लौ च्यातेर देखाऊ १२ बुँदे : खनाल

काठमाडौं : एमाले अध्यक्ष झलनाथ खनालले सत्ता स्वार्थका लागि वर्तमान सरकार राष्ट्रियता बेच्न पनि तयार रहेको आरोप लगाएका छन् । स्थानीय निकाय कर्मचारी संघले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष खनालले राज्यसञ्चालनको साँचो अन्यत्रै रहेको प्रधानमन्त्रीको भनाइ स्मरण गर्दै सरकार राष्ट्रियताविरुद्ध जस्तासुकै सम्झौता गर्न तयार देखिएको बताए ।
‘सत्तास्वार्थका लागि राष्ट्रियता नै बेचिदिने खतरनाक बाटोमा सरकार छ,’ खनालले भने, ‘यो सरकारका क्रियाकलाप हेर्दा यसलाई चलाउने चाबी पनि अन्तै रहेको प्रमाणित हुँदै गएको छ,’ आफ्नो सत्तास्वार्थका लागि जोसुकैसँग जेसुकै सम्झौता गर्न पनि एमाओवादी र सरकार तयार देखिएको उनले दाबी गरे । ‘जनवाद र राष्ट्रिय स्वाधीनताका कुरा गर्ने तर आफ्नो स्वार्थका लागि जोसुकैसँग जेसुकै सम्झौता गर्ने खतरनाक बाटोमा सरकार र एमाओवादी देखिएको छ,’ खनालले भने ।
सत्ता छोड्नुपरे विगतमा भएका सम्झौता च्यात्ने एमाओवादीले ध्वाँस दिएको जनाउँदै खनालले सम्झौता च्यातेर देखाउन एमाओवादीलाई चुनौती दिए । ‘शान्तिसम्झौता च्यातेर लोकतन्त्रलाई धरापमा पार्ने ध्वाँस दिइएको छ,’ खनालले भने, ‘हामी पनि हेर्छाैँ कसरी च्यात्दारहेछन्, सम्झौताहरू च्यातेर देखाऊन् ।’

प्रतिक्रिया