कार्यदलले प्रतिवेदन बुझायो

डडेल्धुरा : डोटीको रुबसकाँडामा भएको बस दुर्घटनालगायत भीमदत्त राजमार्गमा बढ्दो सवारी दुर्घटना अध्ययनका लागि गठित उच्चस्तरीय कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

कार्यदलले प्रतिवेदनमा सुदूरपश्चिमको मुख्य राजमार्गका रूपमा रहेको भीमदत्त रामार्गमा बढ्दो सवारी दुर्घटना हुनुमा सडकको जीर्ण अवस्था, ट्राफिक संरचना र प्रक्रियागत कमजोरी, पुराना सवारीसाधान, दक्ष चालकको अभाव, तीव्र गति, सिन्डिकेट प्रणाली मुख्य रहेको कार्यदलका संयोजक आत्माराम पाण्डेयले जानकारी दिए  ।
राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणका लागि कानुनी व्यवस्थामा सुधार, ट्राफिक व्यवस्थापनमा संस्थागत सुधार, भौतिक व्यवस्थापन, भूबनोटअनुसार सडकको अवस्थामा सुधार, बीमा व्यवस्था प्रभावकारी, समयसीमा व्यवस्था, चालक विद्यालय सञ्चालनलगायत सुझाव सरकारलाई पेस गरेको छ । प्रतिवेदन तत्कालै कार्यान्वयनमा आउने विश्वास कार्यदलले गरेको संयोजक पाण्डेयले जानकारी दिए ।
रुबसकाँडामा भएको बस दुर्घटनाका साथै भीमदत्त राजमार्गमा बढ्दै गइरहेको सवारी दुर्घटनाबारे विस्तृत अध्ययनका लागि सरकारले सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासक आत्माराम पाण्डेयको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलमा सुदूरपश्चिमाञ्चल प्रहरी प्रमुख सुशीलवरसिंह थापा, सुदूरपश्चिम सडक निर्देशक किशोर गंगोल, यातायात व्यवस्था सेती अञ्चल प्रमुख टोपेन्द्र केसी र यातायात व्यवसायी महासंघ सदस्य टेकराज जोशी रहेका थिए ।
टोलीले ३१ जनाको ज्यान जाने गरी भएको रुबसकाँडा बस दुर्घटना चालकको लापरबाहीले भएको यसअघि नै जनाइसकेको छ । (सौस)

प्रतिक्रिया