राष्ट्र विकासका लागि युवाशक्तिलाई सही मार्गमा डोहोर्‍याउन युवा राजनीतिक नेतृत्वले कसरी अगाडि बढ्नुपर्ला ?

युवामा भएको ऊर्जाशील र अग्रगामी चिन्तनलाई दलीय, गुटभन्दा टाढा राखेर सही रूपमा राष्ट्र विकास र आर्थिक–सामाजिक रूपान्तरणका लागि उपयोग गरिनुपर्छ । राष्ट्र विकासका लागि सत्रुका रूपमा रहेका गरिबी, अशिक्षा, बेरोजगारीजस्ता बाधाअड्चनलाई बहुआयामिक तबरबाट समाधान गर्नुपर्ने जिम्मेवारी हामी युवाको काँधमा आइपरेको छ । नेपाली युवा अत्यन्त इमानदार, पौरखी र आत्मस्वाभिमानी छन् । सभ्य, स्वतन्त्र, स्वाधीन र समृद्ध नेपाल निर्माणका लागि युवाको ठूलो योगदान रहेको छ । विगतमा हामी युवा मुलुकको राजनीतिक परिवर्तनका लागि संघर्ष गरेर अहिलेको अवस्थासम्म आइपुगेका छौँ ।

अझै पनि राष्ट्रले युवाकै संघर्षमार्फत आर्थिक–सामाजिक परिवर्तन र रूपान्तरणको आवश्यकता महसुस गरिरहेको छ । मुलुकको विकासका लागि आमयुवालाई सही दिशातर्फ डोहोर्‍याउँदै समृद्ध र समुन्नत राष्ट्र निर्माणको मार्गमा डोहोर्‍याउन सक्ने सही नेतृत्व आवश्यक छ । आशा गरौँ, विभिन्न व्यक्तिविशेषका श्रीपेचधारी युवराजालाई स्थापित नगरी पार्टी नीति र सिद्धान्तप्रति निष्ठावान्, आमयुवालाई सकारात्मक र सही नेतृत्व दिनसक्ने व्यक्तिको आवश्यकता छ । निश्चय पनि आगामी महाधिवेशन त्यस्तो सफल र ऊर्जाशील नेतृत्व चयन गर्न सफल हुनेछ ।

प्रतिक्रिया