राजपरिवारलाई फेरि तनाव

palaceलन्डन, ३ फागुन । ‘गर्भवती’ बेलायती राजकुमारी केट बिदा मनाउन श्रीमान् विलियमसँग क्यारेबियन टापु मस्तिकमा पुगेका बेला सामुद्रिक किनारमा विकिनीमा हिँडिरहेको तस्बिर विश्वभरका विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेपछि बेलायती राजपरिवार फेरि तनावमा आएको छ ।

बेलायती राजपरिवारले दु:ख व्यक्त गर्दै निजी जीवनको सम्मान गर्न सञ्चारमाध्यमले बिर्सिएको आरोप लगाएको छ । इटाली र अस्ट्रेलियाका म्यागजिनले ती तस्बिरहरू प्रकाशित गरेका छन् भने फ्रान्स, अमेरिका र जर्मनीका अखबारले पनि तस्बिर खरिद गरी प्रकाशनको तयारी गरेको जनाइएको छ । इटालीको गसिप म्यागजिन ‘ची’ले पहिलो पृष्ठमा उक्त तस्बिर छापेको छ । बेलायती महारानी डायनाको सनसनीपूर्ण फोटो छापेका कारण यसअघि यस इटालियन म्यागजिन विवादमा आएको थियो । अस्ट्रेलियाको म्यागजिन ‘ओमेन्स डे’ राजकुमारी केटसहित विकिनीमा रहेको समयमा उनकी बहिनी पिप्पाको लिइएको तस्बिर प्रकाशित गरेको छ । उक्त म्यागजिनको दाबी छ, सर्वसाधारणमार्फत उक्त तस्बिर लिइएका हुन् । ‘ओमेन्स डे’का सम्पादक फिओना कोनेलीले बेलायती राजदम्पती विलियम–केटको तस्बिर प्रकाशित गर्नु अस्वाभाविक नभएको दाबी गरेका छन् । उक्त दम्पती बेलायतबाहिर ‘सुरक्षित प्रजाति’ नभएको भन्दै कोनेलीले भनेका छन, ‘यो तस्बिर प्रकाशित गर्नु कठिन निर्णय थिएन किनभने केट सार्वजनिक स्थानमा थिइन् र यससमय अरूभन्दा उनलाई आकर्षक देखिएको थियो ।’
मस्तिक निजी टापु भएको जनाइएको छ । पापराजीलाई त्यहाँ प्रवेश गर्न निषेध गरिएका कारण निजी जीवन यहाँ निकै सुरक्षित हुने अपेक्षा गरिन्छ । तस्बिरमा केटले उज्यालो किसिमको नीलो विकिनी लगाएको देखिएको छ भने तल्लो पेट केही उठेको पनि स्पस्ट अनुमान लगाउन सकिन्छ । केटको पेटमा चार महिनाको गर्भ रहेको बताइन्छ । तस्बिरमा केट, विलियमसँग अँगालो मारेर हिँडिरहेकी छन् । विलियमले ‘अनफिट’ सर्ट लगाएका छन् भने उनले नियमित लगाउने गरेको चस्मा पनि उनले लगाएका छन् । बुधबारदेखि बिक्रीमा आएको ‘ची’ले यस तस्बिरको समाचार शीर्षक राखेको छ, ‘केट र विलियम–तेस्रोको लागि हनिमुन’ । (एजेन्सी)

प्रतिक्रिया