एमाओवादी महाधिवेशन सकियो/दाहाल नै अध्यक्ष

हेटौंडा । २७ वर्षदेखि लगातार पार्टीको नेतृत्व गर्दै आएका पुष्पकमल दाहाल एमाओवादीको हेटांैडा महाधिवेशनबाट पुन: अध्यक्ष चयन भएका छन् । आगामी पाँच वर्षका लागि अध्यक्ष चुनिएका दाहालले १० वर्षपछि सक्रिय राजनीतिबाट टाढा हुने घोषणासमेत अगुवा कार्यकर्तासमक्ष गरेका छन् ।
महाधिवेशनले दाहालको नेतृत्वमा ९८ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको छ । केन्द्रीय समितिमा थप ५३ जना पछि मनोनीत गरिनेछन् । शीर्ष तीन नेताको गुटगत विवादका कारण सबै पदाधिकारीको टुंगो महाधिवेशनबाट लाग्न सकेन । उपाध्यक्षमा डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले निरन्तरता पाएका छन् । निवर्तमान सचिव पोष्टबहादुर बोगटी महासचिव चयन भएका छन् । पदाधिकारीमा बोगटीसँगै नेताहरू अमिक शेरचन, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, वर्षमान पुन, गिरिराजमणि पोखरेल, हिसिला यमी, देवेन्द्र पौडेल, शशि श्रेष्ठलगायतले दाबी गरेका थिए । सहमति खोज्न बिहीबारदेखि शुक्रबार दिउँसोसम्म महाधिवेशन आयोजक समिति, निवर्तमान पदाधिकारी, ब्युरो इन्चार्ज छुट्टाछुट्टै बैठक पटक–पटक बसे पनि सहमति जुट्न सकेन ।
नवनिर्वाचित केन्द्रीय समितिका ज्येष्ठ सदस्य अमिक शेरचनको अध्यक्षतामा बसेको पहिलो बैठकले दाहाललाई अध्यक्ष, भट्टराई र श्रेष्ठलाई उपाध्यक्ष र बोटगीलाई महासचिवमा चयन गरेको हो । बैठकमा शेरचनले भट्टराईलाई अध्यक्षका लागि प्रस्ताव गरे पनि भट्टराईले अस्वीकार गर्दै दाहाललाई प्रस्ताव गरेका थिए ।
मोहन वैद्य समूहले पार्टी विभाजन गरेपछि बाँकी रहेका १ सय ५ जनामध्ये ७ जनालाई हटाएर वरीयताक्रमअनुसार नयाँ केन्द्रीय समिति बनाइएको छ । कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यलाई पार्टीको संरक्षक बनाइएको छ । त्यस्तै, दक्षिण कोरियाका लागि राजदूत रहेका कमानसिंह लामालाई पनि केन्द्रीय समितिमा ल्याइएको छैन । रुपन्देहीका तेजप्रकाश कँडेल झापाका धर्मचन्द्र लावती र नन्दकुमार प्रसाईं तथा धादिङका वेदनिधि अधिकारी पनि केन्द्रीय समितिमा अटाइएनन् ।
केन्द्रीय समितिमा चार दम्पती
नयाँ केन्द्रीय समितिमा ४ जोडी श्रीमान्/श्रीमती नै परेका छन् । उपाध्यक्ष भएका प्रधानमन्त्री डा. भट्टराईपत्नी हिसिला यमी, अर्थमन्त्री रहेका वर्षमान पुन र उनकी श्रीमती ओनसरी घर्ती, वाइसिएल इन्चार्जसमेत रहेका गणेशमान पुन र उनकी श्रीमती कमला रोका तथा लीलामणि पोखरेल र उनकी पत्नी शशि श्रेष्ठ केन्द्रीय समितिमा चयन भएका छन् ।
६ जना मात्र महिला
केन्द्रीय समितिमा हिसिला यमी, कमला रोका, ओनसरी घर्ती, अञ्जना विशंखे, शशि श्रेष्ठ र सविना अर्याल ६ जना मात्रै महिला परेका छन् ।
नवनिर्वाचित अध्यक्ष दाहालले ६ महिनाभित्र बाँकी ५३ जना केन्द्रीय सदस्य मनोनीत गरिने बताए । समापन समारोहमा उनले गृहकार्य नपुगेकाले सबै पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्यहरूको टुंगो लगाउन नसकिएको बताए । ‘अब काठमाडौंमा घोषणासभा सकेर पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोलाई पूर्णता दिने काम हुनेछ,’ दाहालले भने ।
‘प्रधानन्यायाधीश नै प्रधानमन्त्री’
एमाओवादीका नवनिर्वाचित अध्यक्ष दाहालले प्रधानन्यायाधीशकै नेतृत्वमा चुनावी सरकार बन्ने बताएका छन् । अहिले विपक्षीले विरोध गरे पनि अन्तत: सबै दल आºनो प्रस्तावमा सहमत हुने अध्यक्ष दाहालको भनाइ छ । ‘बहालवाला प्रधानन्यायाधीश जसलाई सबै नेपालीले विश्वास गर्छन्, उहाँको नेतृत्वमा चुनावी सरकार बनाउनेछौँ । मलाई विश्वास छ यसमा सहमति हुन्छ,’ दाहालले भने ।

प्रतिक्रिया