सूचना प्रविधि मेला राजधानीमा सुरु

suchanaकाठमाडौं, २५ माघ । सूचना प्रविधिका क्षेत्रमा विकास भएका नयाँ प्रविधिको जानकारी गराउने उद्देश्यले सूचना प्रविधि मेला बुधबारदेखि राजधानीमा सुरु भएको छ । पाँच दिनसम्म चल्ने प्रदर्शनी मेला ‘मिदास क्यान इन्फोटेक २०१३’ भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा सुरु भएको हो ।

मेला उद्घाटन गर्दै विज्ञान, प्रविधि तथा वातावरण सचिव केशवप्रसाद भट्टराईले सूचना प्रविधि क्षेत्रको विकासका लागि रणनीतिक योजना बनाउने तयारीमा सरकार रहेको जानकारी दिए । ऊर्जा संकटले सूचना प्रविधिको क्षेत्रलाई नकारात्मक असर पुर्‍याएको उल्लेख गर्दै उनले यस क्षेत्रमा आउने बर्सेनि तीन हजारभन्दा बढीे दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन पहल गरिने बताए ।
काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले निजी क्षेत्र र सरकार मिलेर यस क्षेत्रको विकास र प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले ऊर्जा संकटले सूचना प्रविधि क्षेत्र पनि संकटमा परेको भन्दै यस क्षेत्रको विकासमा सरकारले प्राथमिकतामा दिनुपर्ने उल्लेख गरे । कम्प्युटर एसोसिएशन आफ नेपाल (क्यान) का अध्यक्ष विनोद ढकालले सूचना प्रविधिको पहुँच नेपाली जनतासमक्ष पुर्‍याउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए ।
मेलामा इ–डेमोक्रेसी, डिजिटल सोसाइटीमा अभिव्यक्ति स्वतन्त्रतालगायत विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । चार लाख ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको यस मेलामा दुई सय १९ वटा स्टल राखिएका छन् ।
मुख्य प्रदर्शनी कक्षमा ३९ वटा ब्रान्डिङ स्टल, प्रदर्शनीस्थल क्षेत्रमा राखिएको प्याभिलियन ट्रसमा एक सय ४४ वटा, खुला क्षेत्रमा १३ तथा फुडस्टलमा १५ वटा स्टल छन् । ‘मेगा इभेन्ट अफ आइस’ शीर्षकमा इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधिसम्बद्ध कम्पनी, व्यवसायी तथा सेवाग्राही संस्थाहरूले आफ्ना नवीनतम प्रविधि सार्वजनिक गर्ने छन् । मेलामा हार्डवेयर, सफ्टवेयर विकासकर्ता, ट्रेडिङ हाउस, इन्टरनेट सेवा प्रदायक, मोबाइल सेवा प्रदायक, नेटवर्किङ उपकरण, कम्प्युटर व्यवसायी, कलेज तथा विश्वविद्यालय एवं साना ठूला कम्पनीले सहभागिता जनाएका छन् । क्यानका महासचिव अमृतकुमार पन्तका अनुसार नयाँ संस्करणका आकर्षक ल्यापटप, एलसिडी एलइडी मनिटर, आइप्याड, ट्याब्लेट पिसी, फ्याब्लेट, आइपड, मोबाइल फोन सेट, पेनड्राइभ, हुफर आदि प्रविधि तथा तिनका पछिल्ला संस्करण मेलामा राखिएका छन् । सन् १९९२ मा स्थापना भए पछि क्यानले प्रत्येक वर्ष ‘क्यान इन्फोटेक’ सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया