काठमाडौं, ७ माघ : अघिल्लो खेलमा जावलाखेललाई पराजित गरी रेलिगेसनबाट सुरक्षित भएको हिमालयन शेर्पासँग शनिबार ३–२ ले पराजित हुँदै मच्छिन्द्र राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि होडमा कमजोर बनेको छ । यस हारले मच्छिन्द्र १४औँ चरणको समाप्तीमा शीर्षस्थानको थ्री–स्टारभन्दा ६ अंकले पछि रहने निश्चित भयो । अघिल्लो खेलमा प्रेmन्ड्सविरुद्ध ५–० ले पराजित भएपछि मच्छिन्द्र ओरालो लाग्नेक्रम सुरु भएको थियो । २६ अंक भएको मच्छिन्द्र अंक तालिकामा तेस्रो स्थानमा छ ।
सुपर एट नपुग्ने निश्चित भएपछि ‘ठूलो’ टोलीलाई पराजित गर्ने उद्देश्यका साथ मैदान उत्रिएको हिमालयनले छैटौँ मिनेटमै अग्रता लिएको थियो । त्यसपछि लगातार दुई गोल गरी मच्छिन्द्र खेलमा फर्कंदै अग्रतासमेत लिन सफल भए पनि हिमालयन शेर्पाले पनि खेललाई बराबरीमा ल्याएर निर्णायक गोल गर्न पनि भ्यायो । ४९औँ मिनेटमा गणेश खड्काको सहयोगमा सामुएल मुबिरुले हिमालयन शेर्पाका लागि विजयी गोल गरेका हुन् ।
मच्छिन्द्रका डिफेन्डर अमर लिम्बूबाट रिबाउन्ड भएको अवसरमा जसबहादुर राईले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए । २७औँ मिनेटमा हेडमार्फत गोल गरी विशाल राई ‘ए’ले खेल बराबरीमा ल्याइपुर्याए । तर, दोस्रोपटक अग्रता लिने अवसर भने दीपक राईले मच्छिन्द्रलाई दिलाए । ३५औँ मिनेटमा कप्तान राईले गोल गरेका हुन् । पुकार गहतराजमार्फत हिमालयनले पहिलो हाफमै गोल फर्काएर खेललाई बराबरीमा ल्याइपुर्यायो । दोस्रोपटक खेलमा पछि परे पनि मच्छिन्द्रले दोस्रो हाफमा दबाबपूर्ण प्रदर्शन गर्यो यद्यपि प्राप्त अवसर सदुपयोग हुन सकेनन् । यसमध्ये ५८औँ मिनेटमा प्राप्त अवसर भने गोलको ‘रियल चान्स’कै रूपमा थियो तर विशाल राई ‘बी’ले गरेको प्रहार क्रसबारमा लागेर फर्किंदा मच्छिन्द्र खेलमा फर्कने मौकाबाट स्तब्ध हुन पुग्यो ।
पछिल्ला चार खेलमा मच्छिन्द्रको यो तेस्रो हार हो । ११औँ चरणको खेलमा सरस्वतीद्वारा पराजित हुनुअघि उसले आरसिटीसँग मात्र हार बेहोरेको थियो ।
पुलिसको महत्त्वपूर्ण दिन
जारी संस्करणमा अपेक्षित प्रदर्शन गर्न नसकिरहेको साविक विजेता नेपाल पुलिस महत्त्वपूर्ण तर ‘टफ फाइट’मा आइतबार मनाङ मस्र्याङ्दीविरुद्ध उत्रँदै छ । १४औँ चरणको यस आपसी भिडन्त पुलिसका लागि सुपर एट प्रवेश गर्न गर या मरको स्थितिमा छ भने मनाङका लागि उपाधि होडमा महत्त्वपूर्ण अर्थ राख्नेछ । १३ खेलबाट २५ अंक भएको मनाङ चौथोस्थानमा छ भने समान खेलपछि १९ अंक भएको पुलिस नवौँ स्थानमा छ । मनाङविरुद्ध पराजित भए राष्ट्रिय लिगको समेत विजेता रहेको पुलिस सुपर एट तथा उपाधिको लागि थप यात्रामा प्रवेश गर्न असफल हुनेछ । आठौँ स्थानमा रहेको सरस्वतीको १४ खेलबाट २३ अंक रहेको छ ।
प्रतिक्रिया