विद्रोहको धम्कीबाट डराउँदैनौँ : खनाल

Jhalanath-Khanalकाठमाडौं, ९ माघ । एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादीले दिएको विद्रोहको धम्कीबाट आफूहरू नडराउने बताएका छन् । एमाओवादीले अधिनायकवादी शासन चलाउन योजनाबद्ध रूपमै संविधानसभा विघटन गराएको पुष्टि भएको पनि उनले दाबी गरे ।

एमालेको शिक्षा विभागले सोमबार पार्टी मुख्यालय बल्खुमा आयोजना गरेको कार्यक्रममा खनालले अब एमाओवादीको धम्की नचल्ने बताउँदै जनविद्रोहको सपना नदेख्न चेतावनी दिए । ‘भ्रष्टाचार र कमिसनको आहालमा चुर्लुम्मै डुबेर जनविद्रोहको नेतृत्व गर्छु भन्ने सपना नदेखे हुन्छ,’ खनालले भने, ‘अब माओवादीको धम्कीबाट मुलुक चल्दैन ।’
अधिनायकवादी शासन लागू गर्नकै लागि योजनाबद्ध रूपमा संविधानसभा विघटन राएको र नयाँ चुनावका लागि गर्न लागिएको सहमतिमा पनि अवरोध गरेको उनले दाबी गरे । ‘संविधानसभाको विघटन अधिनायकवादी शासन चलाउनैका लागि गरिएको थियो भन्ने अब पुष्टि भएको छ,’ खनालले भने, ‘नयाँ चुनाव गरेर परिवर्तन संस्थागत गर्ने प्रयासमा पनि एमाओवादी नै अवरोध बनेको छ र उसैका कारण सहमति हुन सकिरहेको छैन ।’
आफैँ सरकारको नेतृत्व गर्ने र आफैँ विद्रोहको धम्की दिने माओवादी अध्यक्षप्रति लक्षित गर्दै अध्यक्ष खनालले जनताविरुद्धको विद्रोहमा माओवादी आफँै समाप्त हुने ठोकुवा गरे । ‘मुलुकको यो दुर्गतिमा को जिम्मेवार छ ? सरकारमा बसेर कसका विरुद्ध विद्रोह गर्ने हो ?’ उनको प्रश्न थियो, ‘जनताका विरुद्ध विद्रोह गरे माओवादी समाप्त हुनेछ ।’
अध्यक्ष खनालले एमाओवादीले सहमति र चुनाव दुवै नचाहेको र जंगबहादुर पथमा सरकार चलाउने सपना देखेको बताए । उनले एमाओवादीको अधनायकवादी सपना आफूहरूले पूरा हुन नदिने पनि ठोकुवा गरे । आफूहरू सहमतिबाटै निकासका पक्षमा रहेको बताउँदै अध्यक्ष खनालले यो सरकार रहेसम्म कुनै पनि सहमति हुन नसक्ने बताए ।

प्रतिक्रिया