका कारणले चुक्यो ? देश र नागरिकलाई चुस्ने र चुकाउने हाम्रा नेताहरू नै हुन्, जनता होइनन् । हामी चुसिँदै आयौँ । चुसिनु हाम्रो नियति बन्यो । राजाले, दलले, नेताले हामीलाई चुसे । भेडाबाख्रा बनाए । हामी भेडानियति भोग्दै आयौँ । अनन्त सम्भावना भएको यो देशमा हामी नागरिकलाई भावनामा बहकाइयो । हामी कसैका पुच्छर भयौँ । कसैका भर्‍याङ भयौँ । कसैका कुम्ले भयौँ । कसैका झोले भयौँ । हामीले कतै गल्ती गरेका छौँ भने कसैको झोले, कुम्ले, पुच्छर भएर गरका छौँ । सत्ताईस वर्षअधि राजा वीरेन्द्रले एसियाली मापदण्डको डङ्का पिट्दै दश वर्षभित्र नेपाललाई जापानजस्तो बनाउने घोषणा गरे । जापान आफ्नो यान्त्रिक विकासले विश्वलाई हाँक दिइरहेको थियो । विश्वबजारमा आफ्नो हस्तक्षेपकारी पकड जमाइरहेको थियो । जापानजस्तो बनाउने दिवास्वप्न त जनतालाई देखाइयो तर जापान कसरी यान्त्रिक विकासको चरम अवस्थामा पुग्यो त्यसको अध्ययन, विश्लेषण भने गरिएन । मुलुक जापानजस्तो बन्नु त परै जाओस्, जनताका गाँस, बास, कपासका आधारभूत आवश्यकता पनि पूरा भएनन् । देशको पुँजी व्यक्तिमा व्यक्तिकृत हुँदै गयो । गरिब जनता झन् गरिबीमा पिल्सिँदै गए । पञ्चायत पनि ढल्यो, एसियाली मापदण्डका कुरा सेलाए ।
०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापनापछिको पहिलो प्रधानमन्त्री कृष्णप्रसाद भट्टाराईले नेपाललाई स्विट्जरल्यान्ड बनाउने सपना बाँडे । मेलम्चीको पानीले काठमाडौंका सडक पखाल्ने उद्घोष गरे । त्यो सब हँसीमजाकजस्तै भयो । स्विट्जरल्यान्ड कसरी ‘स्विट्जरल्यान्ड’ बन्यो त्यसको पनि अध्ययन, विश्लेषण गरिएन । नेपाली जनतालाई सपना देख्न मात्र बानी पारियो । यसपछि फरकफरक दलका सरकारहरू बने । तिनले पनि जनतालाई सपना मात्रै बाँडे । संभावनाका कुरा गरिरहे । प्रधानमन्त्री बनेलगत्तै प्रचण्डले पनि स्विट्जरल्यान्डको सपना देखे । उनको पनि छिट्टै ‘स्वप्नभंग’ भयो । उनी र उनको दल माओवादीबाट जनताले ठूलो आश गरेका थिए । देशको आमूल परिवर्तनको लागि दशवर्षे युद्घको कमान्ड सम्हालेका प्रचण्ड पनि कार्टुन नेतामा परिणत भइसकेका छन् । उनका कुरा अब बच्चाले पनि पत्याउन छाडेका छन् । पन्ध्र हजार नेपालीको ज्यान, लाखौँ जनताको रगत केही सय नेपालीको जागिरमा साटिइसकेको छ । कति भयंकर बिडम्वना †
नेपालका अधिकांश नेता जनतालाई संभावनाको सपना बाँडेर आफू पैसा कमाउन, ऐयासी जीवन भोग गर्न मात्र लागेका छन् । नेता सम्पत्तिले चुलिएर उँभो लाग्दै छन् । जनतालाई दुई छाक चुलो धूँवाउन गाह्रो परेको छ । उपचार नपाएर मरिरहेका छन् । जनता उँधो लाग्दै छन् । देश त झन् रसातलतिर भासिँदै छ । हामीलाई दातृनिकायले ६५ प्रतिशत गरिबीको टिकमार्क लगाइदिएको छ । टाउकैपिच्छे बिसौँ हजार रुपियाँ विदेशी ऋण थेगेर हामी नेपाली कति पुस्तासम्म बाँचिरहनुपर्छ, थाहा छैन । देशमा ठूला राजनैतिक परिवर्तनहरू भए । निशस्त्र जनआन्दोलनबाट राजा फालिएको इतिहास कमै देशमा छ । नेपाल पनि त्यस्तो कमै देशको सूचीमा परेको छ । अढाइसय वर्ष एकछत्र शासन गरिरहेको निरकुंश राजतन्त्र जनताको निशस्त्र आन्दोलनबाट फालिनु ठूलो उपलब्धि थियो । तर, प्राप्त भएको यो ठूलो उपलब्धिलाई बचाउन हाम्रा दल र नेताहरू असफल बन्दै गएका छन् । इतिहासमा बिरलै प्राप्त हुने यस्तो उपलब्धिको रक्षा गर्न जनता नै सडकमा आउनुपर्ने अवस्था आएको छ ।
संविधानसभाको निर्वाचनमार्फत हामीले संविधानसभा पाएका थियौँ । नेताहरूले नै त्यसको दुरुपयोग गरे । जनताले गल्ती गरेका थिएनन् । भोट दिनु जनताको गल्ती थिएन । राम्रो चीज पनि ‘बाँदरको हातमा लड्डू’ भयो । संविधानसभाको निर्वाचन भएको चार वर्षसम्ममा पनि नेताहरूकै अकर्मण्यताले गर्दा जनताले संविधान पाएनन् । आफ्नो कुत्सित स्वार्थ पूरा नहुने देखी हठात् त्यसलाई मारियो । अब यो देशमा संविधानसभाको निर्वाचन हुने सम्भावना कमै छ । भइहाले पनि संविधानसभाबाट जनताले संविधान पाउने संभावना झन् कमै देखिन्छ । यति धेरै जात जाति भएको देशमा जातीय राज्यको मुद्दालाई मूल एजेन्डा बनाएर संविधानसभालाई मार्नु नेताहरूको गल्ती मात्र नभएर ठूलो अपराध पनि हो । नेताले गरेको त्यही अपराधको प्रतिफल अहिले जनताले भोगिरहेका छन् । हाम्रा पुराकथामा महादेवले कुनै भक्तलाई ‘तथास्तु’ दिएभैँm जातैपिच्छे राज्य वितरण गर्दा यो देशको एकता कता जाला† सानो चीज पाउने लोभमा प्राप्त भएको ठूलो चीज गुम्न सक्ने खतरा बढेको छ ।
छिमेकी देश चीन पन्ध्र वर्षअगाडि कुन अवस्थामा थियो, अहिले कहाँ पुग्यो । दोस्रो महाशक्ति राष्ट्र भइसक्यो । अमेरिकालाई पनि उछिनेर पहिलो महाशक्ति राष्ट्र बन्ने तरखरमा छ । नेपालभन्दा सतसठ्ठीगुणा ठूलो मुलुक कसरी यो अवस्थामा आइपुग्यो होला । नेपालभन्दा तेईसगुणा ठूलो भारत चीनसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल भने विदेशीसित भिख माग्दै आफ्नो निरीहता देखाउँदै छ । अति गरिब तथा विपन्न मुलुकहरू पनि प्रगतिको खुट्किला चढ्दै छन् । दशवर्षको अवधिमा गरिब मुलुकहरू कहाँबाट कहाँ पुगिसके । प्रचुर संभावनाको पोको बोकेर नेपाल झन् ओरालो लाग्दै छ ।
दिनहुँ हजारौँ युवा कामको खोजीमा आफ्नो देश छोडेर विदेसिन बाध्य छन् । युवाहरूले अझै बिसौँ वर्ष सहजरूपमा स्वदेशमा काम पाउने अवस्था छैन । देशको अर्थतन्त्र रेमिटेन्सले धानेको छ । वर्षमा यति र उति रेमिटेन्स भित्रियो भनेर हामी गर्वले फुलेका हुन्छौँ । यो एकछिनको ‘पिसाबको न्यानो’ मात्र हो । युवाहरूको रगत, पसिना र सिर्जनशील उमेरचाहिँ विदेशीलाई धनी बनाउन दिएपछि यो देश कसरी आत्मनिर्भर बन्न सक्छ ? युवाहरूको ऊर्जाशील उमेर कष्टपूर्ण अवस्थाले विदेशमा बितेको नेताहरूलाई कुनै चिन्ता छैन । त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा लिनेमध्ये ७८ प्रतिशत युवा बेरोजगार रहेको कुरा मन्त्री एवं सरकारी उच्च पदस्थ अधिकारीहरू नै बताउँछन् । राज्यले युवाहरूलाई स्वदेशमै सानोतिनो काम गरेर खाने अवस्था सिर्जना गर्नुको साटो विदेश पलायन हुन प्रोत्साहन गरिरहेको छ । ८३ हजार मेगावाट विद्युत् उत्पादन हुनसक्ने देशका जनता लोडसेडिङको कालो छायामा हराउन बाध्य छन् । भएका सरकारी उद्योग, कलकारखाना पनि बन्द हुने अवस्थामा छन् । यो देशमा कुन क्षेत्र प्रगतिउन्मुख छ ? सबैतिर भत्किइरहेको छ । जनताले चित्त बुझाउने ठाउँ कुन छ ? हामीलाई नागरिकलाई भेडा बनाइएको छ । हामी भेडानियति भोग्दै छौँ ।
[email protected]

प्रतिक्रिया