शक्तिपृथकिकरण एमालेको शर्त

काठमाडौं, ५ फागुन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने सम्बन्धमा एमालेले शक्तिपृथकिकरणको सिद्धान्तलाई आधार बनाउनु पर्ने सर्त अघि सारेको छ ।
पार्टी मुख्यालय बल्खुमा आज बसेको केन्द्रीय कमिटी बैठकले प्रजातन्त्रका आधारभूत सिद्धान्तलाई ध्यानमा राखेर मात्रै प्रधानन्यायाधीशलाई नेतृत्व दिन सकिने निर्णय गरेको हो । प्रजातन्त्रका आधारभूत सिद्धान्त, शक्तिपृथकिकरण र संवैधानिक व्यवस्थालाई आधार बनाई चुनावी सरकार बनाउने पूर्वसर्तसहितको निर्णय गरेको एमालेले जनाएको छ ।
प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनावी परिषद् गठन गर्ने प्रस्ताव एमाओवादीले गरे पछि एमालेलेमा चर्को विरोध भएको थियो ।
बैठकले सो विषयमा आधारित रहेर वार्ता र सम्वाद गर्न शीर्ष नेतृत्वलाई जिम्मेवारी पनि दिएको छ ।

प्रतिक्रिया