उपाधि होडमा आरसिटी कमजोर

footballकाठमाडौं, १० माघ : सुपर एटमा नपुग्ने निश्चित भएको संकटाले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेपछि रानीपोखरी कर्नर टिम(आरसिटी) राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि होडमा कमजोर बनेको छ ।

सिंगल लिगको आफ्नो अन्तिम खेलका रूपमा संकटाविरुद्ध उत्रिएको आरसिटी यस हारपछि सुपर एट खेल्नुअघि शीर्षस्थानको थ्री–स्टारभन्दा कम्तीमा ६ अंकले पछि रहने निश्चित भएको छ । १५ खेलपछि आरसिटी २६ अंकमै कायम रहँदै तेस्रो स्थानमा छ । १४ खेलपछि ३२ अंक जोडेर थ्री–स्टार शीर्षस्थानमा छ । बलियो सम्भावनाका बाबजुत लगातार दुई हार बेहोरेपछि संकटा सिंगल लिगको आफ्नो अन्तिम खेल अगावै सुपर एट प्रवेश नगर्ने निश्चित भएको थियो ।
थ्री–स्टारलाई हराएर लगातार तीन हारको शृंखला तोडेको आरसिटी पछिल्लो खेलमा सरस्वतीसँग पराजित भएर शीर्षहोडमा लरबराउनु अघि मनाङलाई हराएर उपाधिका लागि बलियो चुनौतीसहित प्रस्तुत भएको थियो । यसअघिको प्रदर्शन स्तर कायम राख्न नसकेको आरसिटी दोस्रो हाफमा तीन मिनेट अतिरिक्त समयका रूपमा थपिएको अवधिको पहिलो मिनेटमा सुदीप लिम्बूले आकर्षक गोल गरेपछि स्तब्ध बनेको हो । खेल सुरु भएको ११ मिनेट पनि बित्न नपाउँदै गोल गरेर आरसिटीले जितको बलियो दाबेदारी प्रस्तुत गरेको थियो । युगलकिशोर राईले एकल प्रयासमा पहिलो बार च्याप्दै आकर्षक गोल गरेपछि ११औँ मिनेटमा आरसिटीले सुरुआती अग्रता लिएको थियो । पहिलो हाफमा आरसिटीका अमर डंगोलले गोलकिपर अगाडि बढेको मौकामा बल चिप गरे पनि प्रेmममा पर्न सकेन । खेलमा फर्कने अवसर कायमै रहेका बेला संकटाले ४०औँ मिनेटमा गोल गर्‍यो । रितेश खड्काको क्रसमा स्यामुएलले हेडमार्फत गोल गरेका थिए । दोस्रो हाफमा आरसिटीको प्रदर्शन थप खस्किएको थियो । ५६औँ मिनेटमा संकटाले राम्रो अवसर पाए पनि स्यामुएलले प्रेmममा बल प्रहार गर्न सकेनन् ।
बौद्धको पहिलो जित
मंगलबार भएको अर्को खेलमा बाँसबारीलाई २–० ले पराजित गरी बौद्धले लिगको आफ्नो अन्तिम खेलमा आएर पहिलो जित हात पार्‍यो । दुवै टोली रेलिगेसनमा परिसकेका छन् । सिंगल लिगको तीन खेल बाँकी छँदा बौद्ध र दुई खेल बाँकी छँदा बाँसबारी रेलिगेसनमा पर्ने निश्चित भएका थिए । बौद्धको जितमा राजन अधिकारी र सुमन लामाले गोल गरे । ४५औँ मिनेटमा राजन र दोस्रो हाफको इन्जुरी समयमा सुमनले गोल गरे । बौद्ध चार अंकका साथ लिगको अन्तिम तथा १६औँ स्थानमा रह्यो भने ६ अंक जोडेर बाँसबारी १५औँ भयो । लिगमा रेलिगेसनमा पर्ने तेस्रो तथा अन्तिम टोलीको टुंगो लाग्न बाँकी नै छ । मध्यपुर युथ एसोसिएसन र जावलाखेलमध्ये एक टोली रेलिगेसनमा पर्ने निश्चित छ ।

प्रतिक्रिया