कविता र कविको धूमिल छवि

Bimala-Tumkhewaसंसारकै साहित्यमा ज्यादा लेखिने र छापिने विधा कविता हो । नेपाली साहित्य पनि यसमा अपवाद छैन । सबैतिर उठ्ने प्रश्न यहाँ पनि उठिरहन्छ– कविताका पाठक संसारभरि नै किन सीमित रहे ? सायद कवितालाई सधैँ ती मानिसले मात्र बुझ्न सके, जो आमजनता भन्दा एक कदम आगाडि छन् र उनीहरूले साँच्चै मानिसका संवेदनशीलतालाई मनको भित्री तहबाट नै महसुस गर्न सक्छन् । अनि, नेपाली कविताबारे भन्नुपर्दा के हाम्रा कविता त्यसरी लेखिएको छैनन्, जसले मानिसका मनलाई प्रतिनिधित्व गर्न सकून् र कवितामा जीवन बोल्न सकेको होस् ?

के हाम्रा कवितामा दम छैन ? के यसले पाठकको रुचिलाई प्रतिनिधित्व गर्न सकेको छैन ?
पाठकले जीवनलाई कवितामा पढ्न सकून् र कविताले पाठकलाई भित्रसम्म तान्न सकोस्– यस्तो सिर्जना गर्न सक्नु कविको दायित्व हो । सत्य हो, कवितालाई बुझ्न संवेदनशील दिमाग आवश्यक पर्छ तर कवितालाई मन पराइँदा–पराइँदै बजारमा किन बिक्दैन किवता ? सायद कवि स्वयंले आफ्नो बौद्धिकता, अध्ययन र अनुभूतिको दायरालाई फराकिलो बनाउन नसकेको हो कि ? अथवा, त्यस्तो कविता अझसम्म लेखिएको छैन ? के कविहरू आत्मरतिभन्दा माथि उठ्न नसकेकै हुन् त ? के कविले समाज र पाठकको मनोभावनालाई बुझ्न सकिरहेका छैनन् ? यो एउटा गहन छलफल हुनसक्छ । त्यसो त, सस्तो साहित्य पढेर कविताको अध्ययन नै नगरी त्यसको धज्जी उडाउनेहरूको संख्या नभएको भने होइन ।
‘तीतो–सत्य’लगायतका केही हास्य टेलिशृंखलामा कवि र कवितालाई जसरी प्रस्तुत गरिँदै आइएको छ अथवा कविको व्यतिmत्वको जसरी चित्रण हाम्रो समाजमा गरिएको छ, त्यो कदाचित् सही होइन । तर, यो आमनागरिकको कवितालाई हेर्ने दृष्टिकोणको प्रतिनिधिमूलक उदाहरण भने हो । कविले यो छविलाई माथि उठाउने कि नउठाउने ?
पाठकले जसरीे भूपि शेरचन अथवा सरुभक्त पढेका छन्, तीनले अन्यहरूको कविता नपढ्न सक्छन् । गोपालप्रसाद रिमाल, भूपी, बैरागी काइँला, ईश्वर वल्लभ, मोहन कोइराला, तोया गुरुङलाई नपढीकन नेपाली कविताको गहनता अथवा कमजोरीलाई बुझ्न त्यति सजिलो छैन । सत्य त यो हो, नेपाली कविता नपढी सक्सेना, टैगोर, सेलीलाई पढेर गफ गर्नेहरूको भिड हामीकहाँ ठूलै छ । सायद कविता आख्यानजस्तो बिक्न नसक्नुको पछि राम्रो बजार व्यवस्थापन हुन नसक्नु एक प्रमुख कारण हो ।
जसरी प्रकाशकहरू आख्यानको पछि लागिपरेका छन् कविताका निम्ति त्यस्तो अवसर कहाँ ? प्रकाशनगृहहरूले चाहे भने रातारात लेखकलाई चर्चाको शिखरमा पुयाइदिन्छन् । त्यस्ता उदाहरण विश्वसाहित्य बजारमा धेरै भेटिन्छन् । तर, नेपाली प्रकाशनगृहहरूले अहिलेसम्म कवितालाई बेच्न सकेका छैनन् वा चाहेका छैनन् । खोई, पाब्लो नेरुदाले कवितामै नोबेल पुरस्कार पड्काए त । कविताको सामथ्र्य नभएको भए त पक्कै उनको कवितालाई त्यति ठूलो सम्मान दिइने थिएन होला । नेपाली कविहरूमा खोइ त्यो दम ? कि तिनका राम्रा कवितालाई किनार लगाइँदै छ ? अथवा, के कवि अल्छी बन्दै छन् ?
नेपाली साहित्यमा देखिएको मानसिक दरिद्रताको एउटा दृष्टान्त हो– हामीमा एकअर्काका सिर्जनाका राम्रा नराम्रा पक्षलाई कहिले पनि समालोचोकीय दृष्टिबाट हेर्ने संस्कारको विकास नै भएन । चोक र कफिसपहरूमा भेटघाट हुँदा साहित्यको भन्दा ज्यादा व्यक्तिगत कुरा काटेर बस्ने संस्कारबाट माथि उठ्न नसकिरहेको हाम्रो साहित्यिक माहोल हो । यसबारेमा भूपीले धेरै वर्षअघि उल्लेख गरेका थिए । के उनले भनेजस्तै हाम्रो माहोल झुरै हो त ? अर्को पनि सत्य छ, हामी जति नै फरक हुन खोजे पनि भूपीको ट्रेन्डबाट अलग हुन सकिरहेका छैनौँ । यद्यपि, पछिल्लो केही समययता नश्लीय चेतलाई बोध गरेर नयाँ विचार देखापरिरहेका छन्, जसले नेपाली कवितामा नयाँ धार ल्याएको छ । तिनको उपस्थितिलाई अझ सम्बोधन नै गर्न सकिएको छैन ।

प्रतिक्रिया