“नासिदलाई पक्राउ गरिँदैन”

माले : पक्राउका लागि दिइएको आदेशको समय–सीमा सकिएको स्पष्ट पार्दै माल्दिभ्स सरकारले राजधानी मालेस्थित भारतीय दूतावासको शरणमा रहेका पूर्वराष्ट्रपति मोहमद नासिदलाई बाहिर निस्कन आग्रह गरेको छ । राष्ट्रपति हुँदा पदीय दुरुपयोग गरेको भन्दै अदालतले पक्राउ गर्न आदेश दिएपछि ४६ वर्षीय नासिद सुरक्षार्थ भारतीय दूतावास छिरेका थिए ।
गिरफ्तारीको निर्णय फिर्ता नभएसम्म आफू सोही दूतावासमा बस्ने नासिदले बताउँदै आएका छन् । विपक्षी नेता नासिद आगामी सेप्टेम्बरमा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् । ‘नासिद स्वतन्त्र व्यक्ति हुन् । उनी भारतीय दूतावास बाहिर हिँड्न सक्छन् ।’ माल्दिभ्स सरकारका प्रवक्ता मसुद इमादले एपिएफसँगको कुराकानीमा भने, ‘प्रहरीले अब उनलाई गिरफ्तार गर्ने छैनन् किनभने त्यसको समय–सीमा गत रातसम्म थियो ।’
अदालतमा हाजिर नभएको भन्दै नासिदविरुद्ध गिरफ्तारी आदेश दिइएको थियो । ‘अदालतले अर्को सुुनुवाइको समय तोकेको छैन । र, अब गिरफ्तारीको कुनै सम्भावना पनि छैन । नासिदले डर मान्नुपर्दैन’ नासिदले थपे । नासिद भारतीय दूतावास छिरेलगत्तै त्यसको आसपासमा सशस्त्र प्रहरी तैनाथ गरिएको थियो । सरकारको यस भनाइबारे नासिद र उनको पार्टी माल्दिभियन डेमोक्रेटिकले प्रतिक्रिया जनाएको छैन । नासिदले राजनीतिक जालसाचीकाबीच आफूविरुद्ध पदीय दुरुपयोगको आरोप लागेको दाबी गर्ने गरेका छन् । स्वतन्त्र रूपमा निर्वाचित पहिलो राष्ट्रपतिका रूपमा सत्तामा पुगेका नासिद हिंसात्मक विरोध प्रदर्शनपछि राजीनामा दिन बाध्य बनेका थिए । नासिदकी प्रवक्ता मारिया दिदीले माल्दिभ्समा जारी राजनीतिक संकट अन्त्यका लागि नासिदले भारतलाई मध्यस्थता गर्न आग्रह गरेको बताएकी छन् । भारतले भने नासिदलाई निर्विवाद रूपमा निर्वाचनमा सहभागी गराउन माल्दिभ्स सरकारलाई आग्रह गरिसकेको छ । (एजेन्सी)

प्रतिक्रिया