पढ्नेलाई छेकबार बन्दैन उमेर

Surkhetसुर्खेत, २८ माघ । महिलाले पढ्न हुँदैन भन्ने पूरातन मान्यतालाई तोड्दै वीरेन्द्रनगरका आमाहरू विद्यालय जान थालेका छन् ।

पढ्ने उमेर घर्किए पनि रहर गर्ने आमा समूहका सदस्यहरूले वीरेन्द्रनगर–११ स्थित हस्तवीर सामुदायिक प्राथमिक विद्यालयमा आफूहरूलाई पनि पढ्ने वातावरण मिलाइदिन लिखित निवेदन दिएपछि उनीहरूको पढाइ सुरु भएको हो । गत वर्षदेखि विद्यालयले खुला विद्यालय अन्तर्गत गृहिणी कक्षा सञ्चालन गरेको हो । गृहिणी कक्षा सञ्चालनपछि महिलाहरूले अक्षर चिन्ने अवसर पाएका छन् । विभिन्न काममा कुनै कार्यालयमा जाँदा नपढेका र नबुझेका महिलाको काम ढिलो गरिदिने भएकाले पढनुपर्छ भन्ने मान्यताको विकास भएको महिलाहरूले बताए ।
गृहिणी कक्षामा अध्ययनरत वीरेन्द्रनगर–११ की ४० वर्षीया अमृता राना पढाइभन्दा ठूलो अरू केही नभएको बताउँछिन् । उनी भन्छिन्, ‘खाने मुखलाई जुँगाले छेक्दैन, पढ्ने चाहनेलाई उमेरले रोक्दैन ।’ यही उखानलाई चरितार्थ गर्दै २३ महिला गृहिणी कक्षामा भर्ना भएर पढिरहेका छन् ।
पानी तथा बिजुली बत्तीको बिल तिर्न जाँदा पैसाको बारेमा थाहा नै नपाउँदा रानाले पढाइको आवश्यकता महसुस गरिन् । त्यसपछि उनले उमेरको परवाह नगरी पढ्ने अठोट गरेको सुनाइन् । उनकी छोरीले बिएड् पास गरिसकेकी छिन् । ‘सामान्य कुराकानी त अंग्रेजीमा समेत गर्न आउँछ,’ उनले भनिन् ।
वीरेन्द्रनगर–११ चनौटेकी ५० वर्षीया टीकादेवी खराल पनि विद्यालयमा गृहिणी कक्षामा सहभागी भएकी छिन् । उनका दुई छोरा इन्जिनियर छन् । पति सरकारी जागिरे हुन् । ‘पति र छोराछोरीले पढेर पुग्ने रहेनछ,’ उनी भन्छिन्, ‘आफ्ना लागि आपैँmले पढ्नुपर्ने रहेछ ।’ पढ्ने इच्छा मनभित्रैबाट तीव्र हुन थालेपछि उनले खुला विद्यालयअन्तर्गत हस्तवीर प्राविमा गृहणी कक्षामा सहभागी भई दुई वर्षदेखि हरेक दिन निरन्तर किताब समातेर विद्यालय आउन थालेकी छन् ।
विद्यालयमा दिउँसो १२ बजेदेखि २ बजेसम्म पढाइ हुन्छ । गृहिणीलाई घरको काम पनि भ्याउनु पर्ने भएकाले दिनमा दुई घन्टामात्रै पढाइएको शिक्षिका रीता सुवेदी बताउँछिन् । गृहिणीले निकै मेहेनत र लगनशील भएर पढेको उनले बताइन् । कक्षामा सहभागी भएपछि उनीहरूमा परिवर्तन आएको उनले बताइन् । ‘बालबालिकालाई फकाएर सिकाउनुपर्छ,’ उनले भनिन्, ‘तर उहाँहरू आपैँmले पढाइको महत्त्व बुझेर पढ्न आएकाले सजिलो भएको छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण पौडेलले आफूहरूले पनि पढ्न पाउनुपर्ने भन्दै महिलाहरूले लिखित निवेदन दिएपछि विद्यालयले खुला विद्यालयअन्तर्गत गृहिणी कक्षा सञ्चालन गरेको जानकारी दिए । उनका अनुसार दुई वर्ष पढेर परीक्षा हुन्छ । परीक्षामा उत्तिर्ण भएपछि प्राथमिक तह सकिन्छ ।

प्रतिक्रिया