किनमेल गर्न सीमापार

नेपालगन्ज : सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको बाक्लो चहलपहलले नेपालगन्जका व्यापारीलाई चिन्तित तुल्याएको छ । त्यसो त भारतीय बजारबाट सामान खरिद गर्नै नपाउने बाध्यकारी व्यवस्था नभए पनि सरकारले एक सय रुपियाँभन्दा बढीको सामान खरिद गर्ने नेपाली उपभोक्तासँग भन्सार राजस्व असुल गर्ने व्यवस्था गरेको छ । तर, यो व्यवस्था व्यावहारिक रूपमा कार्यान्वयनमा नआउँदा प्रत्यक्ष रूपमा नेपालगन्जका व्यापारी मारमा पर्ने गरेका छन् ।

चाडपर्व मात्र होइन, अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजारमा नै निर्भर रहने अवस्थाले पनि यहाँका व्यापारी, उद्योगपति इन्तु न चिन्तुको अवस्थामा पुगेका छन् । जसका कारण एकातिर उपभोक्ता पनि ज्ञानका अभावमा भारतीय बजारमा ठगिनुपर्ने, सरकारको राजस्व संकलनमा प्रतिकूल प्रभाव पर्ने र यहाँका व्यापारीको व्यवसाय पनि ओरालो लाग्ने स्थिति देखिन्छ ।
अर्कोतर्फ, नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय बजार व्यवस्थासम्बन्धी संरचना तथा स्वदेशी उत्पादनका विषयमा पर्याप्त जानकारी गराउन नसक्दा पनि न्यूनतम मूल्यका सामान खरिद गर्नसमेत उनीहरू सीमापारि भारतीय बजारमा जाने गरेको पाइन्छ । ‘हामीले बुझाउने प्रयास नगरेको पनि होइन तर सीमापारि भारतीय बजारमा सबै सामान सस्तोमा पाइन्छ भन्ने पुरानो मानसिकताबाट नेपाली उपभोक्ता अझै मुक्त हुनसकेका छैनन्,’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुनीलकुमार शर्माको धारणा छ ।
रूपैडिहाबाट प्रत्येक दिन करिब चार/पाँच करोड रुपियाँ बराबरको विभिन्न घरायसी सामान नेपाली उपभोक्ताले खरिद गरेर ल्याउने गरेको वाणिज्य संघको तथ्यांकमा उल्लेख छ । नेपालस्थित बहुराष्ट्रिय कम्पनीबाट उत्पादित सामान नेपालमै सस्तो पाइने भए पनि भारतमा सबै सामान सस्तो पाइन्छ भन्ने मानसिकताबाट मुक्त नभएका उपभोक्ता त्यस्ता सामानसमेत भारतीय बजारबाट महँगोमा खरिद गरेर ल्याउने गर्छन् ।
सरकारले अघिल्लो आर्थिक वर्षको बजेटमा ‘नेपाली उपभोक्ताले भारतीय बजारबाट ल्याउने एक हजार रुपयाँसम्मको सामानमा भन्सार छुट दिइने’ भने पनि सोबमोजिम कुनै परिपत्र भन्सार कार्यालयमा अहिलेसम्म नआएकाले एक सय रुपियाँभन्दा बढीको सामानमा भन्सार लिने गरिएको नेपालगन्ज भन्सार कार्यालयको भनाइ छ ।
नेपाली उपभोक्ताले दैनिक रूपैडिहाबाट खरिद गरी भन्सार नतिरी ल्याएका सामानले सरकारलाई दैनिक चार/पाँच लाख रुपियाँ राजस्व घाटा हुने गरेको छ भने नेपालगन्जका व्यापारी पसलमा ग्राहक कुर्दै बस्नुपर्ने नियति भोग्न बाध्य भएको संघका अध्यक्ष शर्माको गुनासो छ । सीमापारि भारतीय रूपैडिहा बजारको रामदूत क्लथ स्टोर, ए–टु–जेड स्टोर, अग्रवाल वस्त्रालय, शिवम् क्लथ स्टोर, रामदूत जनरल स्टोरलगायत पसलमा नेपाली उपभोक्ताको घुइँचो प्रत्येक दिन बिहान १० देखि अपराह्न ४ र ५ बजेसम्म हुने गरेको यस समाचारदाताले लगातार चार दिनको रिपोर्टिङका क्रममा देखेको छ । वाणिज्य संघले नेपाली उपभोक्तालाई सामान खरिदका लागि सीमापारि रूपैडिहा बजार जान रोक लगाउन उपभोक्ता मञ्चलगायत सरोकारवाला निकायसँग पटक–पटक छलफल गरे पनि परिणाम सोचेअनुरूप हुनसकेको छैन । (सौस)

प्रतिक्रिया