मध्यपुरलाई दुई लाख जरिवाना एक वर्ष प्रतिबन्ध

काठमाडौं, १६ माघ । भर्खरै सिंगल चरण सकिएको ‘ए’ डिभिजन फुटबल प्रतियोगितामा सहभागी १६ टोलीमध्ये पुछारबाट तेस्रो स्थानमा रहेर ‘बी’ डिभिजनमा घटुवा भएको मध्यपुर युथ एसोसिएसन र त्यस क्लबका पदाधिकारीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही गरेको छ । उक्त लिगअन्तर्गत हिमालयन शेर्पा क्लबविरुद्ध भएको आफ्नो पन्ध्रौँ तथा अन्तिम म्याचका क्रममा अनुशासनहीन कार्य भएको ठहर गर्दै एन्फा अनुशासन समितिले एसोसिएसनलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ ।

‘ए’ डिभिजनबाट घटुवा भएको मध्यपुरले ‘बी’ डिभिजनको प्रक्रिया सुरु नभएसम्म फुटबलका कुनै पनि गतिविधिमा संलग्न पनि हुन पाउने छैन । यसको अर्थ चालु सिजनको ‘बी’ डिभिजन लिगमा मध्यपुरले खेल्न पाउनेछैन । अर्को सिजनमा आयोजना हुने ‘बी’ डिभिजनमा मात्र मध्यपुरले आफ्नो खेलक्षमता प्रदर्शन गर्न पाउनेछ ।
यसैगरी, मध्यपुर युथ एसोसिएसनका प्रशिक्षक उपेन्द्रमान सिंह, म्यानेजर मनोज अधिकारी, टोली नेता अस्टकुमार कवे, डाक्टर विनोद श्रेष्ठ, अफिसियल सुनील श्रेष्ठ, सहायक प्रशिक्षक अर्जुन श्रेष्ठ र अफिसियल तयु काजी सिन्केमानलाई एक वर्षसम्म कुनै पनि गतिविधिमा भाग लिन नपाउने गरी कारबाही गरिएको छ ।
खेलका दौरान मैदानमा प्रवेश गरी अनुशासनहीन कार्य गर्नुका साथै प्यारापिटबाट समेत दर्शक झिकाएर नाराबाजी गरेको आरोपमा मध्यपुरमाथि कारबाही गरिएको हो । मध्यपुर पछिल्लोपटक ‘बी’ डिभिजन लिगमा उपविजेता भएर यसै सत्र ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।

प्रतिक्रिया