युवाशक्तिको सहकार्यमा स्थानीय समुदायको विकास र आर्थिक अवस्थामा सुधार ल्याउन सहकारीमार्फत कसरी काम गर्न सकिन्छ ?

सहकारी भनेकै सबै मिलेर गर्ने कार्य अर्थात् सहकार्य हो । कुनै पनि व्यापार, व्यवसाय, उद्योगधन्दा, कलकारखाना सञ्चालनका लागि ठूलो मात्रमा पुँजी आवश्यक पर्छ । त्यसका लागि एक/दुई जना मिलेर ठूलो पुँजी संकलन गर्न गाह्रो हुन्छ । त्यसैले जुन समुदायमा हामीले सहकारीमार्फत कुनै काम सुरु गर्दै छौँ त्यही क्षेत्रका मानिसहरूसँग मिलेर स–सानो पँुजी जम्मा गर्दा पनि ठूलो रकमको जोहो गर्न सकिन्छ । जसले गर्दा समुदायमा आधारित आर्थिक, व्यावसायिक कामहरू सहकारीमार्फत गर्न सहज हुन्छ । साथै सहकारीमार्फत कुनै कार्य सुरु गर्दा अन्य लगानीकर्ता, बैंकिङ क्षेत्र, व्यापारीहरूको पनि विश्वास जित्न सकिन्छ र सहकारीमार्फत गर्न खोजेको कामका लागि आवश्यक पर्ने पुँजी संकलन गर्न सहज हुन्छ । सहकारीमार्फत सञ्चालन गरिएको व्यापार, व्यवसायबाट आएको केही प्रतिशत लाभांश त्यस क्षेत्रको विकास (खानेपानी, स्वास्थ्य, शिक्षा, बाटोघाटो) निर्माणका कार्यहरू पनि गर्न सकिन्छ । त्यस्तै त्यस क्षेत्रमा उपलब्ध प्राकृतिक स्रोत साधनको उपयोग गरेर कलकारखानामार्फत विभिन्न दैनिक उपभोग्य सामग्री उत्पादन गरेर समुदायमा सस्तो मूल्यमा बिक्री गर्न सकिन्छ । यसले एकातिर स्थानीय जनताले सस्तोमा उत्पादित सामग्री प्राप्त गर्न सक्छन् भने अर्कोतिर सहकारीमार्फत सञ्चालन गरिएको व्यवसायीले पनि मुनाफा आर्जन गर्न सक्छन् ।

प्रतिक्रिया