उत्तर कोरियाद्वारा परमाणु परीक्षण

north-koreaसोल : अन्तर्राष्ट्रिय समुदायको चर्को दबाबलाई वेवास्था गर्दै उत्तर कोरियाले तेस्रोपटक परमाणु परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । कृतिम भूकम्प सिर्जना गर्ने गरी सोमबार उत्तर कोरियाले परमाणु परीक्षण गरेको हो । उत्तर कोरियाले परीक्षणको पुष्टी गरेलगत्तै राष्ट्र संघलगायतका अन्तर्राष्ट्रिय निकायले चर्को विरोध गरेका छन् ।
यसअघि राष्ट्रसंघले उत्तर कोरियालाई पारमाणविक कार्यक्रम बन्द गर्न आग्रह गर्दै आएको थियो । त्यसो नगरे विश्व समुदायबाटै एक्लिने गरी उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लाग्नसक्ने चेतावनी राष्ट्रसंघले दिँदै आएको थियो ।
भूमिगत परमाणु परीक्षण केन्दमा पछिल्लो परीक्षण गर्दा आसपासका क्षेत्रमा भूकम्प गएको जनाइएको छ । परीक्षण पुष्टि हुनुभन्दा तीन घन्टाअघि सो क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो । उत्तर कोरियाले यसअघि सन् २००६ र त्यसको तीन वर्षपछि गरी जम्मा दुईपटक परमाणु परीक्षण गरेको थियो । ती परीक्षणभन्दा सोमबारको परीक्षण निकै शक्तिशाली भएको परमाणु परीक्षण निगरानी गर्ने विभिन्न निकायले दाबी गरेका छन् ।
उत्तर कोरियाको सरकारी समाचार संस्थाका अनुसार परीक्षणमा हलुका प्रकृतीको आणविक सामग्रीको प्रयोग गरिएको थियो । उक्त समाचार संस्थाले यस्ता प्रकृतिका अन्य परिक्षणभैँm यसमा पनि प्लुटोनियम प्रयोग गरिएको जनाएको छ ।
अमेरिकासम्म मार हान्न सक्ने परमाणु क्षेप्यास्त्रको विकासमा लागिपरेको भनिएको उत्तर कोरियाले पछिल्लो परीक्षणबाट यस दिशामा उल्लेख्य सफलता हात पारेको विश्लेषण गरिएको छ । परीक्षण सफलतापूर्वक सम्पन्न भएको र उत्तर कोरियाप्रति अमेरिकाको ‘शत्रुतापूर्ण’ व्यवहारसँग लड्न परीक्षण गरिएको उत्तर कोरियाली समाचार संस्थाले उल्लेख गरेको छ । ‘उच्चस्तरको यस परीक्षण सुरक्षित रूपमा सम्पन्न भयो । हलुका आणविक सामग्रीको प्रयोग गरिए पनि बिस्फोटकको गति भने विगतको भन्दा धेरै थियो । यद्यपि, यसले आसपासको जैविक वातावरणमा कुनै असर पारेन’, समाचार संस्था केसिएनएले जनाएको छ ।
उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रतिबन्ध लागिरहेको अवस्थामा रकेट प्रक्षेपण गरेको भन्दै राष्ट्रसंघले गत डिसेम्बरमा उत्तर कोरियाविरुद्ध प्रतिबन्ध लगाएको थियो । सोमबारको परीक्षणलगत्तै अमेरिकी राष्ट्रपती बाराक ओबामाले विज्ञप्ती जारी गरी परीक्षणको भत्र्सना गरेका छन् । राष्ट्रसंघका महासचिव बान की मुनले सुरक्षा परिषद्ले लगाएको प्रतिबन्दको बेवास्था गर्दै उत्तर कोरियाले यसको गम्भीर उल्लंघन गरेको आरोप लगाएका छन् । उत्तर कोरियाको मुख्य साझेदार राष्ट्र चीनले समेत परमाणु परीक्षणको आलोचना गरेको छ । राष्ट्रसंघको प्रस्तावना उल्लंघन हुने खालका गतिविधिले स्थितिलाई थप बिगार्ने भन्दै यस्ता कुनै काम नगर्न चीनले सुझाव दिएको छ ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सन् २०११ मा सत्तामा आएयता उत्तर कोरियाले पहिलोपटक परमाणु परीक्षण गरेको हो । दबाबका बीच परमाणु परीक्षण गरिछाड्ने उत्तर कोरियाको कदमबाट नेता उनको घरेलु तथा विदेश नीतिमा लचकता नअपनाउने संकेत प्राप्त भएको विश्लेषण गरिएको छ । गत महिना उत्तर कोरियाले परमाणु परीक्षण गर्न लागेको खुलासा गरेको थियो । (एजेन्सी)

प्रतिक्रिया