भारतमा बलात्कारविरोधी कानुनबारे चर्चा

नयाँदिल्ली : सामुहिक बलात्कारको सिकार भएर ज्यान गुमाएकी २३ वर्षीया भारतीय युवतीका बुबाले केही दिनअघि नयाँदिल्लीको अदालतमा उपस्थित भई बलात्कारीलाई मृत्युदण्ड दिन माग गरे । उनले भने, ‘बलात्कारीलाई झुन्डाएर मार्नुपर्छ, अन्यथा मेरी छोरीको आत्माले शान्ति पाउँदैन र ऊजस्तै बलात्कारमा पर्ने भारतका कैयौँ चेलीले पनि न्याय पाउँदैनन् ।’
ती युवतीका बुबा र तिनका आफन्तले बलात्कारीलाई झुन्डयाएर मार्नबाहेक बलात्कारीहरूलाई दिइने अन्य कुनै पनि सजाय आफूहरूलाई मान्य नहुने र त्यसका लागि जे गर्न पनि पछि नपर्ने बताएका छन् । ती छात्राका एकजना नजिकका आफन्तले भने, ‘अन्यायविरुद्धको लडाइँ बल्ल सुरु भएको छ । सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन नबनाएसम्म र बलात्कारीलाई मृत्युदण्ड नदिएसम्म लडाइँ जारी रहनेछ ।’
गत डिसेम्बर १६ का दिन भारतको राजधानी नयाँदिल्लीमा गाडीभित्रै २३ वर्षीया छात्रामाथि बलात्कार भएको घटनापछि भारतका विभिन्न सहरमा विरोध प्रदर्शनको लहर चलेको थियो । भारतीय प्रधानमन्त्री मनमोहन सिंह तथा सत्ताधारी कांग्रेस आई पार्टीकी प्रमुख सोनिया गान्धीलगायत देशका नेता, अभिनेता र सर्वसाधारण जनता सबैले घटनाको निन्दा गरे । हाल प्रहरी थुनामा रही अदालतबाट कारबाहीको पर्खाइमा छन्, बलात्कारमा संलग्न पाँचजना अभियुक्त । उनीहरूलाई कडा भन्दा कडा कारबाहीको माग सर्वत्र भइरहेको छ ।
ती बलात्कारीमाथि कस्तो कारबाही हुने हो भन्ने अदालतले अनुुसन्धान गरिरहेको छ । अदालतले सो मुद्दालाई ‘फास्ट ट्रयाक’मा राखेर हेरिरहेको छ । नागरिकको दबाब तथा सो घटनापछि भारतमा एकपछि अर्काे गरी बलात्कारका घटनामा भइरहेका वृद्धिले सजाय कडा हुने अपेक्षा गरिएको छ ।
यसैबीच बलात्कार घटनामा आरोपित पाँच अभियुक्तका वकिलले यस मुद्दालाई दिल्लीबाहेक अन्यत्रको अदालतबाट पूर्पक्षका लागि मुद्दा स्थानान्तरण गर्न गरेको निवेदन उपर सुनुवाई गर्न भारतको सर्वोच्च अदालतले सहमति दिएको छ । बलात्कारप्रति दिल्लीका घरघरमा आक्रोश बढेकाले घटना भएकै नगरमा मुद्दाको सुनुवाई हुने हो भने आफ्नो पक्षले निष्पक्ष न्याय पाउन नसक्ने भएकाले अभियुक्तहरूका अधिवक्ता मुकेश सिंह तथा परामर्शदाता एमएल शर्माले मुद्दा अन्यत्र सराइपाउँ भन्दै निवेदन दर्ता गराएका थिए । यस मुद्दा भारतको ‘फास्ट ट्रयाक’ अदालतमा सुनुवाइ भइरहेको छ ।
सरकारी वकिलहरूले पनि आरोपीलाई मृत्युदण्ड मागेका छन् । आरोपीमध्ये छैठौँ व्यक्ति १७ वर्षिय नाबालग भएकाले निजमाथि बालअपराध अदालतमा सुनुवाइ हुने बताइएको छ ।
बलात्कारबाट बच्न सुरक्षाका केके उपाय अवलम्बन गर्ने भन्ने विषयमा भारतमा गत एक महिनादेखि व्यापक रूपमा बहस चलिरहेको छ । बलात्कारबाट बच्ने उपायबारे अनुसन्धान र बहस जारी रहेका बखत केही दिन अगाडिदेखि नयाँ सोच आएको छ – सुरक्षाका लागि महिलाले हतियार बोकेर हिँड्ने । भारतको हिन्दू अतिवादी पार्टीका रूपमा परिचित शिवसेना पार्टीको यसका पक्षमा वकालत गरिरहेको छ । सो पार्टीले संस्थापक बाल ठाकरेको जन्म दिनको अवसर पारेर आयोजित एक समारोहमा जम्मा भएका हजारौँ महिलालाई हजारौँ थान छुरी वितरण गरेको थियो । त्यस्तै एकजना भारतीय प्रहरी अधिकारीले पनि लाइसेन्स लिएर बन्दुक राख्नेहरूले बलात्कारीलाई निशाना बनाउनुपर्ने बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया