श्रीनगर : भारतको राजधानी नयाँदिल्लीस्थित संसद् भवनमा सन् २००१ मा भएको आक्रमणमा संलग्न एक व्यक्तिलाई मृत्युदण्ड दिएपछि कस्मिरमा आइतबार लगाइएको कफ्र्यु अझै जारी छ । अदालतबाट दोषी ठहरिएका कस्मिरी पृथकतावादी मोहम्मद अफ्जल गुरुलाई दिइएको मृत्युदण्डको निर्णय शनिबार कार्यान्वयन गरिएको थियो । मृत्युदण्डलाई कार्यान्वयन गरेपछि भारत प्रशासित कस्मिरमा हिंसा फैलनसक्ने आशंकामा कफ्र्यु आदेश जारी गरेको थियो ।
कफ्र्यु आदेश जारी भए पनि श्रीनगरबाट ४० किलोमिटर टाढा रहेको एउटा गाउँमा मृत्युदण्डको विरोधमा भएको प्रदर्शनमा शनिबार कम्तीमा चार व्यक्ति घाइते भए । पाँचजना सशस्त्र विद्रोहीले सन् २००१ को डिसेम्बर १३ मा संसद् भवन प्रवेशगरी आक्रमण गर्दा १० व्यक्तिको मृत्यु भएको थियो । फलफूल व्यापारीसमेत रहेका गुरुलाई राजधानीको बाहिरी भागमा अवस्थित तिहाड जेलमा मृत्युदण्ड दिइएको थियो । (एएफपी)
प्रतिक्रिया