साहित्यकार कोविद अस्पताल भर्ना

धरान : साहित्यकार प्रकाश राई अस्पताल भर्ना भएका छन् । साहित्यमा ‘कोविद’ उपनामबाट परिचित राई दुवै मिर्गौला बिग्रिएपछि हालै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका हुन् । उनको डायलोइसिस भइरहेको छ । लामो समयदेखि सुगरका कारणले बिमारी परेका राईमा पछिल्लो समय मिर्गौलाको समस्या देखापरेको हो ।

हप्तामा दुई पटकसम्म डायलोइसिस गर्नुपर्ने र एकपटक कम्तीमा दश हजार रुपियाँ खर्च उपचारमा लाग्ने गरेको राईका छोरा लिचेन राईले बताए । उनको मिर्गौला फेर्न (ट्रान्स्प्लान्ट) सकिन्छ तर यसका लागि १५ देखि २० लाख रुपियाँसम्म लाग्ने चिकित्सकले बताएको लिचेनले जानकारी गराए ।
राईको प्रसाद नामबाट करिब तीन दशकअघि नै ‘हुरी र आँधीभित्रको जिन्दगी’, ‘बादलको पारी…मा’ लगायत उपन्यास र थुप्रै कृति प्रकाशित भएका छन् । प्रेम र जीवनलाई मौलिक परिवेशअनुसार कलात्मक लेखन गर्ने राई कुनैबेला नेपालको प्रकाश ‘कोविद’ को नामबाट पनि परिचित थिए । अथाह लेखन प्रतिभा भए पनि कमजोर आर्थिक अवस्थाकै कारण उनले सिर्जना र प्रकाशनलाई निरन्तरता दिन नसकेको परिवारको भनाइ छ । सुनसरीको तरहरास्थित एक निजी विद्यालयमा शिक्षणरत ५८ वर्षीय राईको अझै धेरै बाँच्ने चाहना भएको पारिवारिक स्रोतले बताए । तर घरको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या परेकोले मृत्युबाट बचाउन आर्थिकलगायत कुनै पनि किसिमको सहयोगका लागि परिवारजनले अपिल पनि गरेका छन् ।

प्रतिक्रिया