दोषी छुटाउन माओवादीद्वारा आन्दोलन

maobadiकाठमाडौं, ६ माघ । नेकपा–माओवादीको भेरी–कर्णाली राज्य संगठन समितिले दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा गिरफ्तार आफ्ना पाँच नेता तथा कार्यकर्ताको तत्काल रिहाई माग गरेर आन्दोलनको घोषणा गरेको छ ।
समितिले आज विज्ञप्ति जारी गरेर पक्राउ परेका नेता तथा कार्यकर्तालाई तत्काल रिहाइ गरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा सो मुद्दालाई लैजान माग गरेको हो । ‘पत्रकार डेकेन्द्रराज थापा र जनयुद्धकालीन सम्पूर्ण मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत समाधानका लागि पहल गर्न सरकार समक्ष पुनः जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
‘राष्ट्रियता जनतन्त्र र जनजीवीकाको सुनिश्चितता र परिवर्तन सहितको शान्ति स्थापना गर्न गिरफ्तार कमरेडहरुको तत्काल रिहाई गर्न माग गर्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘राज्य र विद्रोही दुवै पक्षसंग सम्वन्धित सम्पूर्ण मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत समाधान गर्न दबाव दिन बन्दको आह्वान गरिएको छ ।’
हत्या अभियोगमा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको तत्काल रिहाई माग गरेर नेकपा–माओवादीले भेरी–कर्णाली राज्य अन्तरगतका जिल्लामा माघ–१५ गते वन्द आह्वान गरेको छ ।
विगतको विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको प्रावधान विपरित दैलेखमा ५ जना नेता तथा कार्यकर्ताको गिरफ्तारी भएको नेकपा–माओवादीको दाबी छ । बृहत शान्ति सम्झौताको गम्भीर उल्लंघन गरेको भन्दै उसले गृह प्रशासन देशी–विदेशी तत्वहरुको उक्साहटमा लागेर द्वन्द्वको सुरुवातमा सक्रिय भएको जनाएको छ ।
पत्रकार थापाका हत्या अभियोगमा पक्राउ परेकालाई कारबाही गर्न माग गरेर राजनीतिक दल, अधिकारकर्मीलगायतले आन्दोलन जारी राखेका बेला नेकपा–माओवादीले उनीहरुलाई बचाउन आन्दोलन घोषणा गरेको हो ।

प्रतिक्रिया