कुम्भ मेलामा भागदौड मच्चिँदा ३६ को मृत्यु

kumva-melaइलाहबाद : भारतको इलाहबादमा आयोजित कुम्भमेलामा सहभागी भई घर फर्कंदै गरेको अवस्थामा तीर्थयात्रीबीच भागदौड मच्चिँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । गंगा नदीको किनारामा आइतबार तीन करोड तीर्थयात्री भेला भएर कीर्तिमान कायम गरेको समाचारले सबैलाई उत्साहित बनाएका बेला मच्चिएको मागदौडमा परी सो मानवीय क्षति भएको हो ।

आइतबार मच्चिएको भागदौडमा दर्जनौँ घाइते भएका छन् । ५५ दिने यस मेलाको सबैभन्दा महत्त्वपूर्ण दिन मेलास्थलछेउको रेल बिसौनीमा भागदौड मच्चिएको हो । हिन्दु धर्मालम्बीको यो मेलालाई विश्वकै ठूलो मानव भेलाका रूपमा लिइन्छ । रेल बिसौनीको पुलको रेलिङ भिडको दबाब खप्न नसक्दा भाँचिएपछि भागदौड मच्चिएको हो । प्रहरीले भिड नियन्त्रण गर्न लाठीचार्ज गरेको एक प्रत्यक्षदर्शीले जानकारी दिए । भागदौडमा परी घाइते भएकालाई एम्बुलेन्समा राखी अस्पताल लगिएको थियो । घटनास्थलमा सेतो कपडाले ढाकेका शव धेरै समयसम्म त्यतिकै राखिएको थियो ।
उत्तरी तथा केन्द्रीय रेलसेवाका प्रवक्ता अमित माल्भियाले २० शवको पहिचान भएको र १६ शवको आफन्त फेला पार्न बाँकी रहेको जानकारी दिए । मृत्यु हुनेमध्ये १४ महिला र ६ पुरुष छन् । मृत्यु हुनेमध्ये सबैभन्दा कान्छी आठ वर्षीया एक बालिका छिन् भने सबैभन्दा प्रौढमा ७५ वर्षीय एक पुरुष छन् । मेलाका दिन गंगामा स्नान गर्दा पाप पखालिन्छ भन्ने विश्वास गरिन्छ । यस वर्ष मेला अवधिमा १ सय ४७ वर्षमा पहिलोपटक ग्रहहरू एकै रेखामा पुग्ने भएकाले मेलालाई हिन्दु धर्मालम्बीले ठूलो आस्थाका साथ हेरेका छन् ।
स्थानीय अधिकारी देवेश चतुर्वेदीले मध्याह्नसम्म दुई करोड व्यक्तिले गंगामा स्नान गरेको तथा साँझ त्यो संख्या तीन करोड पुगेको जानकारी दिए । भागदौडपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहले एक विज्ञप्ति जारी गर्दै आफू यस दुर्भाग्यपूर्ण दुर्घटनाबाट स्तब्ध भएको बताएका छन् । घटनालगत्त रेलमन्त्री पवनकुमार वंसल अनुसन्धानका लागि इलाहाबाद पुगेको समाचारमा जनाइएको छ । उत्तर प्रदेशका स्थानीयवासी अशोक शर्माले रेलिङमा धेरै मानिसले आराम गरेकाले भार वहन गर्न नसकी रेलिङ भाँच्चिएको जानकारी दिए । रेलमन्त्री वंसलले यस कुरालाई अस्वीकार गर्दै रेल बिसौनीमा अति भिडका कारण भागदौड मच्चिएको हुनसक्ने बताए । उता पीडितका आफन्तले प्रहरीले सन्त्रासको वातावरण फैलाएकाले दुर्घटना भएको आरोप लगाएका छन् ।
भारतको उत्तरी नगर इलाहाबादमा हरेक १२ वर्षमा कुम्भ मेला लाग्ने गर्छ । यसपटकको मेला गत महिनादेखि आरम्भ भएको थियो । मेला मार्चसम्म चल्नेछ । सन् २००३ मा पश्चिमी नगर नासिक भएको यस्तै मेलामा भागदौड मच्चिँदा ४५ व्यक्तिको मृत्यु भएको थियो । सन् २००८ मा उत्तरी नगर जोधपुरमा एक मन्दिरभित्र मच्चिएको भागदौडमा परी दुई सय २० जनाको मृत्यु भएको थियो । आइतबारको मेलामा ३० हजार स्वयंसेवी तथा सात हजार प्रहरी तैनाथ थिए । भारतमा अमृतको थोपा खसेका इलाहाबाद, नासिक, उज्जैन तथा हरिद्वारमा यस प्रकारको मेला लाग्ने गर्छ । (एएफपी)

प्रतिक्रिया